पुरुषलाई महिला बनाएर उडाएपछि...

चालकदल, परिचारिका, निगमका ताप्लेजुङ स्टेसन प्रमुख, काठमाडौं विमानस्थलका फ्लाइट डिस्प्याचरसहितलाई कारबाही
सुरज कुँवर

काठमाडौँ — ताप्लेजुङबाट सोमबार बिहान ७:४७ बजे १५ यात्रु बोकेर काठमाडौं अवतरण भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

क्याप्टेन पेम्बा शेर्पा र रक्षित मल्लले जहाजमा चढेका यात्रु र लोडसिट पेपरमा केही फरक देखे । पाइलटलाई ताप्लेजुङमा बुझाइएको लोडसिटमा १० महिला र ५ पुरुष लेखिएको थियो । तर, ४५ मिनेटको उडानपछि काठमाडौं आइपुग्दा चालकदलले जहाजमा ९ महिला र ६ पुरुष देखे ।

चालकदललाई तौलमा शंका लागेपछि उनीहरूले काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलमा रहेका निगमका कर्मचारीलाई जहाजको अगाडि र पछाडिको भागमा रहेको कार्गो कम्पार्टेन्टमा राखिएका यात्रुहरूको सामानको पनि पुनः तौल लिन भने । स्रोतका अनुसार काठमाडौंमा गरिएको तौल जाँचमा लोडसिट पेपरमा लेखिएको भन्दा कम्तीमा १८ किलोग्राम फरक पाइयो ।

यस घटनाबारे निगमले नियमनकारी निकायलाई जानकारी गराउनुपर्ने थियो । तर, गुपचुप राखियो । ‘कुनै सूत्रबाट उडानमा लेखिएको भन्दा बढी र पुरुषलाई महिला बनाइएको घटनाको उजुरी मंगलबार आयो,’ प्राधिकरणका एक विभागीय प्रमुखले भने, ‘त्यही सूचनाका आधारमा ७ जनालाई अर्को निर्णय नहुन्जेल ग्राउन्डेड (कारबाही) गर्ने निर्णय भएको छ ।’

प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्याडर्ड विभागले उक्त उडानका चालकदल, परिचारिका, ताप्लेजुङ विमानस्थलमा रहेका निगमका स्टेसन प्रमुख, काठमाडौं विमानस्थलस्थित आन्तरिक उडानमा कार्यरत फ्लाइट डिस्प्याचरसहित ७ जनालाई ग्राउन्डेड गर्ने निर्णय भएको हो । ‘निगमको

ट्वीनअटरले लोडसिटमा भन्दा ४८ किलोग्राम अतिरिक्त भार बोकेको र एक पुरुष यात्रुलाई महिला बनाई उडाएको विषयमा कारबाही गरिएको छ,’ प्रवक्ता जगन्नाथ निरौलाले भने ।

प्राधिकरणले यस घटनामा गम्भीर कानुनी दफा आकर्षित हुने भनेको छ । ‘जहाजमा सामान र यात्रुको तौल फरक पार्नु आर्थिक हिनामिना हुँदै हो,’ यसमा अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘त्यसबाहेक जहाजको भारवहन क्षमताभन्दा बढी लोड हुनु दुर्घटनाको जोखिम भएकाले यसमा अरू कानुन पनि आकर्षित हुन्छन् ।’ ती अधिकारीका अनुसार, यस घटनाको छानबिन गर्न निगमलाई प्राधिकरणले निर्देशन दिएको छ भने ताप्लेजुङ विमानस्थलमा रहेका निगमका स्टेसन प्रमुख लोकेन्द्र लिम्बूलाई बुधबार काठमाडौं झिकाएको छ । ताप्लेजुङमा रहेको निगमको कार्यालयले लास्ट मिनेट चेन्ज (एलएमसी) अन्तिम समयमा एक जना यात्रुलाई समेट्दा पुरुषको महिला हुन गएको भनेको छ । नेपालको दुर्गम उडानमा जहाजहरूले पुरुषको औसत तौल ७५ र महिलाको तौल ६५ किलोग्राम मानेको छ । यसैका आधारमा वायुसेवा कम्पनीले जहाजको कार्गो थपघट गर्न पाउँछन् ।

पछिल्लो पटक प्राधिकरणले उडान सुरक्षा असर पर्न नदिने भन्दै कडाइ गर्दा निगमका मात्रै ४ पाइलट, ७ क्याबिन क्रु, २ प्राविधिक, १ डिस्प्याचरसहित १४ जना कारबाहीमा परिसकेका छन् । जहाज पार्किङस्थलमा परिचयपत्र र सुरक्षा पोसाक नलगाएकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही दिनअघि निगमकै कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग लिखित स्पष्टीकरण नै मागेपछि उनले आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै माफी नै मागेका थिए ।

प्रकाशित : चैत्र ८, २०७९ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्

मलेसियामा कामदार भर्ना प्रक्रिया सुस्त

– विदेशी कामदारको कोटा प्रमाणित गर्ने प्रक्रिया स्थगन
– आपूर्ति प्रणाली खलबलिएकाले पर्ख र हेरको अवस्थामा रोजगारदाता कम्पनी
– ८ महिनामा एक लाख ७२ हजार जना नेपाली मलेसिया उडे
होम कार्की

काठमाडौँ — मलेसियाले विदेशी कामदार ल्याउन अनुमति दिने कार्य (कोटा प्रमाणीकरण) लाई स्थगन गरेको छ । रोजगारदाताहरूले अनुमति लिएको कोटाअनुसार कामदार ल्याउन ढिला गरेपछि त्यहाँको मानव संसाधन मन्त्रालयले चैत ५ देखि विदेशी कामदार ल्याउने कोटा प्रमाणीकरण प्रक्रिया रोकेको हो ।

