कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुका माना घ्यू खानेहरू

१०२ वर्षका जहानसिं राई, ९३ वर्षका डण्डीप्रसाद धमला, ९२ वर्षका मकरबहादुर घिमिरे र भैरवबहादुर श्रेष्ठ परिवर्तनशील समयको आरोहअवरोह साक्षी छन् । सन्तुलित खानपान र अम्मलरहित दैनिकी उनीहरूको दीर्घायुको रहस्य छ । 
कुम्भराज राई

ओखलढुंगा — नुन लिन सिरहाको मिर्चैया, गोदार पुग्थे । घरबाट हिँडेको सातौं दिनमा काठमाडौं टेक्थे । २२ पाथी (८४ किलो) को भारी बोक्थे । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा बतासेका ९२ वर्षीय मकरबहादुर घिमिरेले यति कुरा फटाफट सुनाएपछि लामो खुइय लामो सास ताने र भने, ‘पुराना कुराहरू धेरै बिर्सिएँ ।’

सुका माना घ्यू खानेहरू

पाँच भाइ छोरा र दुई छोरीका बाबु, अनि २२ नातिनातिना, १४ पनातिपनातिनाका मियो मकरबहादुर उमेरको उपल्लो बिन्दुमा पनि प्रत्येक दिन बिहान–बेलुकी पारेर खुट्टा तन्काउन घर बाहिर निस्किन्छन् । दिनमा एक/दुई किलोमिटर भए पनि छिचोल्ने उनले भने, ‘रोग यही भन्ने छैन तर अब ज्यान आफैं कमजोर भइसक्यो । बूढो भइयो । पहिलेजस्तो कहाँ हिँड्न, काम गर्न सकिन्छ र ?’

बूढो भएको स्वीकारोक्ति भए पनि उनी थाकेजस्ता देखिन्नन् । दुई वर्षअघि उनी निकै बिरामी परेका थिए । त्यही बिमारले आफ्नो स्मरणशक्ति खाइदिएको उनको बुझाइ छ । यसका अलावा अरू बिमारले उनको शरीरमा घर गरेको छैन । उनी बिहानै उठ्नेबित्तिकै दूध तताउँछन् । दूधसँग चिउरा, रोटी खान्छन् । ११–१२ बजेतिर मात्रै खाना खान्छन् । दाँतचाहिँ ४० वर्ष उमेरभित्रै झरिसकेका थिए । तर, मासुको स्वाद लिन उनले छोडेका छैनन् । अनि खानामा दुई मुठी घ्यू पटक्कै टुट्दैन । पहिले बिँडी पिउँथे । तर त्यस्ता सबै अम्मल छाडेको वर्षौं भइसक्यो ।

नयाँ पुस्ताका निम्ति मकरबहादुरका सबै कुरा कथाजस्तै लाग्छन् । उनले उमेरमा सातवटा भैंसी पालेकादेखि १२–१५ वटा गाईगोरु स्याहारेको बताए । उनको पालामा नेपाली सेनामा म्यादीजस्तै तीन र ६ महिने जागिर खुल्थ्यो । उनले तीनमहिने नेपाली सेनाका जागिर खाए ।

‘बोलेको कुरा एकैछिनमा बिर्सिनुहुन्छ,’ साइँला छोरा हर्कबहादुरले भने, ‘जतिखेर सम्झिएर भन्नुभयो भने सबै थाहा हुन्छ । त्यही कुरा एकछिनपछि सोध्दा बिर्सिसक्नुहुन्छ ।’ २५ पैसा (सुका) माना घ्यू बेचेका घिमिरे बतासे गाउँकै ज्येष्ठ नागरिक हुन् । एक शताब्दी छेउछाउमा पनि स्वस्थ हुनुका पछि बुबाको व्यवस्थित रुटिन जीवन प्रमुख कारण हुन सक्ने कान्छा छोरा हरिबहादुर घिमिरेले बताए । ‘उहाँको सुत्ने, उठ्ने, खाने, आराम गर्ने सबै तालिका छ,’ उनले भने, ‘तालिकाभन्दा हेरफेर केही हुन्न । त्यसैले यो उमेरमा पनि यत्तिको हुनुभएको होला ।’

