रूपान्तरणको अभियान दूरदराजमा पुर्‍याउन आवश्यक : प्रधानमन्त्री दाहाल

रासस

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । ‘लायन्स क्लब डिष्ट्रिक्ट–३२५ जे’को महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक संघ संस्थाले ग्रामीण क्षेत्रमा पुगेर सेवा दिनुपर्ने उल्लेख गरे । 

प्रधानमन्त्री दाहालले भने, 'सहरकेन्द्रित शैक्षिक युवामा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति रूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउनसक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशीलगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीहरुको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ ।'

सो अवसरमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौती छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताए ।

सन् १९१७ मा मेल्भिन जोन्सले स्थापना गर्नुभएको लायन्स क्लब अन्तर्राष्ट्रियको प्रभाव विश्वव्यापी छ । नेपालमा सन् १९७१ मा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगर स्थापना भएको पाइन्छ । त्यही ऐतिहासिक पृष्ठभूमिको जगमा उभिएर नेपालमा लायन्स क्लबले सामाजिक क्षेत्रमा विविध गतिविधि गर्दै आएको छ । हाल नेपालमा लायन्सका १५ डिस्ट्रिक्ट र ५० हजारभन्दा बढी सदस्य छन् । यस महाधिवेशनले सामाजिक सेवाका क्षेत्रमा आफूलाई थप परिस्कृत र परिमार्जित गर्दै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उनले भने, 'राजनीतिक एवं शैक्षिकरूपले चेतनशील र जागरूक युवाको विशेष सक्रियतामा लायन्स क्लबले देशभरि विभिन्न सामाजिक एवम् मानवीय कार्यको नेतृत्व गरिरहेको छ । खासगरी कोभिड–१९ महामारी, महाभूकम्पजस्ता राष्ट्रिय बिपत्तिमा लायन्सले आफूलाई अग्रमोर्चामा उभ्याउँदै सामाजिक जिम्मेवारी पूरा गरिरहेको छ ।'

देशको विकास र समृद्धिको आकांक्षा राख्ने युवाका निम्ति प्रेरणाको विषय मात्र नभएर देश निर्माणको अग्रमोर्चामा अग्रसर राजनीतिकर्मीका लागि समेत लायन्स गौरवको विषय भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । उनले भने, 'लोकतान्त्रिक राज्यप्रणालीमा राज्य र नागरिकको बलियो सहकार्यका आधारमा नै समाज सेवा र सामाजिक रूपान्तरणका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्न सकिन्छ । राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको त्यस्तो आधारस्तम्भ हो ।' उनले राज्यप्रति नागरिकको अपनत्वबोध गराउने र सामाजिक आन्दोलनलाई राज्यको नीति निर्माणसँग जोड्न सफल हुने बताए ।

आजको विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यताअनुरूप यस्ता क्लबले आफ्नो कार्यक्षेत्र र दायरा थप फराकिलो बनाउन आवश्यक रहेकामा प्रधानमन्त्री दाहालले जोड दिए । सामाजिक जीवनमा राष्ट्रिय छवि र प्रतिष्ठा हासिल गरेको क्लबको महाधिवेशनले लायन वर्ष २०२३/२४ का लागि क्लबको नीतिगत परिस्करण र नयाँ नीति तर्जुमाका साथै कुशल नेतृत्व चयनमा थप सफलता प्राप्त गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

प्रकाशित : चैत्र ११, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

देशको आर्थिक अवस्था नाजुक मात्र हैन, संकटपूर्ण छ : पूर्वअर्थमन्त्री पौडेल

अमृता अनमोल

बुटवल — पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था नाजुक मात्र नभएर संकटपूर्ण अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले मुलुकको आर्थिक संकट समाधान गर्नका लागि दलहरुले साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

शनिबार बुटवलमा आयोजित पश्चिम नेपाल बस व्यवसायी प्रालिको साधारणसभामा पूर्वअर्थमन्त्री पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताए ।

‘राजश्व संकलन स्वात्तै घटेको छ । अहिलेको राजश्वले साधारण खर्चसमेत धान्न सक्दैन,’ उनले भने । पौडेलले २०२८ सालमा जस्तै यसपटक पनि राजश्व संकलनको अवस्था निराशाजनक अवस्थामा रहेको जनाए ।

एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यस्तो बेलामा दलहरु पक्षविपक्षमा बाँडिएर सत्ता ढलाउने खेलमा लाग्नु भन्दा देशको आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने बताए । ‘जिम्मेवार राजनीतिक दलहरु नागरिकलाई साथमा लिएर आर्थिक अवस्था सुधार्न लाग्नुपर्छ,’ उनले भने ।

प्रकाशित : चैत्र ११, २०७९ १६:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×