मन्त्रिपरिषद् विस्तार सोमबारसम्म हुने दाबी

कांग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादी र जसपालाई २/२, नागरिक उन्मुक्ति, लोसपा र जनमतलाई १/१ मन्त्रालय बाँड्ने प्रयास, कांग्रेसबाट खड्काले नेतृत्व गर्ने सम्भावना
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यो विषयमा उनले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल पनि गरेका छन् ।

दाहाल र देउवाबीच सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा समझदारी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दाबी गरे । ‘सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ, दलहरूबीच मन्त्रालय भागबन्डामा करिब–करिब समझदारीजस्तै छ,’ उनले भने, ‘आकांक्षीहरू धेरै भएकाले सबैभन्दा बढी मन्त्रालय लिऊँ भन्ने सबै दललाई हुन्छ तर त्यसैका कारण ढिला हुने अवस्था छैन ।’

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पनि शनिबार ललितपुरमा आयोजित चेम्बर अफ कमर्सको कार्यक्रममा दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे ।

कांग्रेस पदाधिकारी बैठकले भने साना दलले मन्त्रालय संख्या धेरै माग गर्दा सरकार विस्तारमा ढिलाइ हुन पुगेको निष्कर्ष निकालेको थियो । कांग्रेस उपसभापति खड्काले यसअघि एमालेले लिएको भन्दा कम मन्त्रालय हुन नहुने अडान राखिएको बैठकमा जानकारी गराएका थिए । एमाले ८ मन्त्रालय लिएर सरकारमा गएको थियो । एमालेले लिएकै मन्त्रालय कांग्रेसले पाउने मोटामोटी समझदारी छ ।

तत्कालीन मन्त्रिपरिषद्मा एमालेले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, कृषि तथा पशुपन्छी, उद्योग वाणिज्य तथा आपूर्ति, भूमिसुधार सहकारी तथा गरिबी निवारण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिएको थियो । ‘एक–दुईवटा मन्त्रालय यताउति हुन सक्छन् तर करिब–करिब यिनै मन्त्रालय कांग्रेसले लिने सम्भावना छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्री र हाम्रा पार्टीका सभापतिबीच यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने गरी कुराकानी भइरहेका छन् ।’

प्रधानमन्त्री दाहालले स्वतन्त्र सांसदमध्येबाट एक जनालाई मन्त्रिपरिषद्मा सहभागी गराउन चाहेका छन् । माओवादीबाट प्रधानमन्त्रीबाहेक अहिले चार मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसले ८ र माओवादीले थप एक मन्त्रालय लिन खोजिरहेका छन् । एकीकृत समाजवादी र जसपाले ३/३ मन्त्रालय दाबी गरेका छन् । नागरिक उन्मुक्ति, लोसपा र जनमत पार्टीलाई एक/एक मन्त्रालय दिने तयारी छ । जनमतबाट अब्दुल खान खानेपानीमन्त्री कायमै छन् ।

संविधानमा प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाउने व्यवस्था छ । मन्त्रालयको संख्या २१ छ, बढीमा तीन राज्यमन्त्री राख्न सकिन्छ । गठबन्धन दलबीच कांग्रेसलाई ८, माओवादीलाई ५, एकीकृत समाजवादीलाई २, जसपालाई २, नागरिक उन्मुक्ति, लोसपा र जनमतलाई १/१ मन्त्रालय बाँड्ने प्रयास छ तर एकीकृत समाजवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ । स्वतन्त्र सांसदमध्येबाट एक जनालाई एक मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री छन् ।

माओवादीबाट उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी छन् । माओवादीले गृह मन्त्रालय लिँदा श्रेष्ठले सम्हालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अर्को दलले पाउने सम्भावना छ । श्रेष्ठलाई गृह मन्त्रालयमै स्थानान्तरण गर्ने सम्भावना रहेको माओवादीका एक नेता बताउँछन् । गृहमा शक्ति बस्नेतको पनि दाबी छ ।

