

काठमाडौँ — नेपालमा पछिल्लो दस वर्षमा परिवारको औसत आकार घट्दो रहेको देखिएको छ भने परिवार संख्या बढेको छ । यो दशकमा परिवार संख्या करिब २३ प्रतिशतले वृद्धि भएको छ । २०६८ को जनगणनाअनुसार नेपालमा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ थियो ।


तर यो संख्या २०७८ मा आइपुग्दा ६६ लाख ६६ हजार ९३७ पुगेको छ । जुन करिब २३ प्रतिशतले बढी हो । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेको छ ।
तर यही अवधिमा परिवारको आकार भने घट्दो छ । हाल औसतमा एउटा प्ररिवारमा ४ देखि ५ जना रहेको पाइएको छ ।
शुक्रबार सार्वजनिक भएको जनगणनाको प्रतिवेदनअनुसार औसत परिवार संख्या ४.३७ जना छ । जुन २०६८ को गणनामा ४.८८ थियो ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) तथा गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ ।
प्रकाशित : चैत्र १०, २०७९ १३:०४