खानेपानीको ट्यांकीमा शव भेटियो

सम्झना रसाइली

तनहुँ — तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित खानेपानीको ट्यांकीमा आइतबार एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार उक्त शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको हो ।

श्रेष्ठका आफन्तले शव पहिचान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिएका छन् ।

‘श्रेष्ठ गत फागुनबाट नै घरबाट हराएको भन्दै उनका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका रहेछन्’, उनले भने, ‘ट्यांकीबाट शव निकालेपछि उनका आफन्तलाई बोलाएर शवको पहिचान गरिएको हो ।’

पृथ्वीराजमार्गको मनहरी नजिकै रहेको मनहरी पीपलटार खानेपानी उपभोक्ता समितिको ट्यांकीमा आइतबार बिहान शव भेटिएको थियो । मनहरी क्षेत्रका १ सय ३८ परिवारमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराएका थिए ।

उपभोक्ताको गुनसोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकीको ढकन खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए । उनले भने, ‘२/३ दिन अगाडिदेखि पानी गन्हायो भनी उपभोक्ताले गुनासो गरेपछि बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देख्यौं ।’

शवको प्रकृति हेर्दा शंकास्पद रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि सदरमुकामस्थित दमौली अस्पतालमा पठाइएको र घटनाको बारेमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

मिटरब्याजपीडित न्याय खोज्दै काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — मिटरब्याजविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका छन् । बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित ११ औं दिनमा उपत्यका छिरेका हुन् ।

आफ्ना माग सरकारले नसुनेपछि प्रधानमन्त्री समक्ष माग सुनाउन भन्दै उनीहरूले ११ दिनअघि महोत्तरीदेखि पैदल यात्रा सुरु गरेका थिए । आइतबार दिउँसो उनीहरू मातातीर्थको कुण्ड नजिकै रहेको पौवामा बसेका छन् । आइतबार बिहानै उनीहरू मकवानपुरको फाखेलबाट हिँडेर चन्द्रागिरि नगरपालिकाको मातातीर्थ आइपुगेको मातातीर्थ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश चौलागाईँले जानकारी दिए ।

यात्रामा ४२ जना महिला साथै केही स्कुले विद्यार्थी र शिशुलाई पनि तिनका अभिभावकले सँगै लिएर आएका छन् । मिटरब्याजविरुद्ध यसअघिदेखि नै धर्ना बसे पनि सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू फर्किएका थिए । यसपटक भने सरकारले माग सम्बोधन नगरेको भन्दै दबाब दिन राजधानी आएका हुन् ।

गत जेठ अन्तिममा देशभरबाट आएका विपन्न किसान न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए । २८ जेठदेखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले १ असोजमा सम्झौता गरेको थियो ।

गृह मन्त्रालयले गरेको सम्झौतामा मिटरब्याजी सुदखोरहरूले धनसम्पत्ति लिन गरेका लिखत वा मौखिक धम्कीबाट किसानलाई मुक्त गर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउने उल्लेख थियो ।

त्यस्तै साँवाब्याज चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गर्नेलगायत सहमति भएको थियो ।जिल्ला जिल्लाबाट आएका किसान कठोर धर्नामा बसेपछि सरकारले गरेको सम्झौता अहिले अलपत्र छ ।

प्रकाशित : चैत्र १२, २०७९ १९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×