खिम्ती-लामोसाँघु प्रसारण लाइनमा चट्याङ पर्दा काठमाडौं अन्धकार

काठमाडौँ — खिम्ती-लामोसाँघु प्रसारण लाइनमा चट्याङले क्षति पुर्याउँदा काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा बत्ती गएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार केहीबेर अघि चट्याङका कारणले विद्युत् आपूर्ति बन्द भएको हो ।

कान्तिपुरसँगको कुराकानीमा उनले भने, 'खिम्ती-लामोसाँघु प्रसारण लाइनमा लाइटनिङका कारण डिस्टर्बेन्स आएको छ । काठमाडौं उपत्यकाका अधिकांश भागमा त्यसका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको छ।'
प्रवक्ता भट्टराईका अनुसार अहिले मर्मत कार्य जारी रहेको छ । कतिबेरमा विद्युत् आपूर्ति सुरु हुन्छ भन्ने यकिनसाथ भन्न नसकिने उनको भनाइ छ ।
खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन राष्ट्रिय प्रसारण लाइन हो । जुन प्रसारण लाइनमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं उपत्यकालगायतका स्थानमा आपूर्ति हुन्छ ।
प्रकाशित : चैत्र १३, २०७९ १९:१०