प्रधानमन्त्री दाहालले तीन महिनामा दोस्रो पटक विश्वासको मत लिँदै, पक्ष र विपक्षमा को को ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री दाहालले तीन महिनामा दोस्रो पटक विश्वासको मत लिँदै, पक्ष र विपक्षमा को को ?

कान्तिपुर संवाददाता

काठमाडौँ — चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत लिँदैछन् ।

सरकार गठन र सभामुख चयनका बेला तय भएको सत्तारुढ गठबन्धनलाई प्रधानमन्त्री आफैंले परित्याग गरी राष्ट्रपति निर्वाचनमा अर्कै समीकरणमा लागेपछि प्रधानमन्त्री दाहालले तीन महिनाको अन्तरालमा दोस्रोपटक संसद्‍बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

सभामुख देवराज घिमिरेले सोमबार १ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको जानकारी संसद्लाई गराएका थिए ।

पुस ११ मा शपथ लिएका दाहालले पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला सत्तामा संसद्को दोस्रो ठूलो दल एमाले, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायत थिए । सत्तारुढ दलहरूको संख्या पाँच थियो भने विश्वासको मत नदिने सांसदहरूको संख्या भने २ मात्रै थियो । २ सय ७५ सदस्यीय संसद्‍मा नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्रै दाहालको विपक्षमा मत जाहेर गरेका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षमा बस्ने घोषणा गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि भोट हालेको थियो । दाहालले विश्वासको मत दिएर कांग्रेसले झैं प्रतिपक्षमा बस्ने राजनीतिक दलहरूमा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत थिए ।

अहिले भने परिस्थिति फेरिएको छ। पुस १० मा एकाएक दाहाललाई प्रधानमन्त्री प्रस्ताव गरी चुनावी गठबन्धन तोडेर सत्ताधारी बनेको एमाले चैत ६ मा दोस्रोपटक विश्वासको मत लिने तयारी गर्नुपहिले नै प्रमुख प्रतिपक्षको कुर्सीमा बसीसकेको छ । दाहालले भने फेरि आफूले सबै सांसदको मत पाउने विश्वास जाहेर गरेका छन् । दाहालले यसअघि पाएको विश्वासको मतको प्रतिशत स्मरण गर्दै सोमबार शतप्रतिशत सांसदहरूले आफूलाई विश्वासको मत दिने आशा रहेको अभिव्यक्ति दिएका छन् । 'मैले आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ प्रतिशत थियो । भोलि १०० प्रतिशत नै हुन्छ भन्ने आशा छ,’ उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दाहाललाई सबै पार्टी र सांसदहरूले विश्वासको मत दिँदा राम्रो हुने बताएका छन् । उनले भने, 'विश्वासको मत दिने बित्तिकै सत्तापक्षमै बस्नुपर्ने केही छैन । प्रतिपक्षमा पनि बस्न सकिन्छ । यसअर्थमा पनि सबैले यो सरकार, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा राम्रै हुन्छ ।'

एमालेले भने संसद्‍मा प्रतिपक्षको सिट रोजिसकेकाले दाहालले विश्वासको मत नदिने भएको हो । सांसदसमेत रहेका एमाले सचिव योगेश भट्टराईले एमालेले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताए । 'एमाले जिम्मेवार प्रतिपक्ष भएकाले अहिले विश्वासको मत दिने अवस्था छैन । लोकतान्त्रिक व्यवस्थामा दह्रो प्रतिपक्ष चाहिन्छ, त्यो भूमिका एमाले निर्वाह गर्छ,' विश्वासको मत दिएर प्रतिपक्ष रोज्ने हो कि भन्ने प्रश्नको जवाफमा भट्टराईले भने, 'एमाले दोहोरो चरित्र देखाउने पार्टी होइन ।'

रातारात राजनीतिक परिस्थिति परिवर्तन नभएको अवस्थामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई कांग्रेस, रास्वपा, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतले विश्वासको मत दिनेछन् । ती पार्टीहरूले संसदीय दलको बैठकले विश्वासको मत दिने र त्यो प्रयोजनका लागि सांसदहरूलाई अनिवार्य संसद्‍मा उपस्थित भई पार्टी निर्णयअनुसार मत जाहेर गर्न ह्वीप पनि जारी गरेका छन् । एमालेसँगै राप्रपा, नेमकिपा प्रतिपक्षमा मत जाहेर गर्ने भएका छन् भने यसअघि दाहाललाई विश्वासको मत नदिएको एक सांसद भएको जनमोर्चाले सोमबार बिहान मात्रै निर्णय गर्ने अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

