कर्णालीमा माओवादीलाई एमालेको विश्वासको मत

४० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शर्मालाई ३८ सांसदको साथ
कृष्णप्रसाद गौतम

सुर्खेत — संघ र अन्य प्रदेशमा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको एमालेले कर्णालीमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ । राप्रपाले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार प्रदेशसभामा दोस्रो पटक विश्वासको मत लिएका हुन् । 

कर्णालीमा माओवादीलाई एमालेको विश्वासको मत

४० सदस्यीय प्रदेशसभामा कांग्रेसका १४, माओवादीका १३, एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्र १/१ गरी ३८ सांसदले शर्मालाई विश्वासको मत दिएका हुन् । राप्रपाकी सन्तोषी शाहीले विपक्षमा मतदान गरिन् भने सभामुख नन्दा गुरुङ तटस्थ बसिन् । माओवादी नेता शर्मा झन्डै दुई महिनाअघि एमाले, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसबेला उनले कांग्रेसबाहेक दलको २५ मत पाएका थिए ।

एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल सरकारमा छन् । यसअघि सरकार गठन हुँदा एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो (अढाई/अढाई वर्ष) गर्ने सहमति भएको थियो । त्यही निर्णय कार्यान्वयन गर्न विश्वासको मत दिएको एमालेका एक सांसदले बताए । ‘माथिको निर्णय र गठबन्धन जेसुकै होस्, यसअघि पनि हामीले केन्द्रको निर्णय मानेका थिएनौं,’ उनले भने, ‘यसभन्दा पहिले दुई पार्टीबीच सरकार सञ्चालनबारे भएको सहमति कार्यान्वयन गर्न सरकारबाट बाहिरिएका हैनौं ।’

कांग्रेस नेता तिलक भण्डारीले माओवादी र एमालेको अन्तर्कथाबारे सत्तारूढ दलहरूले गहिरिएर सोच्नुपर्ने बताए । ‘यसमा माओवादी नेता जनार्दन शर्मा र एमाले नेता यामलाल कँडेलको इन्ट्रेस्ट पनि जोडिएको छ,’ उनले भने, ‘साविक नेकपा हुँदादेखि नै भएको सहकार्यलाई अहिले पनि निरन्तरता दिएको देखिन्छ ।’

राजनीतिक विश्लेषक अर्जुनबहादुर अयडी कर्णालीको यो राजनीतिक घटनाक्रमले मुख्यमन्त्रीलाई झन् समस्यामा पार्ने बताउँछन् । ‘कर्णालीमा अहिले ७ मन्त्रालय छन्, यो अवस्थाले भागबन्डामै सरकार रुमलिने देखिन्छ,’ उनी भन्छन्, ‘अझै पनि एमालेले सरकार छोड्न नचाहेको देखियो, यसमा उसले सभामुख पनि सुरक्षित गर्न खोजेको देखिन्छ । यसो हुँदा संसद्को ठूलो दल कांग्रेसको व्यवस्थापन कसरी हुन्छ ?’

यसअघि कर्णालीबाटै एमाले फुटको बीजारोपण भएको थियो । यसअघिको संसद्मा माधव नेपाल पक्षका प्रकाश ज्वालालगायत चार सांसदले फ्लोर क्रस गरेर तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । सोही घटनाले नेकपासमेत फुटको अवस्थामा पुगेको थियो ।

बेला–बेला हुने यस्ता घटनाले कर्णालीको राजनीति तरल हुने गरेको अयडी बताउँछन् । ‘यसले सरकारको निरन्तरता र गठबन्धनका कुरामा समेत अन्योल पारेको छ, भोलिका दिनमा यहाँको तरंगले राष्ट्रिय राजनीति पनि फेरबदल हुने देखिन्छ,’ उनले भने, ‘मानिसले जे सोचेका थिए त्यो भएन, आफ्नो राजनीति कर्णालीमा कमजोर छ त्यही बचाउन पनि एमालेले विश्वासको मत दिएको हुनुपर्छ ।’

एमाले प्रदेश कमिटी अध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले आफूहरू अहिले पनि सरकारमै रहेकाले सरकारलाई विश्वासको मत दिएको र यसमा अचम्म मान्नुपर्ने कुरा नभएको बताए । ‘कम्फर्टेबल हुँदासम्म हामीले सरकार छोड्ने कुरा हुँदैन,’ उनले भने, ‘हाम्रो सरकारमा निरन्तर हुने वा नहुने कुरा मुख्यमन्त्रीको निर्णयमा पनि भर पर्छ ।’

मुख्यमन्त्री राजकुमार शर्माले आफूले कर्णाली संसद्मा रहेका सबै दलहरूलाई आह्वान गरेको र सोहीअनुसार एमालेले पनि विश्वासको मत दिएको बताए । ‘कर्णालीको समृद्धिका लागि सबै मिलीजुली जाऔं भन्ने हिसाबले उहाँहरूले पनि विश्वासको मत दिनुभएको हो,’ उनले भने, ‘संसद्का सबै दलको रायसुझावमा सरकार अगाडि बढ्छ ।’

प्रकाशित : चैत्र १८, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?