नेकपा एस बैठक

माधव नेपालको ब्रिफिङ- 'उपप्रधानसहित तीन मन्त्रालयमा दाबी'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तारमा कुनै ढिला नहुने भन्दै उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दाबी गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई ब्रिफिङ गरेका छन् । मंगलबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले नाम माग्ने बित्तिकै पार्टीबाट मन्त्री हुनेहरुको नाम दिने तयारी गरेको बताएका छन् ।

बैठकपछि उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायम रहेको बताए । 'सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको छ । हाम्रो दाबी तीन मन्त्रालयमा हो । क-कसलाई पठाउने भनेर पनि तयारी भइसकेको छ,' उनले भने ।

बैठकमा अध्यक्ष नेपालले तीन मन्त्रालयमा दाबी कायम रहेको ब्रिफिङ गरेको उनले बताए । ‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँड ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैनौँ । मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ। हामीले तीन मन्त्रालयको दाबी गरेका छौं,' उनले भने ।

बैठकले मिटर ब्याज विरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ भने मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय गरेको छ ।

उपप्रधानसहित पुर्वमहासचिव बेदुराम भुसालको नेतृत्वमा सरकरामा सहभागी हुने नेकपा एसको तयारी छ । मन्त्रीकालागि भानुभक्त जोशी, प्रकाश ज्वाला, प्रेम आले लगायतको चर्चा छ ।

प्रकाशित : चैत्र १४, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीविरुद्व नाराबाजी गर्दा पक्राउ परेका तीन युवा धरौटीमा छुटे

कान्तिपुर संवाददाता

काठमाडौँ — बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन जना युवक धरौटीमा रिहा भएका छन् । एक साताअघि सार्वजनिक कार्यक्रममा सहभागी हुन बानेश्वर पुगेका प्रधानमन्त्री दाहालविरुद्व नाराबाजी गरेपछि प्रहरीले सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्माको मुख बन्द गर्दै पक्राउ गरेको थियो ।

उनीहरु मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५-५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो ।

प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी रकम नबुझाएका कारण सोमबार उनीहरूलाई कारागार चलान गरिएको थियो । मंगलबार धरौटी बुझाएपछि उनीहरु रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डीएसपी) निरञ्जन भट्टले जानकारी दिए ।

प्रकाशित : चैत्र १४, २०७९ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×