कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
सरकारका तीन महिना

प्रधानमन्त्री दाहाल उद्घाटन र भाषणमै व्यस्त

प्रधानमन्त्री दाहालले करिब एक महिनादेखि एक्लै १६ वटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । जनसाधारणलाई उपलब्धि हुने, राष्ट्रको अर्थतन्त्र सुधार गर्ने, सुशासनका मामिलामा परिणाम देखाउने निर्णय लिनेभन्दा पनि दाहालको प्राथमिकता प्रचारमुखी विषयमा परेको देखिन्छ ।
मणि दाहाल, जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री बनेको चौथो दिन गृहजिल्ला चितवन पुगेका पुष्पकमल दाहालले तेस्रो कार्यकालमा ‘भाषण भन्दा काम बढी गर्ने’ घोषणा गरेका थिए । पुस १६ मा नारायणी नमुना माध्यमिक विद्यालयको हीरक समारोहका मुख्य अतिथि बनेका प्रधानमन्त्री दाहालले भनेका थिए, ‘अहिले धेरै भाषण गर्ने मनस्थितिमा म छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’

प्रधानमन्त्री दाहाल उद्घाटन र भाषणमै व्यस्त

त्यसपछिका केही कार्यक्रमहरूमा छोटो भाषण हिँड्ने गरेका प्रधानमन्त्री दाहालको त्यो प्रतिज्ञा बिर्सिंदै गएका छन् । सुरुका केही दिन सरकारको काममा बढी ध्यान दिएका र बाह्य कार्यक्रममा कमै मात्रै सहभागी हुन गरेका प्रधानमन्त्री दाहालको दैनिकीको रफ्तार अहिले झिनामसिना कार्यक्रम उद्घाटन, मन्तव्य, भाषण र निर्देशनमै बितिरहेको छ ।

यसबीचमा दाहालले कराँतेको प्रशिक्षण कार्यक्रम उद्घाटनदेखि विद्यालयको वार्षिकोत्सव र नयाँ भवन उद्घाटनदेखि दौड प्रतियोगितामा विजयीहरूलाई पुरस्कार दिन जस्ता कार्यक्रममा सहभागी भएका छन् ।

पछिल्ला दुई दिनको कार्यक्रम हेर्ने हो भने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कार्यक्रम, लायन्स क्लब डिस्ट्रिक्ट– ३२५ जे’को महाधिवेशन उद्घाटन गर्नसम्म पुगे ।

हाल दाहाल कांग्रेससँग मिलेर सरकार चलाइरहेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले करिब एक महिनादेखि एक्लै १६ वटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । जनसाधारणलाई उपलब्धि हुने, राष्ट्रको अर्थतन्त्र सुधार गर्ने, सुशासनका मामिलामा परिणाम देखाउने निर्णय लिनेभन्दा पनि दाहालका प्राथमिकता प्रचारमुखी विषय परेका देखिन्छ ।

दाहालले प्रधानमन्त्रीका हैसियतमा गरिरहेका खुद्रा प्रचारमुखी कामलाई छोरी गंगा दाहाल प्रमुख रहेको सचिवालयले प्रचार गरिरहेको छ । प्रधानमन्त्री बाहेक अरु नै जाँदा पनि हुने प्रकृतिका कार्यक्रममा गएर प्रधानमन्त्रीले भाषण गरिरहेका छन् । परिणाम खोज्ने दैनिक प्रशासनिक कामका लागि पनि कर्मचारीलाई निर्देशन दिइरहेका छन्, तिनै विषयलाई प्रधानमन्त्रीको निजी सचिवालयले सामाजिक सञ्जालमा ठूल्ठूला उपलब्धि भए भन्दै प्रशंसा गरेका गरेका ग्राफिक्सहरू सामजिक सञ्जालमा पोस्ट गर्छन् ।

दाहालको सचिवालयले तयार गरी उपलब्धी भन्दै प्रचार गरेका ग्राफिक्सहरु

दाहालको यो कार्यकालको तीन महिनाको उपलब्धि भनेको एमाले र कांग्रेस दुवैलाई निश्चित दूरीमा राखेर दुई पटक विश्वासको मत प्राप्त गरिराख्नु रहेको छ ।

