१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रामसहायप्रसाद यादव : गणित शिक्षकको राजनीतिमा मिलेको हिसाब

काठमाडौँ — मधेसका नागरिकको अधिकारका लागि संघर्ष गर्दा–गर्दै राजनीतिमा लागेका जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेका छन् । एमालेसँगको गठबन्धनमा बारा–२ बाट चुनाव जितेका उनी पार्टीको संसदीय दलको नेता बनेका थिए ।

रामसहायप्रसाद यादव : गणित शिक्षकको राजनीतिमा मिलेको हिसाब

तर, राष्ट्रपतिको निर्वाचनमा फरक गठबन्धन तय हुँदा उनी कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका हुन् ।

शिक्षण पेसाबाट सामाजिक सेवा र मधेशका नागरिकको हक हितको क्षेत्रमा काम गर्न थालेका उनी मधेश आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा होमिए । ०६४ मा शिक्षक पेