नापी सर्वेक्षक र लेखापढी व्यवसायीबाट थप साढे ९ लाख नगद र १६ लाखको चेक बरामद

कान्तिपुर संवाददाता

काठमाडौँ — जग्गा कित्ताकाट गरिदिने भन्दै सेवाग्राहीबाट लिएको १ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ परेका मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेष कार्कीको साथबाट अख्तियारले थप साढे ९ लाख रुपैयाँ नगद र १६ लाख रुपैयाँको चेक बरामद गरेको छ ।

नापी सर्वेक्षक कार्कीलाई घुस लिँदालिँदै मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । सोही क्रममा नापी सर्वेक्षकसँग मिलेर घुस डिल गर्ने कार्कीलाई पनि अख्तियारले त्यही क्रममा पक्राउ गरेको थियो ।

त्यसको थप अनुसन्धान गर्ने क्रममा उपरकोटी र कार्कीको साथबाट थप नगद र चेक बरामद भएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । प्रवक्ता दाहालका अनुसार कार्कीको साथबाट स्रोत नखुलेको थप ७ लाख ६९ हजार ५ सय नगद र १६ लाख रुपैयाँको चेक तथा नापी सर्वेक्षक उपरकोटीको साथबाट थप १ लाख ८५ हजार ३ सय ८८ रुपैयाँ भेटिएको हो ।

ती सबै नगद र चेकको स्रोत नखुलेको उनले बताए । लेखापढी व्यवसायी कार्की मुक्तिनाथ कानुनी सेवाका प्रमुख हुन् । सेवाग्राहीलाई जग्गा कित्ताकाट गराइदिनु प्रलोभनमा नापी सर्वेक्षक उपरकोटीले कार्कीमार्फत घुस डिल गरेका थिए । त्यसको सूचना पाएपछि अख्तियारको टोली नापी कार्यालयमा पुगेको थियो । त्यसक्रममा नगद १ लाख ७५ हजार रुपैयाँ फेला परेकोमा अनुसन्धानका क्रममा अरु नगद र चेक पनि भेटिएको हो ।

प्रकाशित : चैत्र १४, २०७९ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

सगरमाथासहित चार हिमालबाट ३५ टन फोहोर संकलन गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — यस पटकको सफा हिमाल अभियान–२०२३ का दौरान विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार हिमालहरुबाट करिब ३५ टन फोहोर संकलन गरिने भएको छ ।

नेपाली सेनाले यस पटक संचालन गर्ने सफा हिमाल अभियानमा सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरुबाट फोहोर संकलन गर्न लागेको हो । प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार सफा हिमाल अभियानमा जाने नेपाली टोलीलाई झन्डा हस्तान्तरण गरे ।

सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउन्डेशन, सूर्य नेपाल प्रा.लि., युनिलिभर नेपाल, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायत संघसंस्थाहरुको प्राविधिक सहयोग हुन लागेको हो ।

सेनाले सन् २०१९ देखि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय र सहकार्य गरेर सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ । ‘विश्व वातावरण दिवश (जुन ५) मा समापन हुने उक्त अभियानले विश्व व्यापी चुनौतिको रुपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास छ,’ सेनाले भनाइ छ । माघ २३ को मन्त्रिपरिषद्को बैंठकले सफा हिमाल अभियानमा खटिने नेपाली सेनाका सदस्यहरुलाई हिमालय आरोहण गर्दा लाग्ने सलामी दस्तुर र गार्बेज धरौटी छुने दिने निर्णय गरिसकेको छ ।

सेनाले ‘सफा हिमाल अभियान–२०२२’ मा पनि सगरमाथाबाट फोहोर संकलन गरेको थियो । त्यस बेला सगरमाथासहित कन्जनजंघा, ल्होत्से र मनास्लुबाट उक्त ३३ हजार ८७७ केजी फोहोर संकलन गरेको थियो । प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पुर्‍याएका असरहरुलाई कम गर्ने, हिमालय अर्थतन्त्र गर्न सरकारलाई सहयोग पुर्‍याउने, पर्यटकका साथै पर्वतारोहीहरुलाई आकर्षित गर्ने तथा भावी पुस्ताहरुका लागि हिमाल संरक्षण गर्ने हिमालय सफा अभियानका लक्ष्यहरु रहेको सेनाले जनाएको छ ।

सेनाले सफा हिमाल अभियान–सन् २०१९ अन्तर्गत १० टन फोहोर र सफा हिमाल अभियान–सन् २०२१ अन्तर्गत २७.६ टन फोहोर संकलन गरेको थियो । त्यतिबेला ४ वटा शव पनि भेटिएको थियो । नेपालमा ८ हजार मिटरभन्दा माथि उचाइका ८ वटा हिमाल तथा ६ हजार मिटरमाथिका १३ सय १० चुचुराहरु छन् । यस क्षेत्रमा औसतमा ५० हजार पर्यटक र करिब ८० हजार सहयोगीहरु प्रत्येक वर्ष भ्रमण गर्ने गरेको पाइएको सेनाले जनाएको छ । ‘हिमालयमा हिउँ पग्लिन क्रम देखा परिसकेको र जलवायु परितर्वनका असरहरु वृद्धि हुने सम्भावना देखिएकाले हिमालय क्षेत्रको प्राकृतिक स्रोत लगायत विविधतामा ह्रास आई वातावरणमा प्रतिकुल असर गरेको छ,’ सेनाका एक अधिकारीले भने ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत समन्वय गरी सफा हिमाल अभियान सञ्चालन गरेको सेनाले जनाएको छ । प्रकृति र पर्यावरणको संरक्षण कार्यलाई प्रभावकारी कार्यान्वयनको निम्ति विधका अग्ला हिमालहरुको स्वच्छता कायम राख्ने र विभिन्न सरकारी निकाय तथा अन्य संघ/संस्थाहरुको समन्वयमा सफा हिमाल अभियान गरिएको सैनिक अधिकारीले बताए ।

प्रकाशित : चैत्र १४, २०७९ २०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×