स्ववियु निर्वाचन सुरू, काठमाडौंमा त्रिविका ७ क्याम्पसमा भएन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्ववियु निर्वाचन सुरू, काठमाडौंमा त्रिविका ७ क्याम्पसमा भएन

सबैभन्दा बढी विद्यार्थी रहेको पीएन क्याम्पस र ठाकुरराम बहुमुखीमा पनि भएन निर्वाचन
कान्तिपुर संवाददाता

काठमाडौँ — देशभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनका लागि समय तोकिएको छ ।

काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ७ वटामा भने आइतबार निर्वाचन नहुने भएको छ । काठमाडौंकाे अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन बाहेक अरुमा मतदान सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव पशुपति अधिकारीले बताए । उनका अनुसार काठमाडौं बाहिर भने अधिकांश स्थानमा स्ववियु निर्वाचन सुरु भएको छ ।

सबैभन्दा बढी विद्यार्थी रहेका पृथ्वीनारायण क्याम्पस पोखरा र ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा पनि आज निर्वाचन नहुने भएको छ । आन्तरिक विवादका कारण निर्वाचन प्रक्रिया स्थगित गरिएको हो ।


बागबाजारको पद्मकन्या क्याम्पसमा मतदान गर्न लामवद्ध विद्यार्थीहरू । तस्बिर : इलिट जोशी/कान्तिपुर

निर्वाचन समितिका अनुसार ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा निर्वाचनको तयारी गरिएको छ । १३ क्याम्पसमा विवादका कारण स्थगित गरिएको छ । काठमाडौंस्थित पद्मकन्या बहुमुखी क्याम्पसका प्रमुख राजु मल्लले निर्वाचनका लागि ५ वटा बुथ निर्माण गरिएको जानकारी दिए । पद्मकन्यामा ५ हजार ६ सय १ मतदाता छन् । देशभरका ६२ आंगिक क्याम्पसमा १ लाख ६२ हजार विद्यार्थी मतदाता छन् । काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी निर्वाचनमा सहभागी हुने गरी मतदाता नामावली सार्वजनिक भएको छ । त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांश स्ववियु चयन गर्ने प्रक्रियामा रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । आंगिकमा भन्दा सामुदायिकमा धेरै विद्यार्थी पढ्छन् । साढे ५ सय निजी कलेज छन् । अधिकारीले दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको बताए ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । त्योबाहेक विद्यार्थीले गैरदलीय रूपमा पनि उम्मेदवारी दिएका छन् । निर्वाचन निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरेर निर्वाचन लड्न पाउने व्यवस्था पहिलो पटक राखिएको छ ।

प्रत्येक क्याम्पसमा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

हरिवंशको ‘काउली’

कान्तिपुर संवाददाता

काठमाडौँ — हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यको शब्द, संगीत र स्वर रहेको लोक लयमा आधारित गीतको गायनमा उनलाई लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

चेलीबेटी बेचबिखनविरुद्ध सन्देश दिने गीतको भिडियोमा आचार्यसँगै प्रियंका कार्की, प्रकाश सपुत, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन् ।

करिब एक वर्षअघि ओलीसँगको भेटका क्रममा गीतका शब्द फुरेको आचार्यले बताए । ‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बतमा गएको थिएँ,’ हरिवंश गीत लेख्दाको क्षण सम्झन्छन्, ‘त्यहीबेला एक्कासि काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ए काउली, नचिने मान्छे आँखा झिम्काउली शब्द फुर्‍यो । त्यसपछि गीतले स्वरूप पायो ।’

गीतको भिडियो भने सरोज ओलीले निर्देशन गरेका हुन् । पारिवारिक जमघट, सांस्कृतिक कार्यक्रम तथा भेलाहरूमा रमाइलो गर्न मिल्ने गीतको एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको उनी बताउँछन् । ‘बिहे, व्रतबन्धतिर उफ्रीउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरू पनि उफ्रीउफ्री नाच्न सक्नुहुनेछ,’ आचार्यले भने । गम्भीर विष्टको कन्सेप्ट तथा कोरियोग्राफीमा तयार भिडियोको सम्पादन भने बनिश शाहले गरेका हुन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×