दलितमाथिको विभेद अन्त्य गर्न संकल्प प्रस्ताव पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — दलित समुदायमाथिको विभेद र उत्पीडन अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकले हाल प्रचलनमा रहेका कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई जिम्मेवार बनाउन संकल्प प्रस्ताव पारित गरेको हो ।

दलित समुदायका विभेद र उत्पीडन अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी पारित संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन पनि दिइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई संकल्प प्रस्ताव कार्यान्वयन गर्न निर्देशन दिँदै त्यसको निरन्तर अनुगमन गर्न सभाअन्तर्गतका विषयगत समितिलाई पनि निर्देशन दिएका थिए ।

एमाले सांसद भुवनबहादुर सुनारले दलित समुदायमाथि भइरहेको विभेद र उत्पीडनहरूको अन्त्य गरी तत्काल अधिकार सुनिश्चित गर्नुपर्ने १९ बुँदे व्यवस्थासहितको संकल्प प्रस्ताव प्रस्तुत गरेका थिए । अन्य सबै सांसदले उक्त प्रस्तावको समर्थन गरे । सांसदहरूले झन्डै २ घण्टा संकल्प प्रस्तावमाथि छलफल गरेका थिए । सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि प्रस्ताव पारित गरिएको थियो ।

संकल्प प्रस्तावमा हाल संविधान र कानुनमा व्यवस्था भएबमोजिम छुवाछूत वा भेदभावजन्य कार्यलाई गम्भीर सामाजिक अपराध मानी दोषीलाई कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने, राज्यका सबै निकाय र संरचनामा दलित समुदायलई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने व्यवस्था गर्ने, दलित समुदायका विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षा प्रबन्ध गर्ने र प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा विशेष व्यवस्थाका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, दलित समुदायका एकल महिला तथा बालबालिकालाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदानसम्बन्धी कानुन तत्काल निर्माण गरी लागू गर्नुपर्ने, संविधानमा व्यवस्था भएबमोजिम भूमिहीन दलितलाई एकपटक जग्गा उपलब्ध गराउने र आवासविहीनलाई बसोबासको व्यवस्था गर्ने कानुनको प्रभावकारी कार्यान्वयन, दलित विकास दशकको योजनासहित कार्यक्रम ल्याउनुपर्ने विषय प्रस्तावमा समेटिएको छ ।

प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद सुनारले निजी तथा सार्वजनिक स्थानमा हुने छुवाछूत वा भेदभावजन्य कार्य गर्नेलाई संविधान र कानुनबमोजिम कडा कारबाही गर्नका लागि सरकारसँग माग गरेका थिए । ‘संविधान र कानुनमा व्यवस्था भएबमोजिम कुनै पनि निजी वा सार्वजनिक स्थानमा हुने छुवाछूत वा भेदभावजन्य कार्यलाई गम्भीर सामाजिक अपराध मानी दोषीलाई कडा कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्था प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, विगतमा नागरिकता, राहदानीलगायत अन्य सरकारी कागजमा दलित समुदायका व्यक्तिको नाम र थर अपमानजनक ढंगले प्रयोग गर्ने गरिएकाले ती सम्पूर्ण प्रमाणपत्र सच्याउने, यसबाट सम्बन्धित व्यक्तिहरूले हालसम्म भोग्नुपरेका शारीरिक, मानसिक, सामाजिक, आर्थिक तथा शैक्षिक उन्नति र प्रगतिमा हानिनोक्सानीको क्षतिपूर्ति भराउने सम्बन्धमा प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्ने,’ उनले प्रस्तावमा उल्लेख गरेका थिए ।

संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरूले जातीय छुवाछूतविरुद्धको संवैधानिक व्यवस्था र कानुन कार्यान्वयन हुन नसक्नाको कारणबारे जिज्ञासा राखेका थिए । कांग्रेस सांसद कमला पन्तले राष्ट्रिय दलित आयोगको कामप्रति पनि प्रश्न उठाएकी थिइन् । एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले विभेद अन्त्यका लागि जनचेतनाको विकास हुनु जरुरी रहेको बताए भने एमाले सांसद विमला राई पौड्यालले संविधान, कानुन, नियममा जातीय विभेद नभए पनि व्यवहारमा कायमै रहेको बताइन् । ‘कानुन छ, कार्यान्वयन भएको छैन, यस्तो अवस्थाले राजनीतिक दल, सरकार, कर्मचारी सबैलाई झापड हानेको छ,’ उनले भनिन् ।

