१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्री दाहालले तीन महिनामा दोस्रो पटक पाए विश्वासको मत

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिएका हुन् । 

प्रधानमन्त्री दाहालले तीन महिनामा दोस्रो पटक पाए विश्वासको मत

प्रधानमन्त्री दाहाललाई १७२ सांसदले विश्वासको मत दिएका हुन् । सोमबारको बैठकमा उपस्थित २६२ सांसदमध्ये दाहाललाई विपक्षमा ८९ सांसदले मत दिए । त्यस्तै नेमकिपा 'मत दिन्न' भन्ने पक्षमा उभियो ।

सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले तीन महिनाको अन्तरालमा दोस्रोपटक संसद्‍बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई यस पटक कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, ३ जना स्वतन्त्र सांसद र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका हुन् । यस पटक एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गरे भने एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ रह्यो ।

यसअघि पुस ११ मा शपथ लिएका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला सत्तामा संसद्को दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायत थिए । सत्तारुढ दलहरूको संख्या पाँच थियो भने विश्वासको मत नदिने सांसदहरूको संख्या भने २ मात्रै थियो ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

२ सय ७५ सदस्यीय संसद्‍मा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्रै दाहालको विपक्षमा मत जाहेर गरेका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षमा बस्ने घोषणा गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि भोट हालेको थियो । दाहालले विश्वासको मत दिएर कांग्रेसले झैं प्रतिपक्षमा बस्ने राजनीतिक दलहरूमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत थिए ।

प्रकाशित : चैत्र ६, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?