मकरबहादुरकै भन्दा उमेरको उपल्लो सिढीमा छन, चिशंखुगढी गाउँपालिका–८ माम्खाका जहानसिंह राई । आजभन्दा ८० वर्षअघि सन् १९४३ मा उनी तत्कालीन भारतीय सेनामा भर्ती हुँदा विश्वयुद्ध चलिरहेको थियो । त्यसैले तालिम सक्न नपाउँदै उनी बेलायती सेनाका रूपमा बर्मामा युद्ध लड्न पुगे । १९४५ को सेप्टेम्बरमा विश्वयुद्ध सकियो । गोर्खाली सेनालाई बेलायतले विभिन्न ठाउँमा पल्टन छुट्याइलग्यो । उनी मलायाको पल्टनमा परे । १९५० मा पल्टनबाट नाम काटेर उनी घर फर्किए । भर्तीबाट नाम काटेपछि उनले पेन्सन पाएनन् । पछि विसं.२०५१ सालदेखि च्यारिटी पेन्सन भने पाए ।

जहानसिंह अहिले १०२ पूरा भए । तर, उनलाई देख्नेले उमेर पत्याउँदैनन् । उनका ७३ वर्षका जेठा छोरा देवानसिंह देखेपछि भने बाबुको उमेर नपत्याएर सुखै छैन । जहानसिंहको दैनिकी अहिले पनि फौजीकै जस्तो छ । बिहान सबेरै उठ्छन् । एक गिलास दूध तनतन पार्छन् । त्यसपछि चार कान्लामुनि रहेको पुरानो मूलघर पुग्छन् । चुल्होमा आगो बाल्छन् । कुलपितृ सम्झना गरिने मूलघरको चुल्होमा हरेक दिन बिहान, दिउँसो र बेलुकी आगो बाल्ने उनको नियम छ ।

मूलघरमा आगो बालेर फर्केपछि बिहानको ९ बजेभित्र खाना खाइसक्छन् । खानामा एक मुठी घ्यू अनिवार्य खान्छन् । खाना खाएपछि आराम गर्छन् । छोरा बुहारीले सिरानीमा रम (मदिरा) र बिस्कुट, तातोपानी राख्दिन्छन् । भोक लाग्दा धेरैजसो बिस्कुट र तातोपानी खान्छन् । बेलाबेला चुसुक्क रम पिउँछन् । साँझमा बेलैमा खाना खाएर सुत्छन् । उपचार गर्नैपर्ने, नियमित औषधि खानुपर्ने रोगव्याधि उनको ज्यानमा देखिएको छैन । श्रवणशक्ति चाहिँ थोरै कमजोर छ । तैपनि ठूलो स्वरमा बोलाए उनले सुनिहाल्छन् ।

उमेरले एक शताब्दी नाघेका उनको शारीरिक तन्दुरुस्ती देख्ने जोकोही छक्क पर्छन् । बेलायती सेनाबाट फर्किएपछि केही समय राणाशासकका सेनाको रूपमा काम गर्न गएका जहानसिंह आफैंमा इतिहास भइसके । प्रजातन्त्र आएपछि राणाको फौज छाडेर घरै फर्किर्ए । भोट (तिब्बत) बाट ल्याएको नुन ६ पैसा माना र मधेशबाट ल्याएको नुन ८ पैसा माना खाएको उनलाई याद छ ।

जहानसिंह बडो अनुशासित छन् । चुरोट–बिँडी पिउँदैनन् । नशा लाग्ने गरी मदिरा लिँदैनन् । सबै कुराको नियमितता छ उनमा । ‘अझै हलो जोतेर खेती गरौं, भैंसी पालौंजस्तो लाग्छ,’ उनले स्वर थोरै मधुरो पार्दै भने, ‘तर के गर्नु सक्दिनँ ।’

