मन्त्रिपरिषद् विस्तार र संसद्को प्रभावकारिताबारे माओवादी पदाधिकारी बैठकमा छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्र पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तार र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगो लगाउने विषयमा छलफल भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पदाधिकारी बैठकमा संसद्लाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार र पार्टीलाई अगाडि बढाउने विषयमा छलफल भएको हो । 

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको बताए । उनले सत्तारुढ गठबन्धनमा सहभागी राजनीतिक दलहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफल गरेर मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पुर्‍याउनेबारे छलफल भएको हो ।

'पदाधिकारी बैठकमा मन्त्रिपरषद् विस्तार बढीमा पर्सि (सोमबार)सम्म गर्ने भन्ने छ । मन्त्रिपरिषद् विस्तारको काम अल्झिएको छैन । प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरूले एक्लाएक्लै छलफल गरेर प्रस्ताव तयार गर्न भन्नुभएको थियो । प्रस्ताव तयार भएको र आइतबार वा सोमबार बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुन्छ,' उनले भने ।

पदाधिकारी बैठकमा संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा पनि छलफल भएको पौडेलले बताए । 'संसद्लाई सुचारु गर्ने बारेमा छलफल भयो । संसद्ला‌ई प्रभाकारी रूपमा कसरी अगाडि लैजाने भन्ने विषय थियो । गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन टुंगो लगाउनेबारे छलफल भयो,' उनको भनाइ थियो ।

त्यस्तै, सरकारका कामसँग पार्टीलाई जोड्ने विषयमा पनि छलफल भएको पौडेलको भनाइ थियो । 'सरकार र पार्टीलाई कसरी जोड्ने भन्ने बारेमा पनि कुरा भयो । गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरू पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने छलफल भयो,' उनले भने ।

प्रदेशका सरकारहरूमा आलोपालो गर्ने तथा संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढ्नेबारेमा माओवादीमा छलफल भएको हो ।

प्रकाशित : चैत्र ११, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री र सभापतिले अर्थमन्त्री बन भन्नुभएको छैन : थापा

अमृता अनमोल

बुटवल — कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीको जिम्मेवारी लिन नभनेको बताएका छन् । प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री दाहाल र पार्टी सभापति देउवाले अर्थमन्त्रीको जिम्मेवारी लिन भनेको तर आफूले नमानेको जस्तो सन्देश गएको भन्दै दुवैबाट त्यस्तो प्रस्ताव नआएको बताएका हुन् । 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस पार्टी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा थापाले आफ्नो प्राथमिकता सरकारमा जाने भन्दा पनि पार्टीलाई बलियो बनाउने रहेको बताए । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको बेला कांग्रेस महामन्त्री थापाले आफूलाई अर्थमन्त्रीको प्रस्ताव आइनसकेको बताएका हुन् । उनले यसअघि मन्त्री नबन्ने अभिव्यक्ति दिएका थिए । बुटवलमा आयोजित कार्यक्रममा थापाले मन्त्री बन्नेबारे भने, 'मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले बन्न भन्नुभएको हैन । मलाई कसैले केही भनेको छैन । भनेको तर भन्दाभन्दै पनि नमानेको जस्तो सन्देश गएको छ ।' आफ्नो चर्चा अर्थमन्त्रीका रूपमा भइरहेको बेला आफू मन्त्रिपरिषद्मा सहभागी नहुने थापाले अभिव्यक्ति दिएका हुन् ।

थापाले आफूलाई आजसम्म कसैले केही दिएर नभई लडेर उपलब्धि र पद प्राप्त गरेको पनि बताए । उनले पार्टीभित्र संघर्ष गरेर नै पार्टी महामन्त्रीसम्म पुगेको उनको भनाइ थियो । 'आजसम्म मलाई कसैले केही दिएको छैन, मैले जे पाएको छु लडेर पाएको छु ।'

आफ्नो प्राथमिकता कांग्रेसलाई स्थानीय तहबाट नै बलियो बनाउने र २०८४ को चुनावमा कसैसँग गठबन्धन गर्न नहुने अवस्था ल्याउने थापाले बताए । अहिले जनतामा असन्तुष्टी र छटपटी रहेको बताउँदै कांग्रेस त्यसलाई सम्बोधन हुने गरी सरकारमा जानुपर्ने पनि उनको भनाइ थियो । ‘सरकारले जनतालाई राहत महसुस गराउनुपर्छ । अहिलेभन्दा भोलिको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : चैत्र ११, २०७९ १७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×