३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तामझामबिनै राष्ट्रपतिको सवारी

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कुमारीको दर्शन गर्न वसन्तपुरतिर सोझिए । जाँदा र फर्कंदा न सडकमा साइरन बज्यो, न अघिपछि कारकेड नै थियो । राष्ट्रपतिलाई सुरक्षा दिन लावालस्कर गाडी थिएनन् । पिलिकपिलिक बत्ती बल्ने सुरक्षाकर्मीका दुई गाडी अघिपछि थिए ।

तामझामबिनै राष्ट्रपतिको सवारी

सडकमा गाडी र सर्वसाधारणको आउजाउ चलिरह्यो । कुमारीघरमा उनी करिब २० मिनेटजति बसे । त्यसपछि सर्वसाधारणलाई हात हल्लाए र उनीहरूकै बीचबाट बाहिरिए ।

इच्छाशक्ति भए सडकमा आम जनतालाई सास्ती नदिई पनि राष्ट्रपति आउजाउ गर्न सक्ने रहेछन् भन्ने सन्देश उनले दिएका छन् । तर, यही साधारण शैलीलाई राष्ट्रपति पौडेलले भविष्यमा कति निरन्तरता दिन सक्लान् भन्ने शंका भने यही एक घटनाले मात्र मेटिँदैन ।

निर्वाचित भएलगत्तै पौडेलले केही नयाँ गरेर देखाउन चाहेको उद्घोष गरेका थिए । त्यसको भोलिपल्टै उनले सुरक्षा अधिकारी र सरोकारवालासँग निजी निवास बोहराटारमै छलफल पनि गरे । उनको पहिलो आपत्ति ‘सवारी’ शब्दमै थियो । राजारजौटाको विरासतका रूपमा आएको ‘सवारी’ शब्दको साटो ‘आवागमन वा आवतजावत’ राख्न निर्देशन दिएका थिए । सडकमा प्रधानमन्त्रीलाई भन्दा बेग्लै सुरक्षा प्रोटोकल नचाहिने उनको भनाइ थियो ।

निर्वाचितलगत्तै पशुपतिको दर्शनमा जाँदा भने सडक खाली गराइएकामा उनको आलोचना भएको थियो । तर, कुमारी दर्शनमा जाँदा भने उनले त्यसलाई सच्याएका छन् ।

‘शीतलनिवास आएपछि पनि राष्ट्रपतिले पहिलो प्राथमिकता नै सडकमा आउजाउ गर्दा साधारण सुरक्षा प्रोटोकल कायम गर्नेमै केन्द्रित छ । आफूलाई कुनै खालको सुरक्षा खतरा नरहेको र आम जनतालाई दुःख दिने गरी सडक खाली गर्नु पर्दैन भन्ने चासो नै रहेको थियो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव सुरेश चालिसेले भने, ‘बोलीमा मात्रै होइन, व्यवहारमा केही फरक गरेर देखाउन चाहनुभएको छ । उहाँले आज कुमारीको दर्शनमा जाँदा कारकेड लानु पर्दैन, सामान्य रूपमा जान चाहन्छु भन्नुभएपछि परिवर्तन भएको हो । अब यस्ता आउजाउमा यही शैलीले निरन्तरता पाउँछ ।’

प्रथम राष्ट्रपति रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार विदेशी राष्ट्राध्यक्षको भ्रमणमा सहभागी हुने र वर्षमा एकपटक संसद्मा सम्बोधन गर्ने कार्यक्रमलाई अतिविशिष्ट श्रेणीमा लिइन्छ । यस्ता कार्यक्रममा राष्ट्रपतिको सवारीमा सुरक्षा प्रोटोकलले सम्झौता गर्न मान्दैन । ‘विदेशी राष्ट्राध्यक्षको भ्रमणमा त अन्तर्राष्ट्रिय डोकोरमलाई समेत ख्याल गर्नुपर्ने हुन्छ, त्यसदेखि बाहेक नियमित खालका औपचारिक पर्व र दिवसका कार्यक्रम दोस्रो श्रेणीमा पर्छन्,’ उनले भने, ‘यी दुई श्रेणीको औपचारिक कार्यक्रमबाहेक धार्मिक तथा सांस्कृतिक र अन्य अनौपचारिक कार्यक्रममा राष्ट्रपतिले चाहँदा सामान्य अवस्थामा जान र आउन सकिन्छ । विगतमा रामवरण यादव धेरै कार्यक्रममा एउटा सुरक्षा गाडीकै भरमा हिँड्नुभएको छ, औपचारिक घोषित कार्यक्रममा भने न्यूनतम डोकोरम पालना गर्नुपर्ने हुन्छ ।’

कुमारी घर दर्शनमा पुगेका पौडेलको कार्यक्रम पूर्वघोषित औपचारिक कार्यक्रम भने होइन । शीतलनिवासका अनुसार शुक्रबार साँझ मात्रै त्यहाँ जाने तय भएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला सडकमा आम सर्वसाधारणले धेरै सास्ती व्यहोरेकाले पनि नयाँ राष्ट्रपतिको सवारीमा आमसरोकार देखिएको छ । केहीअघि मात्रै भण्डारीको सवारी क्रममा वीर अस्पतालअघि एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेपछि व्यापक विरोध भएको थियो ।

एक सुरक्षा अधिकारीका अनुसार राष्ट्रपति नै राष्ट्राध्यक्ष भएकाले राजाहरूको हकमा जस्तो सुरक्षा प्रोटोकल थियो, करिब उस्तै राष्ट्रपतिको हकमा पनि छ । अति विशिष्ट खालका कार्यक्रमबाहेक अन्य कार्यक्रममा राष्ट्रपति आउजाउ गर्दा परिस्थिति हेरेर बदल्न सकिने उनले बताए । ‘तत्कालीन राष्ट्रपतिले के गर्नुभयो भन्ने थाहा छैन । तर राष्ट्रपतिले चाहे सामान्य रूपमा आउजाउ गर्न सकिन्छ भन्ने उदाहरण शनिबार राष्ट्रपतिको कुमारी घरको दर्शन हो,’ सल्लाहकार चालिसेले भने, ‘औपचारिक कार्यक्रममा पनि तामझाम गरेर जनतालाई दुःख नदिन राष्ट्रपतिले भन्दै आउनुभएको छ ।’

प्रकाशित : चैत्र ५, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?