कांग्रेस उपसभापति खड्काले पनि उपप्रधानमन्त्रीसहित पार्टीबाट सरकारको नेतृत्व गर्न खोजेकाले गृह मन्त्रालय लिन कसरत गरिरहेका छन् । उनको प्राथमिकता गृहमा छ । देउवानिकट स्रोतका अनुसार खड्काले पार्टीबाट मन्त्रीहरूको नेतृत्व गरेर जाने सम्भावना रहे पनि मन्त्रालयबारे यकिन नभएको बुझिएको छ । देउवा नेतृत्वको तत्कालीन सरकारमा माओवादीले अर्थ मन्त्रालय लिँदा धेरै बदनामी भएकाले यस पटक दाहाल गृह राखेर कांग्रेसलाई अर्थ मन्त्रालय दिने मनस्थितिमा छन् । त्यसमाथि अहिले आर्थिक अवस्था चुनौतीपूर्ण रहेकाले कांग्रेसलाई अर्थ मन्त्रालय दिँदा सहज हुने बुझाइ पनि उनमा देखिन्छ । कांग्रेसले गृह नपाए खड्का अर्थ मन्त्रालय लिएरै सरकारमा जान चाहेका छन् तर अर्थमा देउवाको प्राथमिकता प्रवक्ता प्रकाशशरण महतप्रति छ ।

कांग्रेस महामन्त्री गगन थापाले मन्त्रालयको टुंगो नलागेकाले कांग्रेसबाट कसले नेतृत्व गर्ने र को–को मन्त्री हुने भन्नेबारेमा छलफल नभएको बताए । मन्त्रालयमा समझदारी भएपछि पार्टीबाट मन्त्री छनोटमा विलम्ब नहुने उनले बताए । ‘अहिलेसम्म कांग्रेसले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन, मन्त्रालयमा समझदारी बन्नासाथ पार्टीभित्र मन्त्री छनोट गर्ने काम भइहाल्छ,’ थापाले भने ।

कांग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समूहलाई ३ मन्त्रालय दिनुपर्ने दाबी पार्टीमा शेखर–गगन समूहको छ तर देउवाले विभिन्न गुटको व्यवस्थापन चुनौतीपूर्ण हुने देखाएर दुई मन्त्रालय मात्रै दिन खोजिरहेका छन् । देउवाले आफ्नो समूहबाट

खड्का, महत, एनपी सावद, रमेश रिजाल र सीता गुरुङलाई मन्त्री बनाउन चाहेका छन् । किशोरसिंह राठोर र रामहरि खतिवडामध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने दबाब पनि देउवा समूहमा छ । शेखर–गगन पक्षमा उपसभापति धनराज गुरुङ, डिकबहादुर लिम्बू, प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम चर्चामा छ । पौडेललाई मन्त्री बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जोड छ ।

पहिला जस्तो सामान्य अवस्था नभएकाले मन्त्री पठाउँदा आमनागरिकको अपेक्षा र जनमतलाई समेत ध्यान दिनुपर्ने सुझाव कांग्रेस नेताहरूले नेतृत्वलाई दिएका छन् । पदाधिकारी बैठकमै महामन्त्री शर्माले कसैले पटकपटक अवसर लिइराख्ने र कसैले एक पटक पनि मन्त्री हुन नपाउने अवस्था सिर्जना गर्न नहुने बताउँदै प्रभावकारी काम देखाउन सक्नेलाई सरकारमा पठाउनुपर्ने सुझाव दिएका थिए । थापा र शर्माले मन्त्री नहुने बताउँदै आएका छन् । देशको अर्थतन्त्र खराब स्थितिमा रहेकाले त्यसमा नेतृत्व गर्ने व्यक्ति छान्दा संवेदनशील हुनसमेत शर्माले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

प्रवक्ता महतले मन्त्रालयको भागबन्डा आइतबारसम्म टुंगिएमा सोमबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताए । ‘आइतबारसम्म मन्त्रालयको भागबन्डामा समझदारी भयो भने सोमबार पार्टीभित्र छलफल गरेर मन्त्री छनोट गर्ने काम अघि बढ्छ,’ उनले भने, ‘अहिलेको परिस्थिति सबै राजनीतिक दलका नेताले बुझेकाले सरकार विस्तारमा अब धेरै ढिलाइ हुन्न ।’