प्रधानमन्त्रीको पक्षमा कांग्रेस ८७ (राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि रिक्त र टेकबहादुर गुरुङ निलम्बित), माओवादी ३२, रास्वपा १९, जसपा १० (सांसद शहनाज रहमानको निधन भई रिक्त पदमा सिफारिस मञ्जु अन्सारीको शपथ बाँकी र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव नियुक्त भई सांसद पद रिक्त), एकीकृत समाजवादी १०, जनमत ६, नागरिक उन्मुक्ति ४, स्वतन्त्र २ (प्रभु साह र अमरेशकुमार सिंह) गरी १७० सांसदले विश्वासको मत दिने सम्भावना छ । प्रतिपक्षमा एमाले ७९, राप्रपा १४ र नेमकिपाका १ सांसद गरी ९४ सांसद हुने सम्भावना रहेको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्

हात्तीको न्वारान : गणतन्‍त्र आएपछि फेरिए नाम

गोविन्द पोखरेल

काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जस्थित हात्ती प्रजनन् केन्द्रमा १२ दिनअघि जन्मिएको धुव्रे हात्तीको छावाको नाम आइतबार 'विजयगज' राखिएको छ । प्रजनन केन्द्रमा हुर्काइने हात्तीको पहिचानका लागि नामकरण गर्ने चलन छ । यस्तो नामकरण राजतन्त्र कालमा राजपरिवारका सदस्यका नामबाट गरिन्थ्यो । राजनीतिक व्यवस्था परिवर्तनसँगै नाम पनि बदलिएको छ ।

यसरी नामकरण गरिएका हात्तीका नाममा कुनै दिन विशेष, घटना विशेष वा आम सर्वसाधरणले राख्ने जस्तो नाम राख्न थालिएको छ । त्यसैले अचेल जन्मिने हात्तीहरुको वीरेन्द्रगज, ज्ञानेन्द्रगज, ऐश्वर्याकली, कोमलकली, श्रुतिकलीजस्ता नाम छैनन् । व्यवस्था बदलिएपछि जन्मिएका हात्तीका नाम लोकतन्त्रकली, शेषचन्द्रगज, रमेशगज, खोरसोरकली, सीमसारगजजस्ता छन् ।

आइतबार न्वारान गरिएको हात्तीको छावालाई विजयगज नाम राख्नुको पछाडिको कारण उसको जन्मको घटनासँग जोडिएको छ । १२ दिनअगाडि पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको टोलीले शल्यक्रिया गरेर निकालिएको यो छावाको नाम उनै डाक्टरका सम्मानका खातिर राखिएको हो । दुई दिनसम्म व्याथा लाग्दा पनि बच्चा जन्माउन नसकेपछि मृत्युको मुखमा पुगेको हात्ती र छावा शल्यक्रियामार्फत् सकुशल भएपछि हात्तीको नाम विजयगज राखिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आइतबार विजयगज नाम राखिएको छावा ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भन्छन्, ‘मृत्युसँग जुधेर नयाँ जीवन प्राप्त गरेको हात्ती पनि भयो । शल्यक्रिया गर्ने चिकित्सकको नाम पनि विजय भएकाले छावाको नाम विजयगज राखियो । ’

प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरी हात्तीसारमा जन्मिएका छावालाई न्वारान गर्ने चलन पहिल्यैदेखि रहेको बताउँछन् । उनी भन्छन्, ‘मानिसको बच्चा जन्मँदा ११ दिनमा न्वारान गरिन्छ । हात्ती अलिक ठूलो जीव भएकाले १२औं दिनमा न्वारान गर्ने चलन छ ।’ उनका अनुसार हात्तीको न्वारान गर्ने दिन निकुञ्जका प्रमुख संरक्षण अधिकृत, समामजका लब्ध प्रतिष्ठित व्यक्तिहरु, विभिन्न सरकारी निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लगायतको सहभागिता हुने गर्छ ।

