कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वातावरणीय मापदण्ड स्वअनुगमनमा बेवास्ता

काठमाडौं — वातावरणीय मापदण्ड पालनाको सम्बन्धमा धेरैजसो उद्योग, प्रतिष्ठान एवं आयोजनाले स्वअनुगमन प्रतिवेदन नबनाउने गरेको पाइएको छ । वातावरण संरक्षण नियमावली २०७७ ले वातावरणमा परेको प्रभावको विषयमा स्वअुनगमन प्रतिवेदन बनाउनुपर्ने उल्लेख छ ।

वातावरणीय मापदण्ड स्वअनुगमनमा बेवास्ता

उक्त नियमवालीको दफा ४५ मा प्रस्तावको निर्माण तथा सञ्चालन गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावका विषयमा हरेक ६/६ महिनामा स्वअनुगमन प्रतिवेदन विभागमा पेस गर्नुपर्ने उल्लेख छ ।

वातावरण विभागले उद्योग, प्रतिष्ठान एवं आयोजनाहरूले स्वअनुगमन प्रतिवेदन नबुझाएको भन्दै सूचना निकालेको छ । विभागले ध्यानाकर्षण भएको जनाउँदै नियमावलीमा भएको व्यवस्थाबमोजिम प्रतिवेदन तयार गरेर बुझाउन भनेको हो । वातावरण संरक्षण ऐन २०७६ को दफा १५ ले विभागलाई वातावरणीय मापदण्ड पालनाको सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्ने अधिकार दिएको छ ।

विभागका प्रवक्ता शंकर पौडेलले स्वअनुगमान प्रतिवेदन धेरैजसो उद्योग तथा आयोजनाले नबुझाएपछि पहिलो चरणमा ध्यानाकर्षण गराइएको बताए । ‘ऐनमा भएको व्यवस्था धेरैले प्रतिवेदन बुझाएको पाइएन, नगरिरहेका भएकाले सबैलाई सूचना निकालेर प्रतिवेदन बुझाउन भनिएको हो,’ पौडेलले भने ।

पछिल्लो समय पोखरा विमानस्थल आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदनसँग सम्बन्धित विषयहरू आउने गरेका छन् । प्रतिवेदनमा उल्लेख भएबमोजिम समस्या निराकरणका लागि गर्नुपर्ने भनिएका कुरा कार्यान्वयन नभएको वातावरणविदले बताएका छन् । वातावरण इन्जिनियर निरन्जन श्रेष्ठ भन्छन्, ‘पोखरा विमानस्थलनजिकै विमानमा चरा ठोक्किएका विषय आउने गरेका छन् तर चरा ठोक्किने विषय ईआईए रिपोर्टमा उल्लेख भएअनुसार समाधानका लागि दिएको सुझावको अवस्था के छ भनेर प्रतिवेदन निर्माण भएको छैन ।’

यसैबीच वातावरण क्षेत्रमा क्रियाशिल ३ वटा संस्थाले वातावरण विभागको विज्ञप्तिलाई स्वागत गर्दै अनुगमन गर्ने व्यक्ति वातावरण निरीक्षक/अधिकृत सरहको व्यक्ति हुनुपर्ने बताएका छन् । नेपाल वातावरण समाज, वातावरण इन्जिनियर समाज र नेपाल प्रभाव मूल्यांकन संघले संयुक्त विज्ञप्ति निकाल्दै आवधिक वातावरणीय प्रभावको स्वअनुगमन प्रतिवेदन नियमित बनाउन र वातावरणीय मापदण्ड पालनामा जोड दिएका छन् ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?