प्रकाशित : चैत्र १२, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशको निराशाजनक वित्तीय स्थिति

सातवटा प्रदेशको पाँच वर्षको बजेट नेपाल सरकारको आर्थिक वर्ष ०७५–७६ को बजेटभन्दा पनि कम छ । यस्तो कमजोर र निराशाजनक वित्तीय अवस्थाबारे राजनीतिक तहमा समीक्षा हुन जरुरी छ ।
खिमलाल देवकोटा

प्रदेश तह सञ्चालनमा आएको पाँच वर्ष पूरा भयो । यसबीचमा प्रदेशका बारेमा धेरै कोणबाट बहसहरू भएका छन् । यो आलेख प्रदेशको वित्तीय स्थितिका विषयमा केन्द्रित छ । वित्तीय स्थितिको विश्लेषण गर्दा प्रदेशका बजेटलाई आधार लिइएको छ । 

प्रदेश सरकारको गठन २०७४ माघ/फागुनमा हुँदा आर्थिक वर्ष (२०७४–७५) सकिन चार महिना बाँकी थियो । संविधान जारी भए तापनि मधेश लगायतका स्थानमा संविधानप्रति असन्तोष थियो । निर्वाचन हुने/नहुने अन्योल थियो । अन्योलकै बीच निर्वाचन भयो । प्रदेश सरकार गठन भए । प्रतिप्रदेश १ अर्ब २ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान बाँडफाँटका लागि नेपाल सरकारले बजेटमा उल्लेख गरेको थियो । त्यही अनुदानलाई कुल वित्तीय स्रोतका रूपमा अनुमान गरेर पहिलो पटक आर्थिक वर्ष ०७४–७५ का लागि प्रदेशले बजेट ल्याए । सातवटा प्रदेशको कुल बजेट ७ अर्ब १४ करोड रुपैयाँ थियो ।

पहिलो पटक बजेट ल्याउँदा प्रदेशमा एकाध कर्मचारी मात्र थिए । संस्थागत संरचना बनेको थिएन । कानुन निर्माणको त कुरै नगरौं । बजेट कसरी बनाउने, खर्च प्रणाली कस्तो हुन्छ, कानुन कसरी बनाइन्छ ? यस्ता विषयमा खासै जानकारी थिएन । प्रदेशको खर्च गर्ने संयन्त्रसमेत तयार भएको थिएन । सातवटा प्रदेशले ७ अर्ब १४ करोडको बजेट ल्याउँदा खर्च जम्मा २ अर्ब ५२ करोड (३५.२९ प्रतिशत) रुपैयाँ मात्र भएको थियो । त्यसबेला सबभन्दा धेरै खर्च आजको कोशी प्रदेशले ६५ करोड २८ लाख गरेको थियो भने सबभन्दा कम लुम्बिनी प्रदेशले १९ करोड ८ लाख रुपैयाँ गरेको थियो । प्रदेशहरूले पहिलो पूर्ण बजेट आर्थिक वर्ष ०७५–७६ का लागि ल्याए । त्यस बेला सातै प्रदेशको बजेटको आकार २ खर्ब ८ अर्ब रुपैयाँ थियो । सवभन्दा धेरै कोशी प्रदेशले ३५ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको थियो भने सबभन्दा कम सुदूरपश्चिमले २५ अर्ब ६० करोड रुपैयाँको ।

प्रदेशले पूर्ण बजेट त ल्याए, तर काम गर्ने संगठन, संरचनाहरू तयार भइसकेका थिएनन् । नीतिगत निर्णय गर्ने मन्त्रालयहरू मात्र रहेको अवस्थामा २०७५ माघ–फागुनतिर मात्र निर्देशनालयहरू र जिल्लागत संरचनाहरू तयार भए । समायोजनपश्चात् केही कर्मचारी थपिए । कर्मचारी समायोजनमा प्रदेशलाई ठगियो/हेपियो । २२ हजार कर्मचारी आवश्यक पर्ने आकलन गरिए पनि समायोजन भने १३ हजार मात्र गरियो । समायोजन भएका कतिपय कर्मचारी गएनन्, कति त अदालतमा मुद्दा हालेर फर्किए । कर्मचारीहरूको स्थायित्व रहेन, छिनछिनमा सरुवा भइरहे । यो समस्या अहिले पनि कायम छ । प्रदेशले सरकारको अनुभूति नै गर्न पाएको छैन । प्रहरी समायोजन पनि गरिएको छैन ।