जहानसिंहलाई यत्तिका उमेर बाँचेकोमा कुनै दिक्दारी छैन । जीवनसँग रमाएकै छन् । अझै ६ बिसा (१२० वर्ष) बाँच्ने रहर छ । ‘६ बिसा बाँचौं भनेको,’ उनले हाँस्दै सुनाए, ‘तर अब बाँच्छु होला । ६ बिसा पुग्नु धेरै पनि त छैन ।’

सिद्धिचरण–१० बेतेनीका डण्डीप्रसाद धमला ९३ वर्षका भए । धमलाका युवा अनुभव सुन्दा अहो π कस्तो समयको जंघार तरेर नेपाली समाज अघि बढेको रहेछ भनेजस्तो हुन्छ । घरमै साधारण लेखपढ गरेका उनी २००६ सालतिर पढ्न भनेर गाउँकै साथी लीलाराम पराजुलीलाई लिएर काठमाडौं पुगेका रहेछन् । ६ दिन पैदल हिँडेर काठमाडौं गए । पढाउने मान्छे र पढ्ने विद्यालय नभेटेपछि त्यसै घर फर्किएका रहेछन् ।

७ वर्षकै उमेरमा बाबुले विवाह गरिदिएपछि उनी गाउँघरकै खेतीपातीमा व्यस्त भएका रहेछन् । ११ बहिनी पछिको दुई भाइ भएकाले उनले खानाकै दुःख भने बेहोरेनन् । किनकि उनको खेतमा दुई सय मुरीसम्म धान फल्थ्यो । गोठमा ४० वटासम्म गाईगोरु थिए, घरमा एकै पटकमा सात वटासम्म लैना भैंसी हुन्थे । गाईभैंसी चराउन लेकमा सोलुखुम्बुको टाप्टिङसम्म लैजान्थे । उनले सुनाए, ‘सबैका आ–आफ्ना खर्क हुन्थे । लेकमा गोठ लैजाने सिजनमा लेकभरि पाँच–सात सय गाईभैंसी हुन्थ्यो ।’

उँबु चौरासतिरका राईहरू उनको गाउँमा खाँडीको कपडा बिक्री गर्न ल्याउँथे । कपडाको मूल्य गरेर सोही मूल्य बराबरको धान, मकै किनेर लैजान्थे । ‘नुन किन्नचाहिँ उदयपुरको अहिलेको कटारीदेखि पारि तावाखोला छेउमा अम्टाही बजारसम्म पुगेको थिएँ,’ उनले भने, ‘त्यतिखेर अहिलेको कटारी बजारको रूपमा थिएन । हामीले मधेशदेखि दालचामल किनेर खाएको थाहा छैन ।’ अहिलेचाहिँ छोराछोरी नातिनातिनाले चामल किनेर खुवाउने गरेको उनले बताए ।

उनले राजनीति पनि गरे प्रधानपञ्च बन्न चुनाव लडे, वडाध्यक्ष, क्षेत्रीय सदस्य बने । बहुदलपछि कम्युनिस्ट राजनीतिमा लागे । समाज सेवाका काम गरे । अझै सामान्य हिँड्डुल गरिरहेकै छन् । बिहानै उठेर मुख धोइसकेपछि पूजापाठ गर्छन् । त्यसपछि एक गिलास दूध पिउँछन् । शाकाहारी उनी बिहानको खाना १० बजेपछि खान्छन् । तर त्यसमा घ्यू चाहिन्छ नै । यत्तिका उमेरमा पनि उनको दाँत झरेको छैन । भुटेको मकै मरङमरङ चपाउँछन् । भन्छन्, ‘अहिलेसम्म औषधि खानुपरेको छैन ।’ उनका १६ नातिनातिना र २७ पनाति पनातिना छन् ।

