सर्दीमा भेटिएको बम सेनाले निस्क्रिय बनायो

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार दिउँसो निस्क्रिय पारेको छ ।

जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष ढकालका अनुसार यहाँ फेला परेको बम निकै शक्तिशाली हो । हात्तीखोरस्थित नेपाली सेनाको वन तथा पर्यावरण गणको सैनिक टोली सर्दी पुगेर बम निस्क्रिय पारेको हो । ती बम शक्तिशाली रहेको सेनाले जनाएको छ ।

साथै माओवादी सशस्त्र द्वन्द्वका बेला ती बम यहाँ राखिएको हुनसक्ने आकलन गरिएको छ । घटनास्थलमा रहेका एक सैनिक अधिकृतका अनुसार उक्त बम एउटा डाँडाबाट अर्को डाँडामा प्रहार गर्न सकिने शक्तिशाली गोला हो । जुन मोर्टारमा राखेर लामो दूरीमा लक्षित गरेर हान्न प्रयोग हुन्छ ।

सेनाले ती बम निस्क्रिय पार्ने क्रममा निकै टाढासम्म सुनिने चर्को आवाज निस्किएको स्थानीयहरूले बताए । चार दिनअघि विनयी त्रिवेणी गाउँपालिकाको वडा नं ५ धुर्कोट भेडीगाउँको बारी खोस्रिँदा गोठालाले गाजर जस्तै देखिने ९ वटा बम (गोला) फेला परेका थिए । सोमबार त्यहाँ खोतलेर हेर्दा पनि त्यति नै परिमाणको बम भेटिएको र सबै निस्क्रिय पारिएको हो ।

पूर्वी नवलपरासी अन्तर्गत महेन्द्र राजमार्गको दुम्कीबास बजारबाट १९ किलोमिटर उत्तरपश्चिमको जंगल नजिककै खेतमा गाडिएको अवस्थामा बम फेला परेको थियो । बम भन्ने जानकारी पाएपछि गाउँलेहरूले आइतबार साँझ फेरि सोही स्थानमा पुरेर छोडेका थिए ।

पहिलो पटक खेतमा बम भेटिएको जानकारी पाएका सर्दीका स्थानीय रुकेश सरामुले प्रहरीलाई खबर गरेका थिए । सरामु भारतीय सेनाका पूर्वसैनिक हुन् । उनका अनुसार यो एटटीवान एमएम मोटरको सेल (गोला) हो । जसले कम्तीमा ५२ सय मिटर टाढासम्म प्रहार गर्न सकिन्छ । यो जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्रमा क्षति पुर्‍याउने उनले दाबी गरे ।

प्रकाशित : चैत्र १३, २०७९ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्

देश जहाँ छोयो, त्यहीँ फाटेको छ : मन्त्री किराती

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए । 

मन्त्री किरातीले १० वर्ष सांसद भइसक्दा आफूले देशको बारेमा सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए । मन्त्री किराँतीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताए ।

‘देश जहाँ छोयो, त्यहीँ फाटेको छ, बनाउन सजिलो छैन । १० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ । हामीले बरु विदेशको धेरै कुरा गरेका छौँ, स्वदेशको कुरा गरेनौँ । स्थानीय सोचहरुलाई प्राथमिकता दिएनौँ । १२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरु विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ । हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ । स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा । शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ,’ उनले भने । मन्त्री किरातीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १५:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×