मिटरब्याज पीडितको समस्या सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ : सभापति लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

मंगलाबर विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए ।

‘हाम्रो पार्टी र हामी तपाईंहरुको साथमा छौं, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईंहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईंहरुलाई साथ दिनको लागि हामी आएका हौं,' उनले भने, 'हामी यसबाट लाभ लिन होइन, तपाईंहरुको साथमा हामी छौं ।'

उनले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पारे । 'तल्लो वर्गको मानिसलाई जब प्राथमिकतामा राखिन्छ, तब मात्रै समस्या समाधान हुन्छ, मैले मन्त्री बनेर काम गर्दा यस्ता समस्यालाई पहिलो प्राथमिकतामा राखेको थियौं,' उनले भने, 'पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ । मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरुलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरुको माग तुरुन्त समाधान गर्नुपर्छ ।’

मिटरब्याज पीडितहरुको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी थिए ।

प्रकाशित : चैत्र १४, २०७९ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

ओपनएआईका प्रमुख भन्छन्: मस्क मूर्ख हुन्

एजेन्सी

काठमाडौँ — अर्बपति टेक धनाढ्य इलन मस्क र च्याटजीपीटी निर्माता ओपनएआईबीचको वाकयुद्ध बढ्दै गएको छ । केही दिनअघि मस्कले प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टले ओपनएआईमा गरेको लगानी बापत कम्पनीको कोडबेसमा विशेष पहुँच बनाउन सफल भएको भन्दै ट्टिटरमार्फत् प्रत्यक्ष आलोचना गरेका थिए ।

त्यसयता लेक्स फ्रिडम्यानको अढाइ घण्टा लामो पडकास्टका क्रममा ओपनएआईका संस्थापक तथा प्रमुख साम अल्टम्यानले मस्कलाई 'एक मूर्ख' को संज्ञा दिए । 'इलनले अहिले विभिन्न पक्षहरूलाई लिएर ओपनएआईको आलोचना गरिरहेका छन्, म मेरो त्यसमा सहानुभूति पनि छ,’ अल्टम्यानले भनेका छन्, 'अन्य स्वार्थहरू पनि होलान् तर मस्क आर्टिफिसियल इन्टेलिजेन्स सुरक्षित हुनुपर्छ भन्नेमा चिन्तित पक्कै छन् ।’

मस्कले ओपनएआईको निरन्तर आलोचना गर्दै आएका छन् । आफूले एक गैरनाफामूखी कम्पनीको रूपमा ओपनएआईलाई १० करोड अमेरिकी डलर सहयोग गरेको र त्यो अहिले किन र कसरी नाफामूखी कम्पनीमा परिणत गरियो भन्ने विषयमा मस्कले तीखो आलोचना गर्ने गरेका छन् । मस्कको पछिल्लो आलोचना आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्म निर्माणमा माइक्रोसफ्टले मात्रै अन्य कम्पनीभन्दा बढी अस्वाभाविक पहुँच र अनाधिकृत लाभ प्राप्त गर्न खोजेको भन्नेतर्फ इङ्गित थियो । एक गैर नाफामूखी कम्पनीको रूपमा डिसेम्बर २०१५ मा मस्क, अल्टम्यान लगायत सातजनाले स्थापना गरेको ओपनएआईको पछिल्लो कूल बजार मूल्य ३० अर्ब डलरभन्दा बढी रहेको अनुमान छ । माइक्रोसफ्टले नै सन् २०१९ यता सो कम्पनीमा लगभग ५ अर्ब डलरको हाराहारीमा लगानी गरिसकेको छ ।

