सूर्यास्तसँगै पश्चिम आकाशमा मंगलबार एकसाथ देखिनेछन् चन्द्रमासहित ५ ग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — मौसमले साथ दिए मंगलबार सूर्यास्तसँगै आकाशको पश्चिम दिशामा चन्द्रमा र पाँच वटा ग्रह एकसाथ देखिनेछन् । सूर्यास्तसँगै मंगलबार आकाशमा चन्द्र मात्रै नभएर बुध, वृहस्पति, शुक्र, मंगल र अरुण ग्रह पनि देखिनेछन् ।

पश्चिमतर्फ क्षितिजको नजिकै बुध र वृहस्पति एक ठाउँमा, त्यसको केही माथि आकाशमा शुक्र र अरुण र चन्द्रभन्दा पनि माथि मंगल ग्रह देखिने छ । चाँडै अस्ताउने भएकाले बुध र वृहस्पति हेर्न सूर्यास्तपछि आँध्यारो सुरु हुने बित्तिकै हेर्न सुरु गर्नुपर्छ । बुधभन्दा वृहस्पति दोब्बरले चक्किलो देखिन्छ ।

बुध साँझ सात बजेर ३ मिनेटसम्म आकाशमा देखिनेछ । बुध अस्ताएको ५ मिनेटपछि अर्थात ७ बजेर ८ मिनेटमा वृहस्पति अस्ताउने छ । त्यसैगरी शुक्र राति ९ बजेर ३ मिनेटमा अस्ताउने छ । शुक्रलगत्तै अरुण ९ बजेर १९ मिनेटमा अस्ताउने छ । मंगल भने मध्यरातसम्म आकाशमा देखिनेछ । मंगल राति पौने एक बजे मात्रै अस्ताउने छ ।

'केही राम्रोसँग चम्किलो देखिन्छ भने केहीलाई हेर्न टेलिस्कोपकै प्रयोग गर्नुपर्ने हुन्छ,' नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, 'भौगोलिक अवस्थिति र प्रदूषणको कारण सबै ग्रह नदेखिन सक्छन् ।' पाँच वटा ग्रहमध्ये अरुणको पृथ्वीबाट देखिने चम्किलोपन सबैभन्दा कम छ । 'कृत्रिम प्रकाशको प्रदूषण कम भएको ठाउँमा जाने हो भने अरुणबाहेक अन्य ग्रह नांगो आँखाले राम्रोसँग देख्न सकिन्छ,' भट्टराईले भने, 'बुध सूर्य नजिकै हुन्छ । डाँडाहरुले नछेल्ने ठाउँमा नजाने हो भनेर यसलाई हेर्न अलि कठिन छ । '

बुधको चम्किलोपन माइनस १.३३ म्याग्निच्युड रहेको छ । सबैभन्दा चम्किलो तारा सिरिउस (ब्याधा) माइनस १.४५ म्याग्निच्युड रहेको छ । त्यसैगरी मंगलबार राति चन्द्रमा माइनस १०.७५ म्याग्निच्युड चम्किलो देखिनेछ । सूर्यको माइनस २७ म्याग्निच्युड हुन्छ । प्रकाश वा अन्य कुनै प्रकारको प्रदूषण नभएको ठाउँबाट आकाशमा रहेको ६ म्याग्निच्युडसम्मको चम्किलो वस्तु नांगो आँखाले देख्न सकिन्छ । चन्द्र नजिकै रहेको अरुणलाई नांगो आँखाले देखिने सम्भावना कम रहेको छ । अरुणको ५.८३ म्याग्निच्युड छ । '८-१० इन्चको टेलिस्कोप भयो भने निकै राम्रो देखिन्छ,' भट्टराईले भने, 'तर त्यो इन्टरनेटमा भेटिने फोटो जस्तो भने होइन ।'

वृहस्पतिको चम्किलोपन भने माइनस २.०५ म्याग्निच्युड रहेको छ । जुन नांगो आँखाले सहज रुपमा देखिनेछ । त्यसैगरी केही दिनदेखि सूर्यास्तसँगै पश्चिम आकाशमा चम्किलो रुपमा देखिँदै आएको शुक्र ग्रह स्पष्टसँग देखिन्छ । शुक्रको चम्किलोपन माइनस ४ रहेको छ ।


प्रकाशित : चैत्र १४, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक रोजगारमा रहेका नेपालीले बुधबारदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशमा रहेका नेपाली श्रमिकले बुधबारदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यो सेवा सुरु गर्न लागेको हो । यो सेवामार्फत विदेशी भूमिमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुमार्फत जानकारी पाउने छन् ।

बोर्डका सूचना अधिकृत राजन पौडेलका अनुसार वैदेशिक रोजगारमा रहेकाले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हृवाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सक्नेछन् । टेलिमेडिसिन सेवा बुधबार (चैत १५ गते) बिहान १० बजेदेखि सुरु हुनेछ । सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने पौडेलले जानकारी दिए ।

बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा नै आवश्यक परेमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ । सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको छ । सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ । यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने जनाएको ।


प्रकाशित : चैत्र १४, २०७९ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×