अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री दाहाल

‘भारत भ्रमणको टुंगो छैन’
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे । 

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने दाबी उनको छ । प्रधानमन्त्री दाहालले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो–जो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २/४ दि भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ । जति भयो त्यो चाहिँ पर्याप्त छ । अब आरामसँग सरकार चल्छ । अब विकास, निर्माणको कामले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए । उनले भने, ‘भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ ।’

प्रकाशित : चैत्र ६, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

'कोशी' को विरोधमा पाँचथरका ११ वटा वडा कार्यालयमा तालाबन्दी

लक्ष्मी गौतम

पाँचथर — कोशी प्रदेश नामकरणको विरोधमा पाँचथरका तीन स्थानीय तहका ११ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ । प्रदेशको नाम सच्याउनुपर्ने माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फिदिम नगरपालिकाका आठवटा वडा, फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर १ र फालेलुङ गाउँपालिकाको वडा नम्बर ७ मा तालाबन्दी गरेको हो ।

संघर्ष समितिले फिदिम नगरपालिकाका वडा नं १, २, ४, ५, ६, ९, ११ र १२ वडा कार्यालयमा तालाबन्दी गरेको हो । प्रदेशसभा बैठकले फागुन १७ गते साविकको एक नम्बर प्रदेशलाई ‘कोशी’ नामाकरण गरेपछि उक्त नामले पहिचान नसमेटेको भन्दै किराँत, याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खा लगायतका संस्थासँगै लिम्वुवान मञ्च, लिम्वुवान राज्य परिषद र जनता समाजवादी पार्टीसहितका दल र तिनका भ्रातृ संघठनले पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेका थिए ।

समिति गठनपछि समितिले फागुन २८ गते कोशी प्रदेशमा आम हड्तालसँगै ठाँउठाँउमा मसाल जुलुस निकालिएको थियो । समितिले चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा प्रदर्शनसमेत गरेको छ ।

आन्दोलनकारीहरुले प्रदेशको पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै आएका छन् । यद्यपि प्रदेशको नाम लिम्वुवान किराँत वा किराँत लिम्वुवान राख्नुपर्ने भन्ने विषयमा किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खाबीच नै एकमत छैन । चुम्लुङले लिम्वुवान र यायोक्खाले किराँतको मुद्दा अगाडि सारेकाले आन्दोलनमा रहेका संस्थाहरुबीच नै मतऐक्यता हुन नसकेको हो ।

पुनः नामकरणका लागि नाममा सहमति जुटाएर आन्दोलनलाई सशक्त बनाउने तयारी भइरहेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् ।

‘पहिलो सर्त कोशी नामकरण खारेजी हो, त्यसपछि आन्दोलनकारीबीच साझा नाममा सहमति खोजिन्छ, सरकारले हाम्रो माग सम्बोधन गरेर बोलाए वार्तामा बस्न तयार छौं,’ तुम्बापोले भनिन् ।

आन्दोलनका क्रममा पाँचथरसहित इलामको माङसेवुङ र मोरङको मिक्लाजुङका वडाहरुमा पनि तालाबन्दी गरेको तुम्बापोले बताइन् । यससँगै संघीय राजधानी काठमाडौंमा पनि प्रदेश नामकरणको विरोधमा प्रदर्शन भएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×