यद्यपी मस्क र ओपनएआई बीचको झगडा नयाँ भने होइन । अमेरिकी समाचार संस्था सेमाफोरले प्रकाशित गरेको एक प्रतिवेदनमा सन् २०१८ मा मस्कले ओपनएआईलाई एकलौटी बनाउने प्रयास गरेको तर अहिलेका प्रमुख अल्टम्यान, अध्यक्ष ब्रकम्यान लगायतले गम्भीर असहमति जनाएपछि मात्रै आफू टेस्लामा समेत संलग्न रहेकोले स्वार्थको द्वन्द्व हुने भन्दै ओपनएआईको बोर्डबाट राजीनामा दिएको उल्लेख छ । सेमाफोरको प्रतिवेदन अनुसार आफ्नो एकलौटी बनाउने प्रयासअघि एक अर्ब डलर लगानी जुटाउने प्रतिवद्धता जनाएका मस्क उक्त प्रयास असफल भएपछि १० करोड डलरमात्रै दिएर ओपनएआईलाई समस्यामा छोडेर पन्छिएका थिए । मस्कको यही कदमपछि ओपनएआईले २०१९ मा नाफामूखी कम्पनी बनेर लगानी भित्र्याउने घोषणा गरेको थियो भने माइक्रोसफ्टले त्यही अवस्थामा फाइदा उठाउँदै ओपनएआईमा अर्बौं डलर लगानी खन्याएको थियो ।

माइक्रोसफ्टसँगको साझेदारीले ओपनएआईलाई व्यापारिक बनाइदिएको र च्याटजीपीटी–४ सार्वजनिक गर्दा आफ्नो प्रचलन अनुसार ट्रेनिङ डेटामा यो कसरी निर्माण भयो भनेर पारदर्शी नबन्नुले यी कदम प्रतिस्पर्धी कम्पनीहरूमाथि आफ्नो अग्रता जोगाउन गरिएको प्रयास झल्किने विश्लेषकहरूको अनुमान छ । ओपनएआईका प्रमुख वैज्ञानिक इल्या सत्स्केवर भने यो प्रविधिको दुरूपयोग नहोस् भनेर यस्तो गरिएको दावी गर्छन् । यसअघि फेब्रुअरीमा पनि मस्कले आफ्ना ट्विटमार्फत 'ओपनएआई एक बन्द कोठामा सीमित र माइक्रोसफ्टको नाफा बढाउने कामका लागि प्रयोग भएको साधन' भन्दै आलोचना गरेका थिए । गएका केही महिनामा माइक्रोसफ्टले च्याटजीपीटीसहित जेनेरेटिभ एआईमा आक्रामक रूपमा लगानी विस्तार गरेको छ । धेरै विश्लेषकहरूले भाषामा आधारित यी जेनेरेटिभ एआई टुलको दुरूपयोग माइक्रोसफ्टको हतारोले सजिलो बनाइदिएको टिप्पणी गरेका छन् ।

तर ओपनएआईका प्रमुख साम अल्टम्यान भने मस्कसँग सहमत देखिँदैनन् । पडकास्टकै क्रममा उनले एआईको सुरक्षा र भविष्यसम्बन्धी मस्कको चिन्ता जायज देखिए पनि यी चिन्ताको पछाडि अरू नै कारण हुनसक्ने उल्लेख गरे । मस्क यसअघि अन्तरिक्ष पर्यटन र विद्युतीय गाडीका प्रतिस्पर्धीमाथि खनिने गरेको, क्रिप्टो लगायतका विद्युतीय मुद्रालाई उतार चढाव गराएको उदाहरण दिंदै अहिलेको आलोचनाको अन्तर्य पनि व्यापारिक हुनसक्ने अल्टम्यानले दावी गरे । अल्टम्यानले मस्कलाई आफ्नो प्रेरक व्यक्ति भएको र सामाजिक सञ्जाल तथा व्यवसायिक जीवनका यस्ता कदमबाहेक व्यक्तिगत रूपमा असल मान्छेको रूपमा सम्झँदै अन्तरिक्ष यात्रा, विद्युतीय सवारी लगायत प्रविधिका अनेकौं क्षेत्रमा अतुलनीय योगदान दिने भिजनरीको रूपमा सम्झेको बताउँछन् ।

प्रकाशित : चैत्र १४, २०७९ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×