कारकेडबिना नै कुमारी घर पुगे राष्ट्रपति पौडेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कारकेडबिना नै कुमारी घर पुगे राष्ट्रपति पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल कारकेडबिना नै काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । राष्ट्रपति बनेपछि पौडेल शनिबार अपराह्न पहिलोपटक कुमारी घर दर्शन गर्न पुगेका हुन् ।

पौडेलको सवारीको क्रममा सडक खाली गराइएको थिएन । यसअघिका राष्ट्रपतिको सवारीमा सडक खाली गराइए पनि पौडेल भने सडक खाली नगराइकन कुमारी घर दर्शन गर्न पुगेका हुन् ।

यस क्रममा सर्वसाधारणको सवारीलाई पनि सुरक्षाकर्मीहरुले रोकेका थिएनन् । राष्ट्रपतिको कारकेडसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको भन्दै यसअघि उच्च पदस्थ अधिकारीहरूको आलोचना पनि हुने गरेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पनि पशुपतिनाथ दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना गरिएको थियो ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि सडकमा हिँडेको भन्दै प्रहरीले एक चिकित्सकलाई कुटपिट गर्दा व्यापक विरोध र प्रदर्शन पनि भएको थियो ।

प्रकाशित : चैत्र ४, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

मन र विचार मिल्नेसँग पार्टी एकता : अध्यक्ष नेपाल

रासस

सिन्धुपाल्चोक — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग एकता हुन सक्ने बताएका छन् । 

मेलम्चीमा शनिबार आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । 'आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन', उनले भने ।

गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने– 'देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो ।'

अध्यक्ष नेपालले अझै पनि नेपालमा कम्युनिष्ट लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायतको सहभागिता थियो ।

प्रकाशित : चैत्र ४, २०७९ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×