रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

सरकारमा सहभागी हुनेबारे पछि निर्णय गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो ।

रास्वपा सांसद सोबिता गौतमका अनुसार यसअघी प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको हो । 'मुद्दाको आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने र विश्वासको मत दिने निर्णय भएको छ,' उनले भनिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए ।

कांग्रेसलगायतका दलहरूसँग राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनाएका दाहालले विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने तयारी थालेका छन् । रास्वपाले सरकारमा सहभागिताबारे भने केही निर्णय नगरेको छैन । 'सरकारमा सहभागी हुने कि नहुने भनेर पछि निर्णय गर्ने भएका छौं,' उनले भनिन् ।

प्रकाशित : चैत्र ५, २०७९ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

स्ववियु निर्वाचन : तनहुँका ३ क्याम्पसमा मतदान जारी

२ वटाको स्थगित
सम्झना रसाइली

तनहुँ — स्ववियु निर्वाचन हुने जिल्लाका ५ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मतदान जारी छ । २ वटा क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ ।

भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पस, आँबुखैरेनी क्याम्पस र शुक्लागण्डकी नगरपालिकास्थित सहिदकृष्ण क्याम्पसमा स्ववियु नेतृत्व छान्न मतदान हुँदैछ भने व्यास नगरपालिकास्थित आदिकवि भानुभक्त क्याम्पस र शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त बहुमुखी क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ ।

आदिकवि क्याम्पसले गत शुक्रबार सूचना नै जारी गरी निर्वाचन स्थगित गरेको हो । भानुभक्त बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।

निर्वाचन हुने क्याम्पसहरुमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धन छ । अर्कोतर्फ नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी लगायतको गठबन्धन छ ।

प्रकाशित : चैत्र ५, २०७९ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×