'अयोग्य लडाकु'को राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि

रासस

काठमाडौँ — मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका 'अयोग्य लडाकु'लाई दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । 

मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । 'बुधबारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ', गृहसचिव विनोदप्रकाश सिंहले भने, 'सकेसम्म चालु आर्थिक वर्षदेखि नै वितरण गरिनेछ ।' वितरणको काम चरणबद्ध रुपमा गरिने उनले जानकारी दिए ।

राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन)को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि २०७३ सालमा उनीहरुलाई दुई लाख रुपैयाँ राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो ।

तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर्‍याइएका चार हजार आठ लडाकु बाहिरिएका थिए । एक हजार चार सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए ।

प्रकाशित : चैत्र ७, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्

होन्डाद्वारा उत्कृष्ट प्राविधिकलाई पुरस्कार प्रदान 

कान्तिपुर संवाददाता

काठमाडौँ — होन्डाले आफ्ना डिलर नेटवर्कमा कार्यरत प्राविधिकहरुको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उत्कृष्टलाई पुरस्कार प्रदान गरेको छ । बिक्रीपछिको सर्भिसलाई उत्कृष्ट बनाउने लक्ष्यस्वरुप स्याकर ट्रेडिङ कम्पनीले हरेक वर्ष ‘टेक्निसियन स्किल कन्टेस्ट’ आयोजना गर्दै आएको जनाएको छ । 

‘विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी काठमाडौं, विराटनगर, जनकपुर, पोखरा र भैरहवाबाट छनोट भएका २/२ जना राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘सो प्रतियोगिताबाट पनि उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको छ ।’

प्रतियोगिताबाट प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द्र इटानी र तृतीय पुरस्कार नौदेवी मोटर्स विराटनगरका बिनोद शर्माले प्राप्त गरेको स्याकर ट्रेडिङले जनाएको छ । कम्पनीका अनुसार प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशी क्रमशः ३०, २० र १५ हजार रुपैयाँ थियो । साथै अन्य सहभागीहरुले प्रमाण पत्र प्राप्त गरेका थिए ।


प्रकाशित : चैत्र ७, २०७९ १९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×