प्रधानमन्त्रीविरुद्व नाराबाजी गर्दा पक्राउ परेका तीन युवा धरौटीमा छुटे

कान्तिपुर संवाददाता

काठमाडौँ — बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन जना युवक धरौटीमा रिहा भएका छन् । एक साताअघि सार्वजनिक कार्यक्रममा सहभागी हुन बानेश्वर पुगेका प्रधानमन्त्री दाहालविरुद्व नाराबाजी गरेपछि प्रहरीले सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्माको मुख बन्द गर्दै पक्राउ गरेको थियो ।

उनीहरु मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५-५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।उनीहरूमाथि अभद्र व्यवहारको कसुर लागेको थियो ।

प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी रकम नबुझाएका कारण सोमबार उनीहरूलाई कारागार चलान गरिएको थियो । मंगलबार धरौटी बुझाएपछि उनीहरु रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरिक्षक (डीएसपी) निरञ्जन भट्टले जानकारी दिए ।

प्रकाशित : चैत्र १४, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्

कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप

देवनारायण साह

मोरङ — प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोधमा आदिवासी जनजाति समुदायको प्रदर्शनमा झडप भएको छ । विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो । 

प्रदर्शनकारीले विराटनगरको रोडशेष चोकमा प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताए । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको उनले बताए ।

आन्दोलनलाई मत्थर पार्न अहिले व्यापक प्रहरी परिचालन गरेको छ । रोडशेष चोकमा रहेको बिग होटलमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेका थिए ।

आन्दोलनका कारण उक्त कार्यक्रम आयोजकले स्थगित गरेको छ । प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ । होटेल आसपासका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।


प्रकाशित : चैत्र १४, २०७९ १४:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×