सांसद मदनकुमारी साह गरिमाले ‘२०८० साललाई जातीय छुवाछूतविरुद्धको अभियान वर्ष’ घोषणा गर्न सरकारसँग माग गरेकी थिइन् । उनले दलितमाथि हुने हिंसाको अन्त्य र समानताका लागि पनि सरकारले २०८० साललाई जातीय छुवाछूतविरुद्धको अभियान वर्ष घोषणा गर्नुपर्ने बताइन् ।

सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री दाहालले जवाफ दिएका थिए । उनले जातीय विभेद र छुवाछूत अन्त्यका लागि कानुन, संविधान कार्यान्वयनमा जोड दिने र विकास तथा समृद्धिको अभियानलाई पनि सँगै लिएर जान सरकार लागिपर्ने प्रतिबद्धता जनाए । जातीय विभेद अन्त्यका लागि जनचेतनामूलक बहस, छलफल, विचार विमर्शको आवश्यकता रहेको पनि उनले बताए ।

‘दलित समुदायमाथि हुने अपमान र विभेदको अन्त्य गर्नका निम्ति कानुनलाई अझ कडा पार्ने, त्योभन्दा पनि कार्यान्वयन प्रक्रियालाई दृढतापूर्वक अगाडि बढाउने प्रतिबद्धता म राख्न चाहन्छु,’ उनले भने । संकल्प प्रस्तावमा उठाइएका विषयलाई राज्यका तर्फबाट अधिकतम सम्बोधन गर्ने उनको भनाइ थियो । दाहालले जातीय विभेद अन्त्यका लागि कर्मचारीतन्त्र अझै तयार भई नसकेको तथ्यलाई पनि भुल्न नहुने बताए । ‘केही पनि भएको छैन भन्ने होइन, केही पक्कै भएको छ,’ उनले भने ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

किसानमैत्री कृषि नीति, भविष्यमुखी योजना

बजारमा राज्यको सकारात्मक नीतिगत हस्तक्षेप चाहिन्छ । यस्तो गर्न नसक्ने राज्य नै खेतीपातीको संकटको कारक हो । विडम्बना, अहिले बनाउँदै गरेको भनिएको कृषि ऐनको मस्यौदासमेत दलालहरूका स्वार्थबाट निर्देशित छ ।
कृष्णप्रसाद पौडेल

आज खाना र यसको बन्दोबस्त मिलाउने सबै व्यवस्था सबैभन्दा संकटग्रस्त छन् । सन्सारभरि नै समाज र पर्यावरण दुवै अस्वस्थ हुने क्रम दिनदिनै बढ्दै गएको छ । यस्तो अस्वस्थताले निम्त्याएको संकटका असरहरूले आम मानिसको दैनिकीसमेत प्रभावित हुँदै गएको छ । त्यसमाथि खानाको जोहो गर्ने स्थानीय बन्दोबस्त उपेक्षित हुँदै गएको छ ।

परम्परादेखि खेतीपाती गर्दै आएका किसान समुदाय एवं भरपर्दो आम्दानी र रोजगारी नभएका लाखौं जनसमुदायको जीवनयापन झन्झन् कष्टकर हुँदै गइरहेको छ । अहिले सबैतिर असुरक्षा र भय मात्र व्याप्त छ । सँगै, यो कुरा आम मानिसको विद्रोहमा अभिव्यक्त हुने क्रम तीव्र छ । मिटरब्याजको ठगी, लघुवित्तको सुदखोरी एवं चितवन र झापाका किसानले आफ्ना कृषिउपज सडकमा फालेर गरेको प्रदर्शन केही प्रतिनिधिमूलक उदाहरण हुन् । यस्तो आक्रोश भुसको आगोझैं सबैतिर सल्किँदै गएको छ ।

खान र अन्य दैनिकि चलाउनकै लागि युवा किसान हराभरा खेतबारी बाँझो छोडेर मुग्लान पस्न थालेको दुई दशकभन्दा बढी भैसक्यो । खाडी मुलुक गएसँगै सुरु भएको यो यात्रा संसारभर फैलिने क्रम तीव्र छ । जनशक्तिको अभावमा खेतीपाती दिनदिनै ओरालो यात्रामा छ । खेतबारी बाँझै छन्, विडम्बना, खेतपाती गर्न चाहनेसँग अन्य स्रोतको त कुरै छोडौं, खेती गर्ने जमिनसम्म छैन । परिमाणतः छिमेकीसँग भर नपरी सहरका मात्र हैन, गाउँघरका समेत चुलो नबल्ने अवस्था छ ।