पहिला हात्तीले बच्चा जन्माएपछि त्यसको जानकारी निकुञ्ज, विभाग, मन्त्रालय हुँदै दरबारमा पुग्थ्यो । दरबारले नै हात्तीको नाम आफ्नो परिवारका सदस्यको नाम राख्न भन्ने गर्‍थ्यो । चौधरी भन्छन्, ‘राजाको पालामा दरबारबाटै नाम यो राख्नू भनेर आउँथ्यो । अहिले त्यसो छैन ।’ अचेल ठाउँ,व्यक्ति, घटनासँग जोडिएको नाम राख्ने गरिएको उनले बताए ।

२०७७ सालमा गणेशकलीले जन्मदिएको छावाको न्वारान गरिदै । फाइल तस्बिरः चितवन राष्ट्रिय निकुञ्ज ।

हात्तीको न्वारान गर्ने दिनमा माउलाई बिहानै नुहाई धुवाई गराइन्छ । तोरीको तेलमा जुवानो, मेथी, लसुन, राखेर माउको पुरै शरीर मालिस गरेर हात्तीलाई रंग र फूलमाला लगाइन्छ । प्रजनन केन्द्रका प्रमुख चौधरी भन्छन्, ‘मालिस गरिदिने चलनपनि पहिल्यैदेखिको हो । सुत्केरी भएको १२ दिनसम्म हामी गर्छौं । ’ एकपटक शरीरमा मालिस गर्दा दुई लिटर तेल खर्च हुने उनले बताए । न्वारान गरेपछि हात्तीलाई तेल चाहिँ आवश्यकता अनुसार गर्ने गरिन्छ ।

न्वारानको दिन माउलाई फलफूल,खीर दिइने उनले बताए । त्यसदिन पण्डित बोलाउने र मिति,तिथीको आधारबाट नाम जुराइन्छ । कहिलेकाहिँ घटनाको आधारमा पनि नाम राखिने उनले बताए । ‘विजयगजको नाम चाही घटनासँग जोडिएकाले जुराइएको हो,’ चौधरीले कान्तिपुरसित भने ।

गणतन्त्रसँगै हात्तीको नामाकरण पनि परिवर्तन आएको छ । गणतन्त्र घोषणापछि प्रजनन केन्द्रमा जन्मिएका धेरै हात्तीको नाम घटना, ठाउँ विशेषमा राखिएको छ ।

‘ न्वारान पण्डितले नै गराउँछन् । नाम चाहिँ चिफ वार्डेनले दिने परम्परा छ,’ आचार्यले कान्तिपुरसित भने,‘ भाले छ भने गज, पोथी छ भने कली । ’

२०७८ सालमा प्रजनन केन्द्रमा रहेकी नारायणकलीले जन्माएको छावा ।

लोकतन्त्र घोषणा भएको बेला २०६३ सालमा जन्मिएको एउटा हात्तीको नाम लोकतन्त्रकली राखिएको छ । गत वैशाखमा हात्तीसारमा कार्यरत रमेशकुमार चौधरीको हात्ती चराउन गएको बेला बाघको आक्रमणमा परी मृत्यु भएपछि प्रजनन केन्द्रमै जन्मिएको एउटा छावाको नाम रमेशगज राखिएको थियो ।

यस्तै, २०७१ सालमा तस्करहरुको गोली लागेर ज्यान गुमाएका निकुञ्जका गेमस्काउट शेषचन्द्र चौधरीको नाममा पनि हात्तीको नामाकरण गरिएको छ । अघिल्लो वर्षको वैशाखमा जन्मिएको छावाको नाम शेषचन्द्रगज राखियो ।

वार्डेन आचार्यका अनुसार ठाउँ विशेषको नाममा पनि हात्तीको नामकरण गरिएको छ । सीमसार दिवसमा जन्मिएको एउटा हात्तीको नाम नै 'सीमसारगज' राखियो । ‘नामकरण कुनै भाव जनाउनका लागि हात्तीको नाम राख्ने गरिएको छ,’ उनले कान्तिपुरसँग भने । खोरसोरमा जन्मिएको हात्तीको नाम पनि 'खोरसोरगज' राखिएको छ ।

