नेपाल–अमेरिका ‘ल्यान्ड फोर्स टक’ सोमबारदेखि

शान्ति मिसन, मानवीय सहायता र विपद् व्यवस्थापन, तालिम तथा विषयवस्तुबारे विज्ञता आदानप्रदान गरिने
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाल–अमेरिका ल्यान्ड फोर्स टक (एलएफटी) सोमबारदेखि तीन दिनसम्म नेपालमा हुँदै छ । यो दुई मुलुकका स्थल सेनाबीचको सहकार्यका सम्बन्धमा हुन लागेको संवाद हो । २०७५ सालदेखि हरेक वर्ष हुँदै आएको (२०७७ सालमा कोभिड–१९ का कारण हुन सकेन) उक्त संवादमा भाग लिन २२ सदस्यीय अमेरिकी टोली शनिबार बेलुकी काठमाडौं आइसकेको छ ।


अमेरिकी टोलीको नेतृत्व अमेरिकी सेनाको प्यासिफिक कमान्डका डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गरेका छन् । नेपाली टोलीको नेतृत्व भने उपरथी अशोकराज सिग्देलले गर्दै छन् । यसअघिको तेस्रो संस्करणमा पनि नेपाली टोलीको नेतृत्व उपरथी सिग्देलले गरेका थिए । नेपाली सेनाका अनुसार यस पटकको कार्यक्रममा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव/उपसचिवका साथै सेनाका रथीवृन्द एवं अधिकृत सम्मिलित १४ सदस्यीय टोली सहभागी हुनेछ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार यस पटक शान्ति मिसन, मानवीय सहायता र विपद् व्यवस्थापन, तालिम तथा विषयवस्तुबारे विज्ञता आदानप्रदान गरी चार विषयमा संवाद हुन्छ । ‘दुई पक्षले एक अर्कासँग भएका क्षमता र विज्ञता आदानप्रदान गर्ने हो, यो विशुद्ध क्षमता अभिवृद्धिको हिसाबमा गरिने र गर्दै आइरहेको हो,’ उनले भने, ‘यो संवाद कार्यक्रममा कुनै पनि सुरक्षामा सामेल हुने वा सम्झौता गर्ने भन्ने हुन्न । आफूमा भएको क्षमता अर्कोको सहयोगका लागि सेयर गर्ने मात्र हो ।’

उक्त ल्यान्ड फोर्स टकको पहिलो संस्करण २०७५ जेठ २३ र २४ मा काठमाडौंमा भएको थियो । नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प आएपछि त्यसको सामना गर्न आवश्यक सहयोग र सहकार्यका लागि तथा शान्ति मिसनमा जाँदा नेपाललाई आवश्यक क्षमता अभिवृद्धि र सहयोगका लागि संवादको थालनी गरिएको थियो । पहिलो संस्करणमा पनि नेपाली सेना र अमेरिकाको प्यासिफिक कमान्डबीचमै संवाद भएको थियो । त्यसबेला नेपाली सेनाका तर्फबाट १९ जना र अमेरिकी सेनाका तर्फबाट १७ जनाले सहभागिता जनाएका थिए । उक्त संवादमा अमेरिकी सेनाका मेजर जनरल रोजर जे. नोवल र नेपाली सेनाका तर्फबाट उपरथी जगदीशचन्द्र पोखरेलले नेतृत्व गरेका थिए । उक्त संवाद नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको थियो ।

अवकाशप्राप्त उपरथी पोखरेलले अमेरिकाले अन्य मुलुकसँग जस्तै नेपालसँग पनि ल्यान्ड फोर्स टक गरेको बताए । ‘हामी ल्यान्ड फोर्स (स्थल सेना) मात्र भयौं, हाम्रो क्षमता कसरी वृद्धि गर्ने ? कसरी तालिम दिने ? आगामी दिनमा थप सहकार्य कसरी गर्ने ? हाम्रो भूबनोटको अवस्थामा कसरी काम गर्ने ? लगायतका विषयमा छलफल गर्ने काम यो संवादमा हुन्छ,’ उनले भने । उनले यसअघिको ल्यान्ड फोर्स संवादमा इन्जिनियरहरूको क्षमता अभिवृद्धि गर्ने काम पनि भएको बताए । पोखरेलले २०७२ को भूकम्प जानुअघि नै नेपालले अमेरिकी सेनाबाट संकटमा कसरी काम गर्ने भन्ने सिकेको बताए । ‘हामीलाई अमेरिकी सेनाले भूकम्प प्रभावित स्थानमा कसरी काम गर्ने भन्ने सिकाए, नेपालले २०७२ सालमा भूकम्पपछि मल्टी नेसनल मिलिटरी कोअर्डिनेसन सेन्टर निर्माण गर्न अमेरिकीहरूले नै २०६६/६७ मा सिकाएका हुन्,’ उनले भने ।

नेपाल–अमेरिका दोस्रो ल्यान्ड फोर्स टक पनि २०७६ कात्तिक ६ र ७ मा नेपालमै भएको थियो । उक्त अवसरमा नेपाली सेनाका तर्फबाट १९ जना र अमेरिकी सेनाका तर्फबाट १६ जनाको सहभागिता रहेको थियो । नेपाली टोलीको नेतृत्व तत्कालीन उपरथी ईश्वर हमालले गरेका थिए भने अमेरिकी टोलीको नेतृत्व ड्यानियल फान्सिस म्याकड्यानियलले गरेका थिए । उक्त अवसरमा दुई पक्षबीच नेपाली सेनाको शान्ति मिसनमा क्षमता अभिवृद्धि गर्ने, मानवीय सहायता र विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।