परदेसिएका युवाले पठाएको विप्रेषणबाहेक खानेकुराको आयात थाम्ने कुनै आम्दानी छैन । यस्तो अवस्थामा निकट भविष्यमा किसानले खेती गर्न सक्ने वातावरण नबनाउने हो भने यसले अझै विकराल रूप लिने संकेत देखिएको छ । समयमै यसलाई सम्बोधन गर्न जिम्मेवार नहुने हो भने यसले निम्त्याउने सामाजिक विग्रह हामी सबैले अन्दाज गरेभन्दा भयानक हुनेछ ।

समग्रमा, आफूभन्दा अघिल्लो पुस्ताका किसानीका दुःख देखेका र भोगेका युवाहरू खेतीपातीजस्तो सामाजिक उद्यम गरेर आफ्नो भविष्य बनाउन सकिन्छ भन्ने पत्याउन तयार छैनन् । त्यसैले अहिले बूढो पुस्ताले सम्हालेको खेतीपाती युवा पुस्तामा सर्ने छाँट देखिएकै छैन । यसो हुनुको मूल कारण हो— अहिलेको अर्थव्यवस्थामा सामाजिक उद्यमी किसानलाई उत्पादनदेखि यसको बजारीकरणसम्म चाहिने भरथेग नहुनु । यस्तो भरथेग गर्न राज्य चुकेसँगै यो अवस्था आएको हो । यी सबैको अन्तर्यमा भने अब एउटै प्रश्न छ— हाम्रो खाना र जीवनयापनको बन्दोबस्त के हुन्छ ?

हामी सबैलाई थाहा छ, नेपाली समाज आधुनिक हुने दौडमा लागेसँगै परम्परागत आत्मनिर्भर खेती प्रणालीमा व्यापक फेरबदल आयो । किसानको जीवन पद्धति बनेको सामाजिक उद्यम सामाजिक–आर्थिक फेरबदलसँगै क्रमशः निजी उद्यममा रूपान्तरित भयो, जसले गर्दा कृषिउपजजस्तो जैविक उत्पादन अन्य औद्योगिक उत्पादनजस्तै बजारिया वस्तु बन्न पुग्यो । जीवितै व्यवहार गर्नुपर्ने जैविक उत्पादनलाई अन्य औद्योगिक उत्पादनसँग तुलना गरेर नाफा मात्र कमाउने निजी उद्यमका रूपमा व्यवहार गरियो । जसरी पनि नाफा बनाउने दबाबसँगै यो बाह्य स्रोत, कृत्रिम रसायन र विषादीको दुश्चक्रमा फस्यो, जसले गर्दा यसको उत्पादन लागत बढ्यो । सँगै नाफाका लागि मात्र गरिएको निजी उद्यमसरह बिचौलिया बजारमा यस्तो लगानीको उत्पादन प्रतिस्पर्धी हुन सकेन । तुलनात्मक रूपमा नाफामूलक हुन नसक्दा किसानको पलायनसँगै यो उद्यम नै साँघुरिँदै गइरहेको छ ।

आज हामी बाँचेको दुनियाँमा खान र अन्य सबै व्यवहार चलाउन आम किसानलाई पनि अरूको जस्तै आम्दानी चाहिन्छ । यस्तो आम्दानी गर्न सम्भव भए मात्र हामी जोकोहीले पनि किसान हुन आँट गर्ने हो । किसानी गरेर परिवारको खानेकुराको बन्दोबस्त मिलाउने र यसैको आम्दानीले घरबार चलाउने जिम्मेवारी लिएका किसानहरूले कुनै पनि हालतमा उत्पादन र आम्दानी घट्ने जोखिम आफू एक्लैले लिनै सक्दैनन् । तसर्थ, अबको खेतीपाती प्रवर्द्धनको मुख्य सर्त नै खेतीपातीबाट उत्पादन र यसबाट आउने आम्दानीको सुनिश्चितता हो ।

