उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग राजदूत शर्माको भेट

नेपाल र भारतको उत्तर प्रदेशबीचको सम्भावित साझेदारीका बारेमा छलफल
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका लागि नेपालका राजदूत शंकर शर्माले भारतको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रदेशको राजधानी लखनउमा पुगेका राजदूत शर्माले मुख्य मन्त्री योगीसँग भेटेका हुन् ।

उनीहरुको भेटवार्तालाई लिएर मुख्यमन्त्री योगीको सचिवालय र राजदूत शर्माले ट्वीटमार्फत जानकारी दिएका हुन् । राजदूत शर्माले नेपाल र नेपाली जनताका लागि मुख्यमन्त्री योगीको निरन्तर समर्थन प्रशंसनीय रहेको बताए ।

उनले उत्तरप्रदेशको विकासमा योगीको योगदान सराहनीय रहेको पनि बताए । राजदूत शर्माले ट्वीटरमा भनेका छन्,‘हामीले नेपालको विकास सम्भावना तथा नेपाल र उत्तर प्रदेशबीचको सम्भावित साझेदारीका बारेमा पनि छलफल गर्‍यौं ।’

प्रकाशित : चैत्र १२, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्

द्वन्द्वका काँडाको मात्र हैन फूलको पनि कुरा गर्नुपर्छ : रास्वपा प्रमुख सचेतक परियार

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले द्वन्द्वका कमजोरीलाई मात्रै उजागर गरेर समाजमा शान्ति स्थापना नहुने बताएका छन् । उनले द्वन्द्वकालीन घटनाका उपलब्धिलाई हेरेर अगाडि बढ्नुपर्ने बताएका छन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभाको आइतबारको बैठकमा परियारले द्वन्द्वकालीन घटनाको न्याय निरुपण संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार हुनुपर्ने बताए ।

'शान्ति प्रक्रियाको एउटा अभिन्न अंग हो, संक्रमणकालीन न्याय । संक्रमणकालीन न्याय परिभाषाले पनि विशेष हुन्छ, महत्वपूर्ण हुन्छ । हामीले सामान्य अर्थमा अन्य बेलाको न्याय सम्पादनजस्तो संक्रमणकालीन न्याय व्यवस्था हुँदैन भन्ने हामीलाई लाग्दछ,' उनले भने, 'भविष्यलाई सुनिश्चित गर्न राज्यले इतिहासको सही मूल्यांकन गर्नुपर्छ । हामी रुपान्तरित व्यवस्थामा छौं । यो व्यवस्थाको वैधानिकताको लागि पनि संक्रमणकालीन न्यायलाई टुंग्याउनु छ । तसर्थ जोड दिएर भन्न चाहन्छु, यहाँ द्वन्द्वमात्रै छैन । द्वन्द्वको काँडाहरूको मात्र कुरा गरेर हुँदैन, द्वन्द्वका फूलहरूको पनि कुरा गर्नुपर्छ ।'

द्वन्द्वबाट समाज रुपान्तरण भएको भन्दै प्रमुख सचेतक परियारले त्यसका उपलब्धिको विषयमा लिएर अघि बढ्नुपर्ने बताए । 'द्वन्द्वबाट हामीले समाजलाई रुपान्तरण गरेका छौं । द्वन्द्वको एउटा शाश्वत नियम, प्राज्ञिक नियम के हुन्छ भने त्यो रुपान्तरित हुनुपर्छ । त्यो व्यवस्थापन भन्दा पनि रुपान्तरित हुनुपर्छ,' उनले भने, 'हामी द्वन्द्व रुपान्तरण गरिरहँदा अझ समावेशी नेपाल, संघीय लोकतान्त्रिक नेपाल पाएका छौं, गणतन्त्र नेपाल पाएका छौं । संक्रमणकालीन न्यायलाई राम्रोसँग व्यवस्थापन गरेनौं भने व्यवस्थामाथि प्रश्न उठ्नेछ ।'

संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने परियारको आग्रह थियो । उनले भने, 'यो गम्भीर विषयमा यो वा त्यो नभनीकन, कुनै राजनीतिक विचार र सिद्धान्तमा निश्चित नभइकन, यो हाम्रो राज्यको विकासको क्रममा भोगेको भोगाइ एउटा अनुभव भएकाकाले सबैलाई न्याय सम्पादन गर्नुपर्छ । यो व्यक्ति वा पार्टी विशेषको कुरा होइन ।'

राज्यले संक्रमणकालीन न्याय टुंग्याउन विधिवत बाटो अपनाउनुपर्ने परियारको भनाइ छ ।

प्रकाशित : चैत्र १२, २०७९ १८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×