१६ मन्त्रालयमा मन्त्रीको हैसियतमा प्रधानमन्त्री दाहालका तस्बिर र नेमप्लेट टाँसिएका छन् । मन्त्रालयका कामकाज ठप्पप्रायः छन् । तर, दाहाल भने मन्त्रिपरिषद्लाई पूर्णताको भाका फेरेका फेर्‍यै छन् । सुरुमा उपराष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद् पूर्णता दिने दाहालले घोषणा गरेका थिए । त्यसपछि संसद्‍बाट विश्वासको मत लिएपछि । चैत ६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपनि मन्त्रिपरिषद् विस्तारतिर दाहालको ध्यान गएन । त्यसपछि चैत १० गते शुक्रबारभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने घोषणा दाहालले नै गरेका थिए । त्यो समय पनि घर्किएपछि चैत १२ गतेभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने घोषणा माओवादी केन्द्रको पदाधिकारी बैठकमै गरे । यो समय पनि घर्किनै लाग्दा दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिने नयाँ मिति घोषणा गरेका छन् । सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग दाहालको छलफलपछि प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले सूचना जारी गरेका छन्, 'प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच बालुवाटारमा भएको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि भोलि (मंगलबार) दिउँसो ४ बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी गरेको छ ।'

मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढ गठबन्धनको बैठकै दाहालले मंगलबार बोलाउन लागेका हुन् । यसअघि सार्वजनिक कार्यक्रममा गएर मन्त्रिपरिषद् विस्तारका भाका सुनाए पनि उनले सत्तारुढ गठबन्धनको बैठकसम्म बोलाएका थिएनन् ।

तीन महिना बितिसक्दा दाहाल मुलुकको नयाँ आर्थिक वर्षको बजेट बनाउने मन्त्रालयको नेतृत्व पनि सम्हालिरहेका छन् । त्यसका लागि न त उनी आफूले समय दिन सकेका छन् न अर्थ सल्लाहकार नै नियुक्त गरेका छन् ।

उनी हाल कुनै विदेशीसँग छलफलमा सहभागी हुँदा माओवादी केन्द्रको अध्यक्षभन्दा बढी टिमसहित उपस्थित भएको देखिँदैन । उनको साथमा अधिकांश भेटमा स्वकीय सचिवका हैसियतमा नियुक्त छोरी गंगा दाहाल हुन्छिन् भने केही भेटहरूमा स्वकीय सचिव रमेश मल्ल पनि सहभागी हुन्छन् ।

प्रधानमन्त्री दाहालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिट (माथिल्लो तस्बिर )। प्रधानमन्त्रीसँग भेट गर्दै भारतीय राजदूत नवीन श्रीवास्तव । साथमा प्रधानमन्त्रीकी छोरी गंगा दाहाल ।

एमालेसँगको सत्तायात्रा बिसौनीमा पुगेको बेला तत्कालीन परराष्ट्रमन्त्री विमला पौड्याल राईलाई संयुक्त राष्ट्रसंघको कार्यक्रममा मुलुकको प्रतिनिधित्व गर्नबाट रोकेर दाहालले पूर्वमन्त्री गोविन्द बन्दीलाई आफ्नो 'शान्ति तथा मानव अधिकार सल्लाहकार' बनाएर जेनेभा पठाएका थिए । फागुन दोस्रो साता जेनेभामा नेपालको प्रतिनिधित्व गरेर फर्किएपछि बन्दीले प्रधानमन्त्रीको उक्त सल्लाहकारको पदबाट राजीनामा दिइसकेका छन् ।

प्रधानमन्त्रीको कुर्सीमा तेस्रो पटक दाहाल पुगेपछि सुदृढ कार्यसम्पादनको अपेक्षा आम सर्वसाधारण र राजनीतिक, आर्थिक तथा प्रशासनिक विषयमा चासो राख्नेहरूले गरेका थिए ।राजनीति विश्लेषक हरि रोका नीति तथा कार्यक्रममा सहमत नभई पदको आधारमा बनेको सत्तागठबन्धनका प्रमुखबाट धेरै उल्लेख्य परिणाम ननिस्किने बताउँछन् ।

