मन्त्रिपरिषद्लाई पूर्णता दिन फेरि मंगलबारसम्मको भाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनमा शीर्ष नेताहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे फेरि मंगलबार अपराह्नसम्मको भाखा राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो ।

उक्त भेटघाटपछि मन्त्रिपरिषद विस्तारका लागि मंगलबार दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहाल एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरु नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ ।


प्रकाशित : चैत्र १३, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भएँ : मन्त्री किराँती

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन् । उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए ।

आइतबार साँझ काठमाडौंमा आयोजित अमिन नेसनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो सांसद हुँदाखेरी म धेरै सानो सानो काममा हिँड्थेँ । यतिसम्मकी मान्छेहरुको बसको टिकटमा समस्या समेत पुग्थो, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला । ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो,' मन्त्री किराँतीले भने, 'तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ । लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ । हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु ।'

उक्त कार्यक्रममा अन्तिमसम्म बस्न नसक्ने भन्दै उनले संगीत चर्चा गर्न भने भ्याएका थिए । 'अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ । मानिसको प्राचिन विधा गीत, संगीत हो । प्रेमगीत त आमाबाट सिर्जित भयो । राजनीतिज्ञ र क्रान्तिकारीहरु झनै धेरै प्रेमी हुन्छ । जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन । तर गीत जस्तो जीवन हुँदैन । जीवन र गीतको व्यवहारिक तालमेल धेरै टाढा छ ।’

प्रकाशित : चैत्र १३, २०७९ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×