मन्त्रालय बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको बैठक सुरू भएको छ । सरकार सञ्चालन र मन्त्रालय बाँडफाँडका विषयमा छलफल गर्न मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छन् ।

प्रधानमन्त्री दाहालले ६ चैतमै विश्वासको मत लिए पनि एक साता बित्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहे पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्री दाहाल एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् ।

यसबीचमा प्रधानमन्त्री दाहालले दलहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । मंगलबारको बैठकमा मन्त्रालय बाँडफाँडका विषयमा सहमति खोजिने र बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी छ ।

प्रकाशित : चैत्र १४, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्

‘कोशी’ नाम खारेजीको मागसहित फालेलुङ गाउँपालिकामा ताला 

लक्ष्मी गौतम

पाँचथर — साविक १ नम्बर प्रदेशलाई ‘कोशी’ नामकरण गरिएको विरोधमा पाँचथरको फालेलुङ गाउँपालिकामा ताला लगाइएको छ । ‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलकारीले गाउँपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।

‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यस प्रदेशमा चरणबद्व आन्दोलन गर्दै आएको छ । यसअघि संघर्ष समितिले फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका केही वडाहरुमा तालाबन्दी गरेको थियो । तालाबन्दीपूर्व संघर्ष समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पत्र लेख्दै चैत १४ देखि १७ गतेसम्म कार्यालय बन्द गर्न भनेका थिए ।

‘कोशी’ नाम खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को निधन भएको थियो । आन्दोलनकारीले मंगलबार विराटनगरमा पनि ‘कोशी’ नाम खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।


प्रकाशित : चैत्र १४, २०७९ १६:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×