राष्ट्रपतिलाई आयोगले बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन- समाचार - कान्तिपुर समाचार

राष्ट्रपतिलाई आयोगले बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार एक समारोहबीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

यस क्रममा राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताएका थिए ।

साथै उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रमुख आयुक्त थपलियाले यस वर्ष आयोगका लागि निर्वाचन वर्ष भएको भन्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो ।

प्रकाशित : चैत्र ५, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्

पुल निर्माणको माग गर्दै सिन्धुलीमा सडक अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — पुल निर्माण पूरा गर्न माग गर्दै सिन्धुलीको फिक्कलका स्थानीयले आइतबार सडक अवरुद्ध गरेका छन् । सुरु भएको दशक बित्दासमेत पुल अलपत्र परेपछि मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका-६ मा स्थानीयले दबाबस्वरुप तीनदिनदेखि सडकमा धर्ना बसेर यातायातका साधन चल्न दिएका छैनन् । 

राजमार्गको सोखुखोलामा निर्माणाधीन पक्की पुल छिटो सम्पन्न गर्न दबाब दिने उद्देश्यले चक्काजाम गर्नुपरेको स्थानीयको भनाइ छ । शुक्रबार ३ घण्टा चक्काजाम गरेका स्थानीयले शनिबार ५ घण्टा र आइतबार ६ घण्टा यातायात अवरुद्ध पारे । स्थानीयको अवरोधका कारण मध्यपहाडी राजमार्ग भएर ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, उदयपुर र सिन्धुलीबाट राजधानी आवतजावत गर्ने यात्रु तथा सवारी साधन बाटैमा अलपत्र परेका छन् ।

स्थानीय रामप्रसाद भण्डारीका अनुसार पुल निर्माण ठेक्का सुरुमा पप्पु कन्स्ट्रक्सनले पाएको थियो । पप्पुले अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर लोहनी–आत्रेय जेभीलाई दिइएको थियो । जेभीले तीन वर्ष बित्दासमेत सम्पन्न नगरेपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् । पूल निर्माण सम्पन्न गर्ने ग्यारेन्टी नभएसम्म कुनै सम्झौता नहुने स्थानीयको भनाइ छ ।

सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दैनिक यातायात अवरोध हुँदा यात्रीले सास्ती बेहोर्नु परेकाले निर्माण व्यवसायी झिकाएर त्रिपक्षीय वार्ताको तयारी भइरहेको बताइन् । 'निर्माण व्यवसायीलाई आजै झिकाइएको छ, अब स्थानीयलाई बोलाएर वार्तामा बस्छौं', उनले भनिन् । सोखुखोलामा पुल नहुँदा वर्षामा आउने बाढीले यातायात अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : चैत्र ५, २०७९ १६:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×