मलेसियाले पाँच क्षेत्रमा कामदार अभाव रहेको जनाउँदै गत जनवरीदेखि ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ जारी गरेको थियो । मानव संसाधन मन्त्रालयले गत जनवरीदेखि मार्च १८ सम्म ९ लाख ९५ हजार तीन सय ९६ जना विदेशी कामदार ल्याउन कोटा प्रमाणीकरण गरिसकेको छ । उत्पादन क्षेत्रमा तीन लाख ८७ हजार एक सय २२, निर्माण क्षेत्रमा तीन लाख ४२ हजार एक सय ६, सेवा क्षेत्र (रेस्टुरेन्टका लागि मात्रै) एक लाख ४३ हजार पाँच सय ६८, प्लान्टेसन क्षेत्रमा ७६ हजार ३ सय २५, कृषिमा ४५ हजार ८ सय ९९ र खानी क्षेत्रमा तीन सय ७६ जनाको कोटा प्रमाणित गरिएको हो । यो कोटा भने देशगत आधारमा तोकिएको छैन ।

कोभिड महामारी सुरु भएदेखि नेपालसहित स्रोत देशबाट कामदार लिन छाडेको मलेसियाले गत वर्ष अप्रिलमा पुनः कामदार लिन थालेको थियो । मलेसियामा कामदारको अभाव देखिएपछि संकट टार्न रोजगारदाता कम्पनीले कामदार लिने कार्यलाई तीव्रता दिएका थिए । गत आर्थिक वर्षको अन्तिम तीन महिनामा नेपालबाट २५ हजार ८ सय ५२ जना मलेसिया गएका थिए । आर्थिक वर्षको पहिलो महिनामा नै २२ हजार जना मलेसिया उडे । पछिल्लो आठ महिनामा मात्रै एक लाख ७२ हजार नेपाली मलेसिया गइसकेका छन् ।

पछिल्लो समय भने रोजगारदाता कम्पनीहरू कामदार ल्याउन उत्साही देखिँदैनन् । रुस–युक्रेन युद्धलगायत कारण पुरै विश्वको आपूर्ति प्रणाली खलबलिएका कारण मागमा कमी आएकाले पर्ख र हेरको अवस्थामा रहेको रोजगारदाताहरू बताउँछन् । उनीहरू विश्व अर्थतन्त्रले लिने बाटो र त्यसबाट सिर्जना हुने मागको आकलन गर्दै कामदार लिने पक्षमा छन् । प्रमाणित कोटाअनुसार कामदार भर्ना नहुनुमा यसलाई नै प्रमुख कारण मानिएको छ ।

मलेसियामा नेपालीको प्रमुख कार्यस्थल इलेक्ट्रिकल एन्ड इलेक्ट्रोक्निस उद्योगहरू आउँदो जुनसम्म कामदार ल्याउने प्रक्रियालाई सुस्त गर्ने पक्षमा देखिएका छन् । ‘मलेसिया सरकारले कामदार भर्ना प्रक्रियालाई सजिलो बनाइदिएको छ । यो राम्रो पक्ष हो । तर, हामी ठूलो संख्यामा कामदार लिन सक्ने अवस्थामा छैनौं । हामीले उत्पादन गरेको सामानको माग निकै कम छ,’ मलेसियन म्यानुफ्याक्चर्सका अध्यक्ष दातुक ली तेओङ लीले भनेका छन्, ‘धेरैजसो कम्पनी आर्थिक वर्षको दोस्रो चौमासिकबाट मात्रै कामदार लिने पक्षमा देखिन्छ । यो पनि बजारको मागमा भर पर्छ ।’ उनका अनुसार मेडिकल र खाद्य उत्पादन गर्ने उद्योगलाई ठूलो असर परेको छैन ।

पछिल्लो तीन महिनामा नेपालबाट कामदार ल्याउन १ हजार २ सय २९ वटा कम्पनीले नेपाली दूतावासमा मागपत्र प्रमाणित गराएका थिए । त्यसअघिको तीन महिनामा भने ४ हजार ५ सय ३७ वटा कम्पनीले मागपत्र प्रमाणित गरेका थिए । मागपत्र प्रमाणितपछि छनोटमा परेका कामदार (श्रमस्वीकृति लिएका) मलेसिया उड्ने दिनेको प्रतीक्षामा छन् । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलका अनुसार धेरैजसो कम्पनी जसोतसो चलिरहेका छन् । कामदारलाई नियमित ड्युटी (आठ घण्टा) मात्रै दिइएको छ । मलेसियामा न्यूनतम तलबबापत १५ सय रिंगेट र ओभरटाइमबापत करिब ८ सय ४३ रिंगेट गरी २३ सय ४३ रिंगेट (करिब ७० हजार रुपैयाँ) पाइने भन्दै नेपाली कामदार जाने गरेका छन् । ‘अहिले कम्पनीहरूले २२ दिन काममा लगाएर न्यूनतम तलब दिइरहेका छ,’ राजदूत पौडेलले भने, ‘मलेसिया सरकारले कोटा तोक्ने कार्य कहिले सुरु हुन्छ भन्नेबारे केही खुलाइसकेको छैन ।’

मलेसियाले कोटा प्रमाणीकरण स्थगन गरे पनि कामदार जाने प्रक्रिया चलिरहेकै छ । मानव संसाधन मन्त्री भी. शिवकुमार भने प्रमाणीकरण भएको कोटाअनुसार छिटो कामदार ल्याउन अब सहज हुने दाबी गर्छन् । उनले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा रोजगारदाताले आफूले पाएको कोटालाई छिटो पूरा गर्ने आशा राखिएको उल्लेख छ ।

प्रकाशित : चैत्र ७, २०७९ २२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×