मन र विचार मिल्नेसँग पार्टी एकता : अध्यक्ष नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन र विचार मिल्नेसँग पार्टी एकता : अध्यक्ष नेपाल

रासस

सिन्धुपाल्चोक — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग एकता हुन सक्ने बताएका छन् । 

मेलम्चीमा शनिबार आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । 'आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन', उनले भने ।

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने– 'देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।'

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको सहभागिता थियो ।

प्रकाशित : चैत्र ४, २०७९ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक : राष्ट्रपति पौडेल

रासस

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । शनिबार शीतल निवासमा संघीय र प्रदेश सांसदहरूका लागि राखिएको चियापान समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले पनि मुलुकमा थुप्रै चुनौती रहेको र त्यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् । 

राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा भने, 'मुलुकमा अहिले पनि थुप्रै चुनौती छन् । कोभिड–१९ महामारीपछि विश्वव्यापीरुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवं जलवायु परिवर्तनले देखापर्न थालेका असरको न्यूनीकरण तथा राजनीतिक उपलब्धिको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु ।'

प्राप्त राजनीतिक उपलब्धिको सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ सबै गम्भीर हुन आवश्यक रहेको उनले बताए । राष्ट्रपति पौडेलले अबको बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ संघीय सरकार तथा संघीय संसद् र प्रदेश सरकार तथा प्रदेशसभाका सदस्यले सकारात्मक भूमिका खेल्ने आफ्नो अपेक्षा रहेको बताए ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायत सहभागी थिए ।

प्रकाशित : चैत्र ४, २०७९ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×