यस अर्थमा खेतीपातीबाट उत्पादन र आम्दानी घट्न नदिने सर्तमा मात्र किसानले जोखिम लिन्छ भन्ने बुझ्न जरुरी छ । यसको मर्म बुझेर भविष्यका लागि खेतीपाती दिगो र उन्नत बनाउँदै किसानको आम्दानी बढाउने रणनीति नबनाउने हो भने अरूलाई खेतीपाती गर्ने उपदेश दिनुको मात्र कुनै अर्थ रहनेछैन । यस सन्दर्भमा हामीले के बिर्सनु हुँदैन भने, अहिले कुनै भरपर्दो उपाय नभएका र हातमुख जोर्ने बाध्यतामा रहेका सीमान्तीकृत श्रमिक किसानले बाहेक आम किसानले आफ्नो खेतबारीबाट उत्पादन नघट्ने, उत्पादित उपज सजिलै बजारमा बिक्री हुने र यसबाट आउने आम्दानीले खान र घरबार चलाउन सकिने सर्तमा मात्र खेतीपाती गरिरहेका हुन् । यो अवस्था नहुनेबित्तिकै किसानहरू खेतीपाती चटक्कै छोड्न बाध्य हुन्छन् ।

यी सबै कुरा विचार गर्दा किसानहरूलाई खेतीपातीजस्तो सामाजिक उद्यम त्याग्न नदिन राज्यले निम्नलिखित सर्तहरू अनिवार्य रूपमा पूरा गरिदिनुपर्छ—पहिलो, किसानका खेतबारीको उत्पादनशीलता कायम राख्दै उत्पादन घट्न नदिन दिगो व्यवस्थापन गर्न सघाउनुपर्छ । अहिले यसो गर्न किसानहरूले आआफैं हरसम्भव उपाय अपनाउने गरेका छन् । अहिले कृत्रिम रसायन र विष हाल्ने कुरा होस् या विकासे बस्तुभाउ पाल्ने र नपुंसक बीउ लगाउने, कुनै पनि हालतमा उत्पादन घट्न नदिने किसानको हरसम्भव प्रयासको परिणाम हो यो ।

यस काममा किसानलाई सघाउन अन्य कुरासँगै, माटोलाई विषादी र कृत्रिम रसायनबाट जोगाउँदै जैविक मल, विषादी, बीउ र चिस्यानको व्यवस्थापनमा सामान्य सुधार मात्र गर्न सके पनि अहिलेको उत्पादन कुनै पनि स्थितिमा घट्दैन । माटो सुधारका लागि कृत्रिम रासायनिक मल घटाउनुपर्छ, घातक विषादीको प्रयोग हटाउनुपर्छ र माटामा जैविक तत्त्व र पोषण बढाउन गोठमल वा अन्य जैविक मलको प्रयोगलाई प्रोत्साहित गर्नुपर्छ । अहिले विज्ञान र प्रविधिको विकासले यो कुरालाई सहज बनाएको छ । यस्ता प्रविधि र तरिकाको उपयोगमा किसानलाई सघाउन सके खेतबारीको उत्पादनशीलता कायम राख्न सकिन्छ ।

बीउ सुधारका लागि यस्तै सरल तरिका सुझाउन सकिन्छ । उदाहरणका लागि, यदि स्वसेचन बीउ भए शुद्धता जोगाउने र हरेक चार–पाँच वर्षमा बीउ फेर्ने अनि परसेचन बीउ भए सकेसम्म धेरै वर्णसंकर बनाउने हो भने मात्र पनि उत्पादनलाई अहिलेभन्दा धेरै बढाउन सकिन्छ । त्यस्तै, पानी व्यवस्थापन भविष्यको सबैभन्दा ठूलो चुनौती हो । रसायन, विषादी, नपुंसक बीउबाट वर्जित खेतीपाती गरेर मात्र कम पानीमा गर्न सकिने स्थानीय खेती फर्काउन सकिन्छ । यो नै अब खेतीपातीका लागि चाहिने पानी संकट टार्ने भरपर्दो उपायसमेत हो ।

दोस्रो, यसरी उत्पादित कृषिउपजको बजारीकरण गर्न किसानले भरोसा गर्न सक्ने बिचौलिया र बजार चाहिन्छ । यस्ता बिचौलिया र बजार सकेसम्म स्थानीय भए दोहोरो फाइदा हुन्छ । एकातिर, स्थानीय बिचौलिया र बजार किसानले सजिलै भरोसा गर्न सक्ने हुन्छन्; अर्कातर्फ, स्थानीय तहमा खानेकुराको बन्दोबस्त गर्न अहिलेको जस्तो दलालको मनपरी क्रमशः हटाउँदै जान सकिन्छ । यस्तो स्थानीय बजारको व्यवस्थापनमा सहकारिताका मर्ममा आधारित किसानका सहकारी समूहहरूको ठूलो यागदान हुन्छ । विडम्बना, नेपालमा रहेका करिब ३६ हजार सहकारीमध्ये अपवादबाहेक सबै दलालकै कब्जामा छन् । अहिलेका सुदखोर लघुवित्त यसका केही नमुना मात्र हुन् ।