७ अर्बबाट सुरु. भएको प्रदेशको बजेट–आकार आर्थिक वर्ष ०७९–८० मा आइपुग्दा ३ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । ०७५–७६ देखि ०७९/८० सम्मका सातै प्रदेशको बजेटको समीक्षा गर्ने हो भने जम्मा १२ खर्ब ९९ अर्ब छ (तालिका १) । सातवटा प्रदेशको पाँच वर्षको बजेट नेपाल सरकारको आर्थिक वर्ष ०७५–७६ को बजेटभन्दा पनि कम छ । आर्थिक वर्ष ०७५–७६ मा नेपाल सरकारको बजेट १३ खर्ब १५ अर्बको थियो । अझ नेपाल सरकारको चालु आर्थिक वर्ष (१७ खर्ब ९३ अर्ब) सँग तुलना गर्ने हो भने त यो निकै नै कम हो । यो भनेको प्रदेशको कमजोर र निराशाजनक वित्तीय अवस्था हो । कमजोर वित्तीय अवस्थाका बारेमा राजनीतिक तहका बीचमा गम्भीर रूपमा समीक्षा हुन जरुरी छ । संविधानप्रदत्त प्रदेशको न्यून राजस्व अधिकार लगायतका विषयमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छ ।

कर्मचारी, कानुनी संरचना लगायतका कारण अपेक्षित रूपमा प्रदेशले खर्च गर्न सकेका छैनन । तर पनि समग्रतामा आर्थिक वर्ष ०७८–७९ सम्ममा प्रदेशको खर्च औसत ६० प्रतिशत जति छ । यसरी खर्च गर्न नसक्नुको दोष नेपाल सरकारलाई पनि जान्छ । प्रदेशका लागि आवश्यक कर्मचारी, कानुनी संरचना लगायतका पूर्वाधारहरू निर्माणको अभिभावकत्व निर्वाह गर्ने काम नेपाल सरकारका हो । खर्चकै कुरा गर्दा, नेपाल सरकारको पनि उत्साहजनक छैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार नेपाल सरकारको आर्थिक वर्ष ०७८–७९ को पुँजीगत खर्च ५७.२३ प्रतिशत मात्र छ ।

संविधानले प्रदेशलाई विकासको वाहकका रूपमा अंगीकार गरेकाले वित्तीय स्रोत पनि त्यही रूपमा हुनुपर्दछ । तर दुर्भाग्य, वित्तीय स्रोतको महत्त्वपूर्ण कडीका रूपमा चित्रित आन्तरिक स्रोतको दायरा निकै कमजोर छ । संविधानतः राजस्व अधिकार केन्द्रीकृत छ । केन्द्रीकृत राजस्वलाई विकेन्द्रीकृत गर्ने माध्यम वित्तीय हस्तान्तरण हो । वित्तीय हस्तान्तरणका माध्यमबाट स्रोत जुटाउने प्रदेशको संवैधानिक अधिकार हो । यही माध्यमबाट राजस्वलाई निक्षेपण गर्ने संविधानको मूल भावना पनि हो । कर राजस्वको पाटोमा प्रदेशलाई अवमूल्यन त गरियो–गरियो, वित्तीय हस्तान्तरणमा पनि हेपिएको छ । जस्तो चालु आर्थिक वर्षमा प्रदेशले नेपाल सरकारबाट कुल १ खर्ब २९ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण प्राप्त गरेका छन, जुन संघको कुल बजेटको ७.२२ प्रतिशत हो । वित्तीय हस्तान्तरणमा समानीकरण अनुदानको हिस्सा जम्मा ३.४२ प्रतिशत छ । वित्तीय हस्तान्तरणमा समानीकरणको हिस्सा धेरै हुनुपर्छ भन्ने अनुदान वितरणको सामान्य सिद्धान्त हो । यो सिद्धान्तको आत्मसात् गरिएको छैन ।

