उपराष्ट्रपति यादवलाई भारतीय समकक्षीले दिए बधाई

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका उपराष्ट्रपति जगदीप धनखरले नेपालका नवनियुक्त उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । धनखरले सोमबार ट्वीटरमार्फत यादवलाई बधाई दिएका हुन् ।

‘नेपालको उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेकोमा रामसहाय यादवलाई हार्दिक शुभकामना छ,’ ट्वीटमा उनले लेखेका छन् ।

यस्तै, धनखरले दुई मुलुकबीचको ‘युनिक’ र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ गर्न तथा दुई मुलुकका जनताहरू बीचको मित्रताको सम्बन्धलाई अझ प्रगाढ बनाउन मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

बीआईआई र डोल्मा इम्प्याक्ट फन्डले वर्ल्डलिंकमा गरे झण्डै २ अर्ब लगानी

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्डले नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्समा संयूक्त १ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन् । बीआईआईले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी गरेको छ भने डोल्मा इम्प्याक्ट फन्डले ६.९ मिलियन डलर अर्थात ९० करोड रुपैयाँ लगानी गरेको छ ।

इन्टरनेट क्षेत्रमा यो सबैभन्दा ठूलो लगानी रहेको वर्ल्डलिंकले जनाएको छ । यसअघि सन् २०१९ मा पनि वर्ल्डलिंकले प्रत्यक्ष वैदेशिक लगानीका रूपमा बीआईआई (तत्कालीन सीडीसी) बाट १ अर्ब ३५ करोड रुपैयाँ भित्र्याएको थियो । बेलायती राजदूत निकोला पोलिटले नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रुपान्तरण जरुरी रहेको र त्यसका लागि बेलायतले गरेको लगानी महत्त्वपूर्ण हुने बताइन् । संयुक्त्त लगानीबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा बीआईआईको प्रविधि एवम् टेलिकमका प्रबन्ध निर्देशक अभिवन सिन्हाले नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवालाई ग्रामीण क्षेत्रमा पुर्‍याउन, थप रोजगारी सिर्जना गर्न र अर्थतन्त्र वृद्धिमा सघाउन वर्ल्डलिंकले सहयोग गरोस् भन्ने चाहेको बताए ।

डोल्मा फन्ड म्यानेजमेन्टका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा छिटो अवधिमा ठूलो फड्को मार्न सक्ने क्षेत्र डिजिटल उद्योग भएकाले प्रविधि लगानीमा असाधारण वृद्धि देखेको बताए । 'ग्रामीण क्षेत्रहरूमा पनि इन्टरनेट पुगोस्, धुन्चे, जुम्लाका मानिसले पनि अनलाइनबाटै काम गर्न सकुन् भनेर हामीले वर्ल्डलिंकमा लगानी गरेका हौं' उनले भने ।

काठमाडौं उपत्यका मात्रै नभएर देशका अन्य भेगमा पनि इन्टरनेट सेवा विस्तार गरेर वर्ल्डलिंकले नेपालको डिजिटल रुपान्तरणका लागि पहल गरिरहेको सिन्हाले बताए । 'यसले गर्दा स्वास्थ सेवा, वित्तीय सेवा र नेपालका युवालाई जोड्ने काममा धेरै प्रगति भएको हामीले देखेका छौं' उनले भने । वर्ल्डलिंकका अध्यक्ष एवम् प्रबन्ध निर्देशक दिलिप अग्रवालले प्राप्त सहायतालाई गुणस्तरीय इन्टरनेट सेवा विस्तारमा लगाइने बताए ।

प्रकाशित : चैत्र ६, २०७९ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×