तेस्रो, खाना र अन्य सामाजिक व्यवहार खेतीपातीबाटै सम्हाल्नुपर्ने किसानहरूले यसबाट आउने आम्दानीमा कुनै सम्झौता गर्न सक्दैनन् । तसर्थ, उनीहरूको आम्दानी घट्न नदिन खेतीपातीलाई सस्तो बनाउँदै कृषिउपजको बिक्रीबाट आम्दानी सुनिश्चित गरिनुपर्छ । यसो गर्न राज्यले उत्पादन लागत घटाउने उपायहरूमा सघाउनुपर्छ भने उनीहरूका उपजलाई आन्तरिक र बाह्य बजारमा प्रतिस्पर्धी बनाउन सघाउनुपर्छ । हामीले के बिर्सनु हुँदैन भने, अन्य व्यवसायभन्दा खेतीपाती धेरै जोखिमपूर्ण हुन्छ किनकि यो जीवन्त हुन्छ र यसलाई जीवितैमा कारोबार गर्न नसके सडेर, गलेर वा मरेर खेर जान्छ । खेतीपातीको यही प्रकृतिलाई किसानको कमजोरी बनाएर दलालहरूले ठगिरहन सम्भव भएको हो । यसलाई सम्हाल्ने दायित्व किसानहरूले मात्र लिनै सक्दैनन् । तसर्थ बजारमा राज्यको सकारात्मक नीतिगत हस्तक्षेप चाहिन्छ । यस्तो गर्न नसक्ने राज्य नै खेतीपातीको संकटको कारक हो ।

चौथो, माथिका तीनवटा आयाममा आधारित रणनीतिले व्यावहारिक रूपमा काम गर्न राज्यको किसानमैत्री कृषि नीति र भविष्यमुखी योजना चाहिन्छ । अहिलेसम्म नेपालमा नीति दस्तावेजका नाममा विभिन्न स्वार्थ समूहका इच्छापत्र बन्ने गरेका छन् । हालसम्म नेपालको कृषि ऐन नै छैन । विडम्बना, अहिले बनाउँदै गरेको भनिएको कृषि ऐनको मस्यौदासमेत दलालहरूका स्वार्थबाट निर्देशित छ ।

स्पष्ट नीतिबिना कुनै पनि देशको कृषि दिगो र किसानहरूका लागि नाफामूलक हुनै सक्दैन । सँगै, किसानमैत्री नीति कार्यान्वयन, अध्यावधिक र परिमार्जन गर्न नियमित खोज, अनुसन्धान, जनचेतना, क्षमता अभिवृद्धि र पृष्ठपोषण अनिवार्य सर्त हुन् । हाम्रो कृषि धराशायी हुँदासमेत यसको कुनै भेउ नपाउनु आवधिक पृष्ठपोषण गर्ने सोच र संयन्त्र नै नहुनु हो । तसर्थ माथिका रणनीति कार्यान्वयनसँगै प्रकृति, प्रविधि र प्रवृत्तिमा आइरहने फेरबदलको सन्दर्भसमेत हेक्का राख्दै यस्तो आवधिक पृष्ठपोषणको ढाँचा बनाउन आवश्यक छ ।

यिनै कुरालाई आधार बनाएर मात्र नेपालको कृषिले बिराएको बाटो सच्याउँदै भविष्यका किसानलाई खेतीपातीमा फर्काउन र टिकाउन सकिन्छ । यसले किसानी मात्र जोगाउँदैन, किसानको सामाजिक उद्यमीको पहिचानसहित आत्मसम्मानको जीवन पद्धति अपनाउन सम्भवसमेत बनाउँछ । यो नै अहिले र भविष्यमा खानाको संकटको सामना गर्दै समाज, वातावरण र प्रकृतिसमेत उन्नत बनाउने उत्तम विकल्प हो ।

प्रकाशित : चैत्र ९, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×