ओखलढुंगा बजारका ९२ वर्षीय भैरवबहादुर श्रेष्ठको विगत सुन्दा समयको लामो बाटोमा एकै झमटमा यात्रा गरेजस्तो अनुभव हुन्छ । २००५ सालमा मालअड्डामा मासिक नौ रुपैयाँ तलब हुने लेखनदासको जागिर खाएका भैरवले २००७ सालको क्रान्तिताका ओखलढुंगामा कर्मचारी भएकै कारणले निकै दुःख पाएका रहेछन् । मुक्ति सेनाले ओखलढुंगा कब्जा गरेपछि उनी घर छाडेर कैयौं दिन भागेका रहेछन् । राणाशासन हटेर प्रजातन्त्र आएपछि उनको जागिर पनि गएको थियो । २०११ सालमा नेपाल पुलिसमा भर्ना भएका उनले ८ वर्षपछि हवल्दार हुँदा जागिर छाडे । २०२० सालदेखि ७ वर्षसम्म मालअड्डामा बहिदारको नोकरी गरे ।

ओखलढुंगा सदरमुकामकै ज्येष्ठ नागरिकमध्येका भैरवले समयका विभिन्न फलकमा भएका अनेकन राजनीतिक क्रान्ति र परिवर्तनलाई नजिकबाट अनुभव गरेका छन् । २०३० सालमा ओखलढुंगा गाउँ पञ्चायतका प्रधानपञ्च, २०३९ मा क्षेत्रीय सदस्य, २०४४ मा जिविस उपसभापति बनेका उनको स्मरणशक्ति अझै निकै बलियो छ । ओखलढुंगाको इतिहास बताउन सक्ने श्रेष्ठले थाहा पाउँदा एक रुपैयाँ धार्नी खसीको मासु, १० पैसा माना वान प्याकी चामल (भोजपुरको दिङलादेखि ल्याइने चामल), सुका माना कोदो मकै, मोहर माना घ्यू थियो । एक रुपैयाँमा दौरासुरुवाल सिलाउन पुग्ने खाँडीको कपडा किन्न पाइन्थ्यो ।

सदरमुकामको हालको गणेशटोल आसपासमा १७ घर मात्र थियो । हालको रामबजार क्षेत्रमा २२ घरजति थिए । सदरमुकामका नेवार समुदायमा निकै गरिबी थियो । खानै पुग्दैनथ्यो । खेती गर्ने जग्गा जमिन नहुँदा जाँडरक्सी बेचेर जीविका चलाउँथे । पछि सदरमुकाममा हाटबजार लगाउन थालियो । बाटोमा हाट लाग्दा हिँडडुल गर्न असहज भएपछि २०१४ सालमा एक बडाहाकिमले जंगल फडाँनी गर्न लगाए, त्यो जमिनमा गह्रागह्रा बनाउन लगाइयो र सारिएको हाट अझै चल्दै छ ।

२००७ साल चैतमा एभरेस्ट मिडिल स्कुल (हालको सगरमाथा जनता मावि) स्थापना भयो । उनी सोही स्कुलको व्यवस्थापन समितिको सचिव भएका थिए । उनले चाहिँ हालको गणेश टोलमा भएको भाषा पाठशालामा साउँ अक्षरसहित हिसाब जोड, घटाउ, गुणा र भागासम्मको अध्ययन गरेका थिए ।

नौ दशक बिताइसकेका श्रेष्ठ तन्दुरुस्त नै छन् । अहिले उनी बिहानको खानामा थोरै दाल, भात तरकारी खान्छन् । बेलुकी प्रायः अण्डा, फलफूलजस्ता खाना रुचाउँछन् । श्रवणशक्ति केही कमजोर छ तर श्रवणयन्त्र लगाएर मज्जाले गफिन सक्छन् । दिनमा प्रायः नजिकै हिँडडुल गरी छिमेकीहरूसँग गफ गर्छन् । दौतरीका तुलनामा उनी अझै फूर्तिला छन् । ‘आफैंले, आफ्नै पुस्ताले कथाजस्तै लाग्ने जिन्दगी बाँचियो,’ भैरवले सुनाए, ‘आफूलाई भाग्यमानी नै मान्नुपर्ला ।’

प्रकाशित : चैत्र १२, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?