५ किलो नुन लिन ५ दिन यात्रा, ५ हजार खर्च

कोरोना महामारीपछि भोट बन्द हुँदा दुई दिन हिँडेर गमगढी, त्यहाँ पनि नुन प्रतिव्यक्ति ५ किलो मात्रै किन्न पाइने
राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ–२ डोल्फुका फुन्जोङ तामाङलाई ५ जनाको परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ । पाँच वर्षअघिसम्म नुन लिन भोट (चीनको तिब्बत) जाने उनी कोरोना महामारीका कारण भोट बन्द भएपछि दुई दिन हिँडेर गमगढी आउने गरेका छन् ।

५ किलो नुन लिन ५ दिन यात्रा, ५ हजार खर्च

‘गाउँमा अन्नभन्दा चर्को छ नुनको भाउ,’ उनले भने, ‘अन्न त बरु बारीमै उब्जाएर पनि खाइन्छ, नुन खोज्न पुस्तौंदेखि सास्ती भोगिरहेका छौं ।’

नुन डिपो सदरमुकाम गमगढीसहित सोरु र खत्याड गाउँपालिकामा भए पनि तिब्बत सीमाको मुगमकार्मारोङमा छैन । त्यस गाउँपालिकाको चितै, डोल्फु, कार्ती, किम्रीलगायत गाउँका बासिन्दा नुन लिन सदरमुकाम आउन बाध्य छन् । सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालयले आयोडिनयुक्त नुन प्रतिव्यक्ति ५ किलो बिक्री गर्छ । ‘दुई दिन हिँडेर सदरमुकाम आई एक दिन लाइन बसेर घर फर्किंदा ५ दिन लाग्छ,’ चितैका तोर्च तामाङले भने, ‘डिपोमा ५ किलो नुन लिन पनि कम्तीमा ५ हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ ।’

सदरमुकाममा नुन लिन आउँदा होटलमा बस्नुपर्ने अवस्था रहेको उनले बताए । डिपो खोल्न कसैले ध्यान नदिएको उनले गुनासो गरे । ‘कि नुनबिनै खाना खानुपर्‍यो, नत्र गमगढी आउनुको विकल्प छैन,’ उनले भने, ‘डिपोमा दिनभरि लाइन बस्नुपर्छ, हामीलाई ५ किलो नुन लिन पनि ठूलो दुःख छ ।’


पहिलेदेखि नै नुनको दुःख भोग्नुपरेको डोल्फु गाउँकी फुटिक तामाङले बताइन् । उनका अनुसार कोरोना महामारी नफैलिँदासम्म डोल्फुका ५६ घरधुरीका स्थानीय जेठ/असारमा नुनका लागि घोडा, खच्चड लिएर भोट जाने गर्थे । तर चीनले नाका बन्द गरेपछि लर्को लागेर नुनकै लागि गमगढी धाउनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

चितै गाउँका ६६ परिवारलाई पनि सधैं नुनको दुःख छ । चामल, दाल, घिउ, तेल, चियालगायत उपभोग्य सामान गाउँमै आउने भए पनि ढुवानी समस्याले नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता भएको छिरिङ तामाङले बताए । गमगढीबाट व्यापारीले कहिलेकाहीँ घोडा, खच्चडमा गाउँमा पुर्‍याएको ढिके नुन ७५ रुपैयाँ प्रतिकिलोमा किनेर उपभोग गर्नुपरेको उनले बताए । ‘कि महँगोमा नुन किनेर खानुपर्‍यो कि ढुवानी अनुदानको नुन ल्याउन सदरमुकाम आउनुपर्‍यो,’ उनले भने, ‘हामीलाई त वर्षैभरि नुनको चिन्ता छ ।’ मुगु, चितै, डोल्फु, कार्ती, किम्री, वाङ्रीलगायत १२ वटा बस्ती चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका छन् । मुगमकार्मारोङको जनसंख्या करिब १२ सय छ । डिपो नहुँदा स्थानीयले नुनका लागि ठूलो सास्ती खेप्नुपरेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पहिले तिब्बतबाट ढिके नुन आउँदा आयोडिनयुक्त नुनको कसैलाई वास्ता थिएन,’ उनले भने, ‘उताबाट नुन आयात रोकिएपछि सदरमुकाम पुग्नैपर्छ ।’ डिपो स्थापनाका लागि धेरै निकायमा पुगे पनि कतैबाट सुनुवाइ नभएको उनले गुनासो गरे ।


मुगमकार्मारोङमा डिपो खोल्न पहल भइरहेको साल्ट ट्रेडिङ कर्पोरेसनका शाखा प्रमुख देवेन्द्रकुमार महतोले बताए । जिल्लाभरका लागि ३२ सय क्विन्टल नुनको वार्षिक कोटा तोकिएको छ । जसमध्ये छायानाथरारा र मुगुमकार्मारोङ गाउँपालिकाका लागि बर्सेनि १२ सय क्विन्टल नुन आउने गरेको उनले जानकारी दिए । ‘वार्षिक नुनको कोटा नै अपुग छ,’ उनले भने, ‘अर्कोतिर ठेकेदारले समयमै नुन ढुवानी गर्दैनन् ।’ सरकारले ढुवानी अनुदान दिइरहेकाले सदरमुकाममा प्रतिकिलो ९ रुपैयाँमा नुन बिक्री भइरहेको छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?