मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले आवश्यक कानुनी व्यवस्था गर्ने विधेयकबारे मंगलबार मन्त्रिपरिषद्ममा छलफलका लागि लैजाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बर्दिबासदेखि ११ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरुलाई महानगरपालिकाले रोक लगाएको थियो ।

मिटर ब्याजपीडितहरुले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले उनीहरूको समस्या समाधानका लागि पहल थालेको हो ।

प्रकाशित : चैत्र १४, २०७९ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली युवतीहरूलाई बन्धक बनाई देह व्यापारमा लगाउने ३ जना पक्राउ 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेंशी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा मगराती छन् । 

ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीका अनुसार उनीहरूले काठमाडौं माछापोखरी, बसपार्कलगायतका स्थानहरुमा मनोरञ्जन क्षेत्रमा काम गर्ने युवतीहरुलाई सम्पर्क गरी प्रलोभनमा पारेर नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गराएर भारतको दिल्ली पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको पाइएको छ ।

उनीहरूले होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक तलबको काम लगाइदिने भनि प्रलोभनमा पारी दिल्ली पुर्‍याई बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने गोप्य सूचनाको आधारमा ब्युरोले भारतस्थित नेपाली दूतावास र सामाजिक संस्था कीन इन्डियासँग सहकार्य गरी ९ जना पीडितको उद्धार गरेको एसपी पंगेनीले बताए । उनीहरूलाई चैत ७ गते काठमाडौं ल्याइएको हो । उद्धार गरिएको पीडित युवतीहरुलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको ब्युरोले जनाएको छ ।।

गत असोजदेखि फागुनसम्ममा ती ९ जना पीडित युवतीहरुलाई दिल्ली पुर्‍याएका थिए । केही पीडितलाई भने गाडीमा समेत लगिएको अनुसन्धानबाट खुलेको एसपी पंगेनीले जानकारी दिए । दिल्ली पुगेपछि उनीहरूले मोबाइल र भारतीय नम्बर पनि उपलब्ध गराई फेसबुक आईडी समेत खोलिदिएर फेसबुकको पासवर्ड समेत आफैले राखी निगरानी गर्ने गरेको समेत अनुसन्धानमा खुलेको ब्यूरो प्रमख एसएसपी जीवन कुमार श्रेष्ठले बताए । त्यसैगरी, पीडित युवतीहरुलाई दिल्ली किशनगढस्थित पन्जाबीढावा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा सिसिटिभीको निगरानीमा राखिएको थियो ।

ग्राहकलाई हृवाट्सएप मार्फत युवतीहरूको फोटो पठाउने र छनोटमा परेका युवतीलाई वेश्यागमनमा आउने व्यक्तिहरुले भनेको होटल, घरहरुमा ट्याक्सी बुक गरी पुर्‍याईदिने गरेको समेत अनुसन्धानमा खुलेको छ । चिनजानकै विश्वासिला ट्याक्सी ड्राइभरमार्फत ग्राहकले भनेको ठाउँमा युवतीहरुलाई पुराउने व्यवस्था समेत गरेको पाइएको छ ।

प्रहरीका अनुसार एक जना युवतीले एक महिनामा कम्तीमा १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दबाब थियो । गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेक अन्य सहरहरूमा समेत पठाउने गरेको पाइएको छ । उनीहरूविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान थालेको जनाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र १४, २०७९ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×