प्रदेशको कुल वित्तीय स्रोत (०७९–८० को बजेट) मा विभिन्न क्षेत्रका प्रस्तावित योगदान तालिका २ मा छ, जसमा उल्लिखित बजेटका स्रोतहरू सम्बन्धित प्रदेशका बजेट पुस्तिकाबाट उद्धृत गरिएका हुन् । वित्तीय हस्तान्तरण सम्बन्धी केही प्रदेशका विवरण र नेपाल सरकार अर्थ मन्त्रालयको विवरणका बीचमा तादात्म्यता देखिँदैन । कतिपय प्रदेशले वैदेशिक सहयोग लगायतको विवरणलाई पनि अनुदानमा समावेश गरेका छन् । कुल बजेटबाट अनुदान, राजस्व बाँडफाँट, आन्तरिक ऋण र नगद मौज्दातको विवरणलाई अलग्याउँदा बाँकी विवरणलाई प्रदेशको आन्तरिक स्रोतको रूपमा अनुमान गरिएको छ । आन्तरिक स्रोत भनेको प्रदेशको कर राजस्वको विवरण हो भनेर बुझ्न जरुरी छ । आन्तरिक स्रोतमा प्राकृतिक साधन र स्रोतको रोयल्टी पनि समावेश छ ।

तालिका २ अनुसार प्रदेशको कुल बजेटमा अनुदानको अंश ४२.९० प्रतिशत छ । आर्थिक वर्ष ०७६–७७ मा यसको हिस्सा ४५.२२ प्रतिशत थियो । यस अनुदानमा वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक कोष समावेश छन् । अनुदानमा सबभन्दा धेरै बागमती प्रदेशको छ भने सबभन्दा कम गण्डकीको । वित्तीय समानीकरण अनुदानको बाँडफाँट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुने गर्दछ । अन्य अनुदानको बाँडफाँटमा आयोगको खासै भूमिका छैन । संविधानतः सबै खालका वित्तीय हस्तान्तरणको विवरण आयोगको सिफारिस बमोजिम हुनुपर्ने हो । तर आयोगको अधिकारलाई नै खुम्च्याउने खालका गतिविधिहरू भएका छन् । बनेका कानुनहरू पनि त्यस्तै छन् ।

प्रदेशको कुल बजेटमा राजस्व बाँडफाँटको अंश २४.५ प्रतिशत छ । मूल्यअभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तःशुल्क रकमको १५/१५ प्रतिशत प्रदेश र स्थानीय तहले प्राप्त गर्ने कानुनी व्यवस्था छ । बाँडफाँटको आधार र ढाँचा आयोगले निर्धारण गरे अनुसार हुन्छ । आव ०७६/७७ मा यसको हिस्सा २४.८० प्रतिशत थियो । राजस्व बाँडफाँट सबभन्दा धेरै कोशी प्रदेशको छ भने सबभन्दा कम कर्णालीको । कतिपयले राजस्व बाँडफाँटलाई वित्तीय हस्तान्तरणको पाटोको रूपमा पनि लिने गरेका छन । यसरी हेर्ने हो भने प्रदेशको कुल बजेटमा वित्तीय हस्तान्तरणको हिस्सा ६७ प्रतिशत हुन्छ ।

मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशले न्यून बजेट बनाएका छन । मधेश प्रदेशले १ अर्ब ८२ करोड, गण्डकी प्रदेशले २ अर्ब र लुम्बिनी प्रदेशले १ करोडले न्यून हुने गरी घाटा बजेट बनाएका छन् । न्यून बजेट आन्तरिक ऋणबाट पूर्ति गर्ने सोच प्रदेशको छ । समग्रतामा प्रदेशको कुल बजेटमा आन्तरिक ऋणको भार १.६ प्रतिशत छ । आर्थिक वर्ष ०७६—७७ मा यसको हिस्सा १.५५ प्रतिशत थियो । प्रायः हरेक वर्ष प्रदेशले आन्तरिक ऋणको विवरण बजेटमा उल्लेख गरे तापनि अहिलेसम्म आन्तरिक ऋण लिएका छैनन् ।

