उपनिर्वाचनका लागि राप्रपाले तोक्यो कमाण्डर

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख १० गते प्रतिनिधिसभाका तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी बैठकबाट बारा-२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई निर्वाचन परिचालनको जिम्मेवारी दिइएको हो ।

'आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुन गइरहेको तनहुँ-१, चितवन-२ र बारा-२ मा राप्रपाले आफ्नो उमेदवार खडा गर्नेछ,' बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले भने, 'निर्वाचन परिचालनका लागि वरिष्ठ नेताहरुलाई जिम्मेवारी तोकेको छ ।'

त्यसैगरी राप्रपाले पार्टीको केन्द्रीय कार्यसमिति आगामी बैठक ०८० वैशाख २९ र ३० गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । यस्तै वैशाखभित्र सातै प्रदेशमा कार्यकर्ता भेला आयोजना गर्ने बताइएको छ ।

२०८० सालभित्र २ लाख व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउने निर्णय गरेको राप्रपाले सदस्यता वितरण अभियानलाई तीव्र पार्ने जनाएको छ ।

त्यसैगरी राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासँग सम्बन्धित विषयमा सुरु गर्न लागेको आन्दोलनको स्वरुप निर्धारण गर्ने महामन्त्री धवल शमशेर जबराले बताए ।

प्रकाशित : चैत्र १३, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्यकर्मी अभावमा कारागारका कैदीबन्दी बिरामी पर्न थाले

कृष्ण थापा

नुवाकोट — नुवाकोट कारागारमा स्वास्थ्यकर्मी अभावमा धेरै कैदीबन्दी बिरामी पर्न थालेका छन् ।  कारागारमा स्वास्थ्यकर्मी नहुँदा नियमित जँचाउनुपर्ने बिरामी पनि त्यत्तिकै बस्न बाध्य भएका छन् । 

‘बिरामी परेमा जेलभित्र उपचार गराउन अवस्था छैन,’ कारागारका जेलर गंगालाल योगीले भने, ‘१३ जना जति मानसिक रोगी नै छन् । ती रोगीलाई बाहिर उपचार गराउन समस्या छ । औषधि खुवाइरहनुपर्छ । बिरामी धेरै हुने गरेका छन् । स्वास्थ्यकर्मी अभाव छ ।’

कारागारका लागि एकमात्र सिनियर अहेवको दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन् । कारागारमा १६ महिला एक दुई वर्षको नाबालक गरी जम्मा १४१ जना छन् । त्यसमध्ये विदेशीको हकमा एक जना अमेरिकी पुरुष र एक बोलेभियन महिला नागरिक छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । उनीहरुलाई सहज रुपमा सुत्न र बस्न गाह्रो भएको छ ।

नुवाकोट कारागारको क्षमता पुरुष र महिला गरी ५०/५० जनाको हो । तर यही कारागारभन्दा करिब ६ किलोमिटर दूरीमा विदुरमा आधुनिक सुविधासम्पन्न केन्द्रीय कारागार बनिरहेको छ । तीन वर्षदेखि कैदीबन्दीलाई स्थानान्तरण गर्ने भनिए पनि अहिलेसम्म भएको छैन ।

प्रकाशित : चैत्र १३, २०७९ १९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×