प्रधानमन्त्रीसँग मिटरब्याजपीडितको छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् । शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् ।

मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ । उनीहरूले केही दिनयता प्रधानमन्त्रीलाई भेट्न खोजे पनि पाएका थिएनन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन । यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन । आज बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए ।

प्रकाशित : चैत्र १८, २०७९ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट फर्केर गाउँमै साबुन उद्योग

लक्ष्मी गौतम

पाँचथर — वैदेशिक रोजगारीबाट फर्केका २८ वर्षीय प्रयास केरुङले २५ लाख रुपैयाँ लगानीमा पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा लुगा धुने साबुन कारखाना सञ्चालन गरेका छन् ।

पाँच वर्षसम्म मलेसियामा श्रम गरेका उनी छ महिना अघि मात्रै फर्केका थिए । केरुङको कारखानामा तयार भएको साबुन मेमङ, प्राङबुङ, एकतिन र ओयाम लगायतका बजारमा खपत हुने गरेको छ । उनले अहिले दैनिक २ सय वटा साबुन उत्पादन गर्छन् । माग अनुरूप उत्पादन पनि बढाउँदै लैजाने उनको योजना छ ।

केरुङले आफ्नो कारखानालाई ‘फालेलुङ साबुन उद्योग’ नाम दिएका छन् । साबुन उत्पादनका लागि चाहिने कच्चा पदार्थ विराटनगरबाट ल्याउने गरेको उनले बताए । उक्त उद्योगबाट २ सय ५० ग्राम दरका साबुन उत्पादन भइरहेका छन् । प्रतिगोटा ३५ रुपैयाँका दरले साबुन बिक्री भइरहेको केरुङले बताए ।

अन्य कम्पनीमा उत्पादित सोही परिणामका साबुन बजारमा ४५ रुपैयाँमा किनबेच भइरहेको छ । विदेशमा कमाएको रकम उद्योग सञ्चालनका लागि खर्चिएको उनको भनाइ छ । ‘विदेशमा सिकेको सीपबाट उद्योग सञ्चालनमा ल्याएको छु’ केरुङले भने ।

युवालाई उद्यमशील बनाउने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको उनले सुनाए । ‘गाउँमै उद्यम गरेर आयआर्जन गर्न र स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले साबुन उद्योगमा लगानी गरेको हुँ,’ उनले भने । आफूले उत्पादन गरेको साबुन बजारीकरणका लागि स्थानीय सरकारसँग केरुङले आग्रह गरेका छन् ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×