प्रदेशको कुल बजेटमा नगद मौज्दातको अंश १५.६ प्रतिशत छ । नगद मौज्दात भनेको अघिल्लो आर्थिक वर्ष खर्च गर्न नसकेर बचेको रकम हो । सबभन्दा धेरै नगद मौज्दात बागमती प्रदेशको १५ अर्ब ६२ करोड रुपैयाँ छ, जुन उसको कुल बजेटको २२ प्रतिशत हो । बजेटमा नगद मौज्दातको अंश अत्यधिक हुनुलाई राम्रो मानिँदैन । तर आर्थिक वर्ष ०७६–७७ सँग तुलना गर्दा यसको हिस्सा घटेको देखिन्छ, त्यसबेला यसको अंश १७.१७ प्रतिशत थियो ।

प्रदेशको कुल बजेटमा आन्तरिक स्रोतको अंश जम्मा १५.५ प्रतिशत छ, जुन ०७८–७९ मा १७.८७, ०७७–७८ मा १४.४७ र ०७६–७७ मा ११.२४ प्रतिशत थियो । ०७६/७७ सँग तुलना गर्दा आन्तरिक आयको हिस्सा राम्रो देखिन्छ । तर पनि आन्तरिक आय बढोत्तरीमा प्रदेशले विशेष ध्यान दिन जरुरी छ । प्रदेशहरूले आफ्ना न्यून आन्तरिक स्रोतका आधारका दायराहरू फराकिलो पार्नुपर्छ ।

आन्तरिक आय सबभन्दा राम्रो बागमतीको छ । कर्णालीको आन्तरिक आय पौने अर्बभन्दा कम अर्थात् जम्मा ७३ करोडको मात्र प्रस्तावित छ । सुदूरपश्चिमको अवस्था पनि राम्रो देखिँदैन । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको अंश एकतिहाइभन्दा धेरै छ । भन्सारबाहेक मुलुकको कुल राजस्वमा ८० प्रतिशत संकलन यसै प्रदेशबाट हुन्छ । प्रदेशको राजस्व दायरामा अन्य प्रदेशको तुलनामा यसको प्रशस्तै छ । राजधानी प्रदेशका रूपमा परिचित र प्रशस्तै आर्थिक क्रियाकलाप हुने बागमतीको आन्तरिक स्रोतको अंश पनि न्यून नै छ । मधेश प्रदेशमा पनि आन्तरिक स्रोत परिचालनका प्रशस्तै सम्भावना छन, तापनि गण्डकी प्रदेशको भन्दा पनि न्यून हुनु दुर्भाग्य हो ।

प्रदेशको आन्तरिक स्रोतमा सबभन्दा धेरै अंश सवारीसाधन कर र घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त शुल्कको छ । मनोरञ्जन तथा विज्ञापन कर, दण्ड जरिवाना, सेवा तथा वस्तु बिक्रीबाट प्राप्त आय, पर्यटन शुल्क, कृषिसामग्री बिक्रीबाट प्राप्त आय लगायतका क्षेत्रबाट प्रदेशले आन्तरिक स्रोत संकलन गर्न सक्छन् । प्रदेश तथा स्थानीय तहको आन्तरिक स्रोतको दायरा लगभग उस्तै भएकाले यी निकायका बीचमा घनीभूत सम्वन्ध हुन जरुरी छ ।

यसरी प्रदेशको वित्तीय अवस्था निराशाजनक भए पनि उपलब्ध स्रोतहरू परिचालनमा प्रदेशले विशेष ध्यान दिन जरुरी छ । आर्थिक क्रियाकलापको बढोत्तरीसँगै रोजगारी र आन्तरिक कर राजस्वको वृद्धि हुने अनुमानलाई आत्मसात गरी काम गर्न त्यत्तिकै आवश्यक छ । प्रदेशमा लगानीका सम्भाव्य क्षेत्रहरूको खोजी गर्नु जरुरी छ । निजी क्षेत्र, सहकारी क्षेत्र र गैरसकारी क्षेत्र लगायतका लागि पनि काम गर्ने वातावरण निर्माणमा लाग्न आवश्यक छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×