२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कोरोना पुनः बढ्दै, मंगलबार २४ जनामा संक्रमण

अतुल मिश्र

काठमाडौँ — सीमा जोडिएका उत्तरप्रदेशलगायत भारतीय राज्यहरूमा कोरोना संक्रमण अप्रत्याशित वृद्घि भइरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ । पछिल्लो एक सातामा संक्रमित संख्या बढेर ७८ पुगेको छ । मंगलबार एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको छ । 

कोरोना पुनः बढ्दै, मंगलबार २४ जनामा संक्रमण

‘भारतमा जस्तै नेपालमा पनि संक्रमित संख्या एक्कासि बढ्न थालेको छ,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्छन्, ‘५–६ दिनयता सीमा नाकाहरू त्रिनगर, गड्डाचौकी, कृष्णनगर, झुलाघाट, बेलहियाबाट नेपाल भित्रिनेमा संक्रमण देखिएको छ ।’

स्वास्थ्य अधिकारीका अनुसार भारतमा देखिएको ‘एक्सबीबी.१.१६’ भेरिएन्ट पहिलेको ओमिक्रोनका भेरिएन्टहरूको दाँजोमा बढी संक्रामक छ । उत्तरप्रदेशमा ‘एक्सबीबी.१.१६’ भेरिएन्ट देखिरहेको जनाउँदै डा. दासले भने, ‘हामीले सतर्कता बढाएका छौं, जिन सिक्वेन्सिङका लागि समेत नमुना संकलन बढाएका छौं ।’

भारतमा जनवरीमा ‘एक्सबीबी.१.१६’ को २ वटा मात्र केस पुष्टि भएकामा फेब्रुअरीमा १ सय ४० र मार्चमा २ सय ४ नाघिसकेको छ । नेपालमा हालसम्म ‘एक्सबीबी.१.१६’ को संक्रमण पुष्टि भएको छैन । मुख्य रूपमा ओमिक्रोनको सब भेरिएन्ट एक्सबीबी, एक्सबीबी.३, बीए २.७५ को संक्रमण देखिएको छ । त्यस्तै ओमिक्रोनकै बीए ५.२, बीएम.१.१.३ को समेत पुष्टि भएको छ । दास भन्छन्, ‘तत्काल आत्तिनुपर्ने अवस्था छैन तर मास्कको प्रयोग, हातको सरसफाइ, पूर्ण मात्रा खोपलगायतका जनस्वास्थ्य मापदण्ड पालना गर्नु आवश्यक छ ।’ संक्रमण बढे पनि ८० दिनयता मुलुकमा कोभिडका कारण ज्यान गएको छैन । गत पुस २३ गते कोभिडले एक जनाको मृत्यु भएको थियो ।

डब्लूएचओद्वारा गत सोमबार जारी विश्वव्यापी साप्ताहिक कोरोना रिपोर्टअनुसार पछिल्लो २८ दिनमा ४० लाखभन्दा बढी नयाँ कोरोना केस पुष्टि भएको छ भने ३५ हजारभन्दा बढीको मृत्युसमेत रेकर्ड गरिएको छ ।

रिपोर्टका अनुसार दक्षिणपूर्व एसियामा ७० प्रतिशत, पूर्व भूमध्य क्षेत्रमा ८९ प्रतिशत र युरोपेली क्षेत्रमा ९ प्रतिशतले संक्रमण बढेको छ । डब्लूएचओले दक्षिणपूर्व एसियाका ११ मुलुकमा मात्र १८ हजार नयाँ केस पुष्टि भएको जनाएको छ । सबैभन्दा बढी नयाँ केसहरू भारतमा पाइएको छ ।

कोरोना संक्रमण पुनः तीव्र बनिरहँदा रोकथामको दरिलो व्यवस्थापनमा जानुपर्ने विज्ञले औंल्याएका छन् । धुलिखेल अस्पतालका जिनोमिक ल्याबका प्रमुख डा. राजीव श्रेष्ठले खोप नभएका बेला लकडाउन, आइसोलेसनको विकल्प नहुने तर अहिले भने स्वास्थ्य मापदण्ड, खोपलगायतका समग्र व्यवस्थापनमा जानुपर्ने बताए । पछिल्लो समय सरकारले ल्याएको कोभिडविरुद्घको बायो भेलेन्ट खोपले हाल फैलिरहेको भेरिएन्टहरूलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । ‘रोग प्रतिरोधक क्षमता कम भएका, दीर्घरोगी वा शारीरिक समस्या भएकाहरूलाई कोभिड संक्रमणमा बढी जटिलता देखिन सक्छ । त्यस्ताले खोप नलगाएको खण्डमा ज्यान जोखिममा पर्न सक्छ,’ उनले भने, ‘सबैले तेस्रो मात्रा खोप लगाउनै पर्छ । दीर्घरोगी, बुढापाकाहरूले वाइभेलेन्ट खोपको चौथो मात्रा लगाउनु आवश्यक छ ।’ खोपले संक्रमण हुनबाट नजोगाए पनि स्वास्थ्यमा देखिने जटिलता र मृत्युदरमा व्यापक कमी ल्याउँछ । संक्रमण बढिरहेकाले मास्क लगाउने, हातको सरसफाइजस्ता स्वास्थ्य मापदण्ड पालना गर्दै खोपको उपयुक्त मात्रा लगाउन डा. श्रेष्ठको सुझाव छ ।

प्रकाशित : चैत्र १५, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?