माओवादीलाई रायमाझीको आरोप- 'संसद्‌मा तेस्रो दलको फूर्ति'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादीलाई रायमाझीको आरोप- 'संसद्‌मा तेस्रो दलको फूर्ति'

वीरेन्द्र केसी

अर्घाखाँची — एमाले सचिव टोपबहादुर रायमाझीले गठबन्धनले गर्दा संसद्‌मा रहेका ठूला दल सरकार बाहिर रहनु परेको बताएका छन् । संसद्‌मा तेस्रो दलको सबैभन्दा बढी फूर्ति भएको टिप्पणी गरे ।

राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको शनिबार सन्धिखर्कमा उद्घाटन गर्दै रायमाझीले ठूला पार्टी एकातिर छन्, गठबन्धनका कारण तेस्रो (माओवादी केन्द्र)ले धेरै फूर्ति लगाएको आरोप लगाए । उनले वर्तमान गठबन्धन धेरै समय नटिक्ने र यसले देशको विकास गर्न नसक्ने दाबी गरे ।

पाँच दलीय गठबन्धन भएर घेराबन्दी गर्दा पनि लोकप्रिय मतका आधारमा पहिलो दल भएको दाबी गर्दै पछिल्लो सयम एमालेको विरुद्धमा देशी, विदेशी शक्तिकेन्द्र लागेको उनले बताए । उनले एमाले प्रतिपक्षमा भए पनि देश, जनता, लोकतन्त्र, राष्ट्रियता, विकास, समृद्धि र सुशासनको पक्षमा सधैं रहेको बताए ।

आउँदो चुनावमा संसद्‌मा ५१ प्रतिशत एमाले सांसद बनाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको रायमाझीले दाबी गरे । पार्टीलाई कार्यगत एकता, संगठनको स्थिति मजबुद, वैचारिक, राजनीतिकरुपमा बलियो एमाले बनाउन ग्रासरुट अभियान सुरु भएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र ४, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

विद्यालयमा बाँसका ‘डस्टबिन’

सम्झना रसाइली

तनहुँ — विद्यार्थीलाई स्थानीय श्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापमा अभ्यस्त बनाउन विद्यालयमा बाँसबाट निर्मित डस्टबिन लगायतका सामग्री प्रयोग गर्न थालिएको छ ।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई स्थानीय स्तरमै उपलब्ध श्रोतसाधनको अधिकतम् उपयोग गरी कसरी लाभ लिन सकिन्छ भन्ने शिक्षा दिन बाँसको डस्टबिन प्रयोगमा ल्याएको हो ।

गाउँघरमा सहजै उपलब्ध हुने बाँसबाट डोको तथा शैक्षिक सामग्रीहरु तयार गरी विद्यालयमा प्रयोग गर्न थालेको प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले बताए । ‘हामीले बाँसबाट डोको बुनेका छौं, सोही डोकोलाई प्रत्येक कक्षाकोठा, कार्यालय, विद्यालय प्रांगणका ठाउँठाउँमा राखेर डस्टबिनका रुपमा प्रयोग गर्न थालेका छौ’, उनले भने, ‘गाउँमै उपलब्ध बाँसबाट अभिभावकहरु वीरबहादुर गुरुङ र आश बहादुर गुरुङले विद्यालयका लागि डस्टबिनका रुपमा प्रयोग गर्न डोको बनाइदिनु भएको छ ।’

प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयबाट अभिभावकलाई सामान्य खाजाखर्च मात्र उपलब्ध गराइएको छ । यसरी बाँसको डोकोलाई डस्टबिनका रुपमा प्रयोग गर्दा प्लाष्टिकजन्य वस्तुको प्रयोग हटेको छ । उनले भने, ‘प्लाष्टिकजन्य वस्तुको प्रयोग नगरी वातावरणमैत्री स्थानीय स्तरमै पाइने वस्तुको प्रयोग गर्दा आर्थिक भार पनि कम भएको छ ।’

प्लाष्टिकको डस्टबिनभन्दा बाँसको डस्टबिन बढी टिकाउ र विद्यालयमा उपयुक्त पनि भएको गणित विषयका शिक्षक विकास गुरुङले बताए । ‘२/३ सय रुपैयाँ खर्चेर प्लाष्टिकको डस्टबिन ल्यायो, केही समयमै फुटेर पटकपटक फेर्नुपर्थ्यो’, उनले भने, ‘डोको प्रयोग गर्दा विद्यार्थीहरुलाई गाउँघरमै पाइने यस्ता वस्तुको प्रयोग गरी कसरी लाभ लिन सकिन्छ र वातावरणमैत्री क्रियाकलापका विषयमा पनि सिकाउन सहज भएको छ ।’

यस्तै, शिक्षकहरुले विद्यार्थीलाई सामाजिक कार्यमा कसरी सहभागी बनाउन सकिन्छ भन्ने शिक्षा दिन आफैंले विद्यालय भवनका जीर्ण भर्‍याङ, ढोका, भवनका भित्ता, खेलमैदान सरसफाई, मर्मतसुधार तथा रङ्गरोगन पनि गर्दै आएका छन् । प्रधानाध्यापक गुरुङले भने, ‘बिदाको समयमा हामीले विद्यालयको भौतिक संरचनाको रेखदेख गर्दै आएका छौं । गत फागुनको पहिलो हप्ता जीर्ण बन्दै गएको भर्‍याङ सरसफाई गरी सिमेन्ट लगाएर प्लास्टर गर्‍यौं र विद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा कसरी सहभागिता जनाउन सकिन्छ भन्ने जानकारी पनि गरायौं ।’

आँबुखैरेनी गाउँपालिकाको विकट क्षेत्रमा रहेको यस विद्यालयमा विशेषगरी जनजाति समुदायका करिब १३२ जना विद्यार्थी अध्ययनरत छन् । यीमध्ये अधिकांश विद्यार्थीहरु डेढ/दुई घण्टा हिँडेर विद्यालय आउनेजाने गर्छन् ।

विद्यार्थीहरु घण्टौं समय खर्चा गरी विद्यालय आउजाउ गर्नुपर्ने भएपछि आँबुखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रबाट विद्यालयमा स्कुल बसको व्यवस्थापन गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘ग्रामीण क्षेत्रको यो विद्यालयमा विद्यार्थीहरु घण्टौं खर्चिएर अध्ययन गर्न जाने गरेको हुँदा उनीहरुको शिक्षामा सहज पहुँच पुर्‍याउने उद्देश्यले विद्यालय बसको अवधारण अगाडि ल्याएका छौं’, उनले भने, ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको छ ।’

प्रकाशित : चैत्र ४, २०७९ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×