‘सैद्धान्तिक, वैचारिक आधारमा गठबन्धन बनेको भए पो काम गर्छन् भन्ने कुरा हुन्छ । गठबन्धनको आधार नै प्रधानमन्त्री हुने र नहुने, को सत्तामा पुग्ने वा नपुग्ने भएपछि कसैले काम गरेनन् भनेर भन्नुको अर्थ नै छैन,’ रोकाको टिप्पणी छ, ‘हाम्रो जस्तो शासन प्रणाली भएको ठाउँमा गठबन्धन दलहरूबीच न्युनतम साझा कार्यक्रममा सहमत हुने वा नहुने कुरा हुन्छ । के- के काम गर्ने भन्ने पूर्वनिर्धारित हुन्थ्यो । हाम्रोमा प्रधानमन्त्री हुनका लागि गठबन्धन भएको हो, नीति तथा कार्यक्रमका लागि होइन ।’

दाहालको कार्यकालका सुरुवाती तीन महिनाले तेस्रो कार्यकाल कस्तो हुने भन्ने संकेत देखिइसकेका रोकाको टिप्पणी छ । 'बाँकी समयमा यसरी नै बित्ने हो । अर्थतन्त्रले काम गर्न सकेको छैन, समस्या धेरै छन् । तर काम हुने सम्भावना देखिँदैन,’ रोकाले भने, ‘दाहालसँग टिम छैन, न त सचिवालयमा जाँगर भएका मानिस नै छन् । दाहाल एक्लै बोलिरहेका छन् । टिम नभएपछि, सशक्त पार्टी नभएपछि कसरी काम हुन्छ ? अन्य दलका नेता आए पनि हुने अवस्था यस्तै हो ।’

माओवादी केन्द्रका सचिव गणेश साह मुलुकमा सरकार भए पनि नभएको जस्तै अवस्था रहेको बताउँछन् । ‘यो सरकार अस्थिरताको शिकार भयो । अहिले सरकारले विश्वासको मत प्राप्त गरे पनि जुन प्रकारको परिस्थित छ यसको धेरै समयमा गठबन्धनमा रहेको दललाई रिझाउनै सकिन्छ,’ साहले भने, ‘यो सरकार प्रभावकारी रूपमा जान्छ भन्नेमा शंका नै छ ।’

मुलुकको आर्थिक अवस्थासहित अन्य कारणले जनतामा निरासा भए पनि त्यसलाई चिर्न दाहालले नसकेको साहको भनाइ छ । ‘यो सरकारले राम्रो काम गरिहाल्छ भनेर सोच्नु पनि युक्तिसंगत हुन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले जे जस्तोसुकै काम गर्छु भनेपनि धरातलीय यथार्थ त्यस्तो छैन । अराजकता, अनुशासनहीनता, जनतामा ठूलो निरासा छ, उद्यमशीलताको साटोमा बिचौलिया हालिमुहाली छ । बिचौलियाबाटै सरकार घेरिएको अवस्था छ ।’

साहले यस्तो अवस्थामा सरकारले धेरै काम गर्छ भनेर आशावादी हुन पनि उचित नभएको बताए । ‘स्वार्थ समूहहरूबाट घेरिएको अवस्थामा यो सरकारबाट धेरै आशावादी हुनु उचित होइन,’ उनले भने, ‘स्वार्थी समूहबाट घेरिएको हुनाले प्रधानमन्त्रीले छाड्न पनि सक्नुहुन्न, नकार्न पनि सक्नुहुन्न । त्यसैले मुल काम छाडेर पनि सानो सानो कार्यक्रमतर्फ जानुपर्ने बाध्यता आइलागेको छ ।’

१० वर्षे सशस्त्र संघर्षलाई १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताको माध्यम हुँदै संविधानसभाको पहिलो निर्वाचनपछि पहिलोपटक दाहालको सत्तारोहण भएको थियो । २०६५ मा पहिलो पटक प्रधानमन्त्री बन्दा दाहालमा १० वर्षे सशस्त्र विद्रोहको रापताप थियो । भर्खरै हतियार बिसाएर मूलधारको राजनीतिमा आएको माओवादी पहिलो दल बनेको थियो । ६ सय १ सदस्यीय संविधानसभामा दोस्रो र तेस्रो स्थानमा रहेका कांग्रेस र एमालेको सीट जोड्दा पनि माओवादीको जति सिट संख्या पुग्थेन । 'जनयुद्ध'को रापतापमा सरकारको नेतृत्वमा पुगेका दाहालको सत्ता यात्रामा ९ महिनामै अल्पविराम लाग्यो । तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवालसँगको टकरावसँगै उनी प्रधामन्त्रीको कुर्सी छोड्न बाध्य भएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनबाट एमाले र कांग्रेस हाराहारीका शक्ति बन्दा माओवादी तेस्रो स्थानमा खुम्चिन पुग्यो । दुवै दलसँग माओवादीको ठूलो अन्तर थियो । संविधान जारी भएपछि एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकार बन्यो । तर, त्यो लामो समय टिक्न सकेन ।

एमालेसँग भएको पूर्वसहमति कार्यान्वयन नभएको भन्दै माओवादी सरकारबाट बाहिरियो । कांग्रेससँग गठबन्धन गरेका दाहाल दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री बने । दोस्रो कार्यकाल पनि ९ महिनाकै रह्यो । तुलनात्मक रूपमा कम विवादित बनेको दाहालको दोस्रो प्रधानमन्त्रीकालमा पनि लोडसेडिङ अन्त्य र संविधान कार्यान्वयनका खातिर स्थानीय तह निर्वाचनको सुरुवात गराउनेबाहेक स्मरणीय काम भएन ।

मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनाव कांग्रेससँग गठबन्धन गरेका दाहाल पुस १० मा एमालेसँग मिलेर सरकार बनाउन बालकोट पुगे । त्यसको साढे २ महिना पूरा नहुँदै दाहाल पुरानै गठबन्धनमा फर्किए र फागुन २५ गतेको राष्ट्रपति निर्वाचन अघि नै एमालेसँगको सत्तायात्रा भंग गरे । प्रधानमन्त्री आफैंले गठबन्धन परिवर्तन गरेका थिए ।

दाहालको तेस्रो कार्यकाल सत्ता गठबन्धन कायमै रहेमा जम्माजम्मी साढे २ वर्षको हो । त्यसपछि १ वर्ष एकीकृत समाजवादीका अध्यक्ष नेपाल र बाँकी १ वर्ष ६ महिना कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति सत्तारुढ गठबन्धनका दलहरूको छ ।

असोज २ बाट सुरु भएको निर्वाचनमा सबै दलहरूको एकपटक सबै पदको आवधिक निर्वाचन हुन पनि सात महिनाको समय लाग्यो । २७५ सिटको प्रतिनिधिसभामा ३२ स्थान जितेर दाहाल तेस्रो पटक सिंहदरबार प्रवेश गरेका छन् । पहिलो र दोस्रो कार्यकालको अनुभवसहित तेस्रो कार्यकालमा दाहाल आफैँले कार्यशैली सुधार्ने घोषणा गरेका थिए । तर, प्रधानमन्त्री आफ्नै वचन भन्दा भिन्न ढंगले चलिरहेका छन् ।

प्रधानमन्त्री सहभागी भएका केही कार्यक्रमहरू

चैत १२ - नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)

चैत्र ११ - लायन्स क्लब डिस्ट्रिक्ट ३५ को महाधिवेशन उद्घाटन र नेपाल कराँते महासंघको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन ।

चैत्र ९ - सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेललाई सम्बोधन ।

फागुन ३० - नेपाल चीन व्यापार मञ्चलाई सम्बोधन र नगरपालिका संघको ३० औं वार्षिकोत्सवलाई सम्बोधन ।

फागुन २९ : एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन र पद्मोदय माध्यमिक विद्यालय, काठमाडौँको हीरक जयन्ती समारोहमा दाहाल “प्रचण्डको सम्बोधन।

फागुन २८ : नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन ।

फागुन २३ : सोलुखोला दुधकोशी जलविद्युत परियोजनाको राजधानीमा उद्घाटन र

१६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा सहभागी ।

फागुन १९: सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन

फागुन १५ : विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन ।

फागुन ८ : पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन

फागुन १ - महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन । र कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन

माघ २९: पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठक सम्बोधन ।

माघ २० : सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन ।

माघ ७ : काठमाडौंमा ‘राइट टु प्रोटेन रन’ हाफ म्याराथुन पुरस्कार वितरण समारोहमा सम्बोधन ।

प्रकाशित : चैत्र १३, २०७९ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?