पूर्राराजाहरुको नाममा नामकरण राखिएका हात्तीहरु वीरेन्द्रगज, ज्ञानेन्द्रगज, दीपेन्द्रगजको मृत्यु भइसकेको छन् । धीरेन्द्रगजको पनि मृत्यु भएको प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिए ।

तत्कालीन रानी ऐश्वर्या, छोरी श्रुतिको नाममा नामकरण गरिएका हात्तीको उमेर अहिले ३० वर्ष छ । पूर्व राजा ज्ञानेन्द्रकी श्रीमती कोमलको नाममा राखिएको 'कोमलकली' हात्ती अहिले जीवत छ । उसको उमेर ५५ वर्ष रहेको चौधरीले बताए । ज्ञानेन्द्रका छोरा पारसको नाममा राखिएको 'पारसगज'को उमेर १५/१६ वर्ष भएको उनले बताए ।

हात्ती प्रजनन केन्द्रमा राखिएको हात्ती । फाइल तस्बिरः चितवन राष्ट्रिय निकुञ्ज

जंगली हात्तीको भने नामकरण हुने गरेको छैन । तर केही घटनासँगै केन्द्रित भएर स्थानीयले नाम राखिदिएको वार्डेन आचार्य बताउँछन् । उनी भन्छन्, ‘धुव्र नाम गरेको व्यक्तिलाई मारेको भएर हात्तीको नाम 'धुव्रे' राखेको हुन सक्छ । गोविन्दे, रोनाल्डो पनि त्यस्तै कुनै घटनाबाट प्रभावित भएर स्थानीयले नाम राखिदिएको हुन सक्छ । ’

मापदण्ड बनाउने तयारी

प्रजनन केन्द्रमा जन्मिएका हात्तीको नाकरणका लागि मापदण्ड बनाउने तयारी भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक महेश्वर ढकालले हात्तीको नाकरणका सवालमा मन्त्रालयमा मापदण्ड बनाएर राख्ने विषयमा छलफल चलिरहेको बताए । उनले भने,‘मापदण्ड बनाएर नामाकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यसका लागि तिथी,मिति हेरेर, हात्तीको वंशको आधारमा पनि राख्न सकिन्छ भन्ने छ । ’

नाममा एकरुपता ल्याउनका लागि मापदण्ड बनाउनका लागिएको उनले जानकारी दिए । एउटा हात्तीको रेखदेखका लागि ३ जना खटिने र सरकारको दरबन्दी नै हुने भएकाले भालेलाई कसरी र पोथीलाई कसरी नाम राख्ने भन्ने विषयमा मापदण्ड बनाइने उनले बताए ।

प्रजनन केन्द्रमा हुर्काइएको वा घरमा पालिएका हात्तीको नाम भारत र केन्यामा पनि राख्ने गरिएको छ । केन्यामा न्वारान नै नगरिए पनि हात्तीको नाम राख्नका लागि विशेष कार्यक्रम नै आयोजना गर्ने गरिन्छ ।

२०४४ सालमा ६ वटा भाले र १४ वटा पोथी हात्ती राखेर औपचारिक रुपमा हात्ती प्रजनन केन्द्रको स्थापना गरिएको थियो । तीमध्ये १६ वटा भारतर २/२ वटा थाइल्याण्ड र म्यानमारबाट ल्याइएको थियो । प्रजनन केन्द्र स्थापना भएयता ६२ वटा बच्चा जन्मिएको चौधरीले जानकारी दिए । तीमध्ये विभिन्न रोगका कारणबाट ६ वटा छावा मरेको निकुञ्जका चिकित्सक विजयकुमार श्रेष्ठले बताए । हर्पिस भाइरसका कारण ती छावाहरु मरेका थिए ।

प्रजनन केन्द्रमा जन्मिएका हात्तीलाई तालिम दिने,हुर्काउने र अन्य निकुञ्जका हात्तीसारहरुमा दिने गरिन्छ । चालू आर्थिक वर्षमा वर्ष शुक्लाफाँटालाई दुई र अघिल्लो आर्थिक वर्षमा बाँकेलाई चारवटा हात्ती दिइएको थियो । त्यस्ता हात्तीलाई जंगल सफारी, गस्तीका लागि प्रयोग गर्ने गरिन्छ । यस्तै, बाघ गणनामा पनि हात्तीको प्रयोग गरिन्छ ।

प्रकाशित : चैत्र ५, २०७९ १९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×