अवकाशप्राप्त रथी ईश्वर हमालका अनुसार अमेरिकीहरूले मल्टिनेसनल मिलिटरी कोअर्डिनेसन सेन्टर निर्माण गर्ने अभ्यास सिकाइदिएका कारण नेपालमा भूकम्प जाँदा सहयोग मिल्यो । त्यसपछि सन् २०११ मा हाइटीमा भूकम्प जाँदा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ खटिएका नेपाली फौजले सहजै सहकार्य गरेर काम गर्न सके । ‘अमेरिकासँग विश्वभर काम गरेको अनुभव छ, त्यो अनुभव सिक्न पाउनु नेपालका लागि लाभदायी हुन आउँछ,’ उनले भने । कोभिड–१९ का कारण बीचमा एक वर्ष रोकिएपछि २०७८ चैत ६–१० मा तेस्रो नेपाल–अमेरिका ल्यान्ड फोर्स टक अमेरिकाको हवाई राज्यमा भयो ।

नेपाल र अमेरिकी सेनाबीच संयुक्त तालिमअन्तर्गत ‘ब्यालेन्स नेल’ र ‘टिक नेल’ सञ्चालन हुँदै आएका छन् । २०७२ को भूकम्पपछि अमेरिकी सरकारले घोषणा गरेको चार वटा एमआई स्काई ट्रकमध्ये दुई वटा २०७६ को मंसिरमा भएको थियो । अमेरिकाले पोल्यान्डको विमान उत्पादक कम्पनी पोलस्की ज्याकलेडी लोट्च्जिसँग चारै विमान खरिदको सम्झौता गरेको हो । २०७२ को भूकम्पपछि दोलखामा मानवीय सहायताका लागि जाँदा अमेरिकी हेलिकोप्टर दुर्घटनामा परेको थियो । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकोप्टर यूएच वानवाई ह्यु हराएको चौथो दिन जेठ १ मा सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा ६ अमेरिकी र दुई नेपाली सैनिकको मृत्यु भएको थियो । भूकम्पका बेलामा दुई सयभन्दा बढी अमेरिकी सैनिक ६ हेलिकोप्टरसहित नेपाल आएका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्

सत्य निरुपण र संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाबाट दुई महत्वपूर्ण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएका छन् । प्रतिनिधिसभबाट संक्रमणकालीन न्यायसम्बन्धी र संवैधनिक परिषद्सँग सम्बन्धित विधेयक पारित भएका हुन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ र संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएका हुन् ।

दुवै विधेयकलाई प्रधानमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा मन्त्री शर्माले सत्यको छानबिन र परिपूरण हुनुपर्छ भन्ने मान्यता रहेको विधेयकमा शान्ति सम्झौताका हस्ताक्षर कर्ता, राजनीतिक दल र आम जनताको साझा विषय रहेको बताइन् ।

मन्त्री शर्माले भनिन्, 'शान्ति प्रक्रियालाई आफ्नै मौलिक ढंगले टुंग्याने प्रयास भइरहेको छ, यो कुनै दल र नेताको मात्र विषय होइन ।' उनले शान्ति प्रक्रियाका सबै काम टुङ्ग्याउन र समृद्ध बनाएर अघि बढनुपर्छ भन्नेमा सबैको साझा धारणा रहेको बताइन् ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले विगतको सहमति र सबै पार्टीका जिम्मेवार नेताहरूसँग आवश्यक छलफल र परामर्शपछि विधेयक अघि बढाइएको बताउँदै यसलाई दुई वर्षभित्र टुङ्ग्याउने उल्लेख गरिन् । उनले विधेयकमा गम्भीर प्रकृतिका मुद्दामा आममाफी दिने कुरा उल्लेख नभएको स्पष्ट पार्दै विधेयकमा कुनै त्रुटि छ भने पनि दफावार छलफलका क्रममा समाधान गर्न सकिने बताइन् ।

त्यस्तै, प्रतिनिधिसभाबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै मन्त्री शर्माले संवैधानिक परिषद्लाई अघि बढाउन र यससम्बन्धी कानुनी रिक्ततालाई पूरा गर्न विधेयक ल्याइएको बताइन् ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जिज्ञासाका सम्बन्धमा मन्त्री शर्माले संवैधानिक निकायमा योग्य व्यक्ति नियुक्त होस् भन्ने सबैको चासोलाई विधेयकमा समेटिएको जानकारी गराइन् । उनले विधेयकको व्यवस्थाले राज्यका तीनै अङ्गबीच सन्तुलन कायम हुने अवस्था हुनेसमेत उल्लेख गरिन् ।

सैद्धान्तिक छलफल सुरु भएसँगै दुवै विधेयकमाथि सांसदहरूले संशोधन दर्ता गर्ने समय सुरु भएको छ । संशोधन दर्ता गर्नका लागि सभामुख देवराज घिमिरेले ७२ घण्टाको समय निर्धारण गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ २१:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×