आवेश र उत्तेजनामा बहस गरे संक्रमणकालीन न्याय पूरा हुँदैन : सापकोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका सांसद माधव सापकोटाले संक्रमणकालीन न्यायको प्रक्रिया पूरा गर्नका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रामा सांसद सापकोटाले संक्रमणकालीन न्यायलाई सही निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद सापकोटाले संक्रमणकालीन न्यायको सिद्धान्तमा अगाडि बढ्नुपर्ने बताए । द्वन्द्वकालमा भएका घटना उल्लेख गर्दै उनले सोही प्रकारको आवेश र उत्तेजनामा जान नहुने धारणा राखे ।

'म १४ वर्षको थिएँ । कक्षाकोठाबाट तत्कालीन राज्यपक्षले मलाई थुतेर लगेर उधोमुन्टो लगाएर झुन्ड्याएर मरणासन्न हुनेगरी यातना दियो । म महिनौं अस्पतालमा भर्ना भएँ । दाहिने हातमा दाहिने खुट्टामा र देब्रे पातामा र अरु आधा दर्जन शरीरका अंगहरूमा गोली बोकेर यो रोष्ट्रममा उभिएको छु । मेरो आफ्नै परिवारका तीन दाइ र एक बहिनी, मेरो एउटा सानो गाउँबाट २२ जना काकाकाकीहरू र आफन्तहरूले ज्यान गुमाए । मेरो गाउँको एक जना जोगी काकालाई समेत बाँकी नराखेर यातना दिँदै दिँदै सदरमुकामको कस्टडीमा राखेर यातना दिइयो । उहाँ अहिले अपांग हुनुहुन्छ । यस्ता धेरै कुरा म ४ घण्टा यो रोष्ट्रमबाट बोल्न सक्छु,' उनले भने, 'अहिले आवेश, उत्तेजना, भावनावेशमा आएर बहस गरेर हुँदैन । संक्रमणकालीन न्यायलाई निरुपण गर्ने भनेको युागन्तकारी आन्दोलनेले बोकको नवीनतम र परिवर्तनकारी मुद्दाहरूलाई अलग्गै पारेर बहस गरियो भने पूर्ण हुँदैन ।'

सांसद सापकोटाले संक्रमणकालीन न्यायका विश्वव्यापी सिद्धान्त अपनाएर अगाडि बढ्नुपर्ने बताए । आफ्ना एजेन्डा जनतामा राखेर निर्वाचित भएर सांसद बनेको उनको भनाइ थियो । माओवादी आन्दोलन उग्रवामपन्थ नभएको पनि उनको भनाइ थियो ।

'माओवादी आन्दोलन उग्रवामपन्थ हुन्थ्यो भने आज पनि रेडियो, टेलिभिजन र सामाजिक संजालहरूले मानिसहरू कति मरे, कहाँ-कहाँ झडप र भिडन्त भए भन्ने समाचार आउने थिए,' उनले भने, 'यो दक्षिणपन्थी आन्दोलन भएको भए १२ बुँदे समझदारी, शान्ति मस्झौता, अन्तरिम संविधान र आजको संविधान ती सबै कुराको स्वामित्व लिँदैनथ्यो ।' माओवादी सहमतिको राजनीतिमा जान खोजेको भन्दै संक्रमाणकालीन न्याय प्रक्रियालाई निरुपण गर्न सबै दलहरू एकजुट हुनुपर्ने उनको भनाइ थियो । उक्त विषयलाई राजनीतिक दाउपेचको विषय बनाउन नहुने पनि उनले आग्रह गरेका थिए ।

प्रकाशित : चैत्र १२, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्

खानेपानीको ट्यांकीमा शव भेटियो

सम्झना रसाइली

तनहुँ — तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित खानेपानीको ट्यांकीमा आइतबार एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार उक्त शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको हो ।

श्रेष्ठका आफन्तले शव पहिचान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिएका छन् ।

‘श्रेष्ठ गत फागुनबाट नै घरबाट हराएको भन्दै उनका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका रहेछन्’, उनले भने, ‘ट्यांकीबाट शव निकालेपछि उनका आफन्तलाई बोलाएर शवको पहिचान गरिएको हो ।’

पृथ्वीराजमार्गको मनहरी नजिकै रहेको मनहरी पीपलटार खानेपानी उपभोक्ता समितिको ट्यांकीमा आइतबार बिहान शव भेटिएको थियो । मनहरी क्षेत्रका १ सय ३८ परिवारमा वितरण गरिएको धाराबाट आएको पानीमा दुई दिन अघिबाट गन्ध आएपछि उपभोक्ताहरुले समितिमा जानकारी गराएका थिए ।

उपभोक्ताको गुनसोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकीको ढकन खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए । उनले भने, ‘२/३ दिन अगाडिदेखि पानी गन्हायो भनी उपभोक्ताले गुनासो गरेपछि बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देख्यौं ।’

शवको प्रकृति हेर्दा शंकास्पद रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि सदरमुकामस्थित दमौली अस्पतालमा पठाइएको र घटनाको बारेमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ १९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×