एमालेबिनाको राष्ट्रिय सहमतिले देशलाई द्वन्द्वमा लैजान्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सहयात्री दललाई सरकारबाट घोक्र्याएर निकालिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिका लागि दिएको अभिव्यक्तिमा तालमेल नभएको बताएका छन् ।

एमालेबिनाको राष्ट्रिय सहमतिले देशलाई द्वन्द्वमा लैजान्छ : उपाध्यक्ष पौडेल

दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहिसकेका पौडेलले प्रधानमन्त्रीको व्यवहार र अभिव्यक्तिबीच मेल नखाने बताएका थिए ।

'प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठूलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ?' पौडेलले भने, 'एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको छ । जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति चाहेको होइन ।'

विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय सहमतिको विषय उठाउँदा एमाले र राप्रपा सरकारबाट बाहिरएको र समर्थन फिर्ता लिएको विषयमा नेतृत्वले जवाफ दिनुपर्ने धारणा राखेका थिए ।

सोमबार संघीय संसद्‍मा पौडेलले एमालेलाई किराना लगाउने, कर्नर पार्ने, एक्ल्याउने र प्रहार केन्द्रित गर्ने काम भएको बताएका थिए । 'प्रधानमन्त्री बन्नका लागि एमालेको समर्थन लिने र प्रधानमन्त्री भएको भोलिपल्टदेखि एमालेसँग कटुता र शत्रुताको प्रयास गर्ने जुन प्रकारको कोसिस भयो, प्रधानमन्त्रीबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेका छन्,' पौडेलले भने ।

उनले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सहमति एमाले बाहेक सम्भव छ कि छैन भन्दै प्रश्न गरेका थिए । 'एमाले बाहेकको राष्ट्रिय सहमति खोजिएको हो भने त्यो देशलाई द्वन्द्वतर्फ लैजाने कोसिस हो भन्ने बुझ्नुपर्छ' पौडेलले भने, 'यस प्रकारको गलत परिभाषा हुनु हुँदैन ।'

प्रकाशित : चैत्र ६, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?