कांग्रेसले विगतको गल्ती नदोहोर्‍याएर काम गर्न सक्नुपर्छ : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारमा जान लागेको कांग्रेसले विगतका गल्ती नदोहोर्‍याइ काम गर्न सक्नुपर्ने बताएका छन् । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारमा हुने कांग्रेसले जनतालाई नयाँ आभाष दिलाउन सक्नुपर्ने बताए । 

नेपाल ट्रेड युनियन कांग्रेस चितवनले मंगलबार गरेको गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृतिसभामा बोल्दै नेता पौडेलले अहिलेको गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति नयाँ ढंगको हुनुपर्ने बताए ।

'गठबन्धनको सरकारमा कांग्रेसको उपस्थिति अन्य दलभन्दा भिन्न हुनु आवश्यक छ । विगतभन्दा सुधारिएको हुनु आवश्यक छ । कांग्रेस अब पाँचै वर्ष सरकारमा हुनसक्छ, तर सरकारमा भइरहने कुराले महत्त्व राख्दैन,' उनले भने, 'पाँच वर्षपछि फेरि निर्वाचन हुन्छ । त्यो निर्वाचनमा जनताको मत जित्ने गरी काम गर्न सक्नुपर्छ । कांग्रेसले विगतका गल्ती सच्याएर अघि बढ्नु आवश्यक छ ।'

उनले अहिले गठबन्धन गरेर चुनाव लडेको र गठबन्धनकै बलमा सरकारमा पुगेको स्मरण गराउँदै पाँच वर्षपछि कांग्रेसले एक्लै निर्वाचनमा जानुपर्ने परिस्थितिको लागि अहिलेदेखि नै तयार रहनुपर्ने बताए । उनले चितवन-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्दा स्थानीय माटोले चिनेको, माया र विश्वास पाएको नेतृत्वलाई अघि सार्नुपर्ने बताए ।

'गठबन्धनको संस्कृति सरकार बनाउने सन्दर्भमा स्वाभाविक हुन सक्छ । तर, निर्वाचनको सन्दर्भमा स्वाभाविक होइन,' उनले भने, 'हामी उपनिर्वाचनमा जाँदै छौँ । यहाँ उम्मेदवार उठाउँदा हामीले वैचारिक क्षमता भएको, यहाँको जमिनलाई चिनेको, जमिनले माया र विश्वास गर्ने, चुनाव कसले जित्छ भन्ने कुरालाई आधार बनाएर उम्मेदवार उठाउनु उपयुक्त हुन्छ ।'

प्रकाशित : चैत्र ७, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्

महेन्द्र राजमार्गमा रोकिएका गाडी वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

१३ घण्टादेखि जाममा परेका गाडी झ्यालबासको बाटो हुँदै पठाइयो
नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १३ घण्टादेखि जाममा परेका गाडी झ्यालबासको वैकल्पिक बाटोको प्रयोग गरेर गन्तव्यतर्फ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्गमा रोकिएका सवारी अहिले बिहान साढे ११ बजेपछि राजमार्गको उत्तरतर्फको कच्ची बाटो (४० किलोमिटर हुँदै झ्यालबासको बाटो) हुँदै हिँडाइएको छ ।

राजमार्गको ४० किलोमिटरदेखि उत्तर झ्यालबास हुँदै महेन्द्र राजमार्गको डन्डामा गाडी निस्कने वैकल्पिक बाटो बनाइएको छ । ‘डाइभर्सन सडकमा पनि ठाउँठाउँमा गाडी फसेर हैरान छ । गएराति वर्षात्का कारण महेन्द्र राजमार्गको ४० किलोमिटर भन्ने स्थानमा गाडी हिलोमा फसेको हो । अहिले पनि त्यहाँ फसेका गाडी डोजर र स्काभेटरले धकेल्दै र तान्दै गरेर पठाउँदै छौं,’ प्रहरी प्रमुख भुवनेश्वर तिवारी भन्छन्, ‘राजमार्ग सुकेपछि सोझै राजमार्गबाट वारपार गराइने छ ।

यो क्षेत्रमा गएराति वर्षात् भएको थियो । राजमार्ग बिग्रिएको स्थान जंगलमा पर्दछ ।

प्रकाशित : चैत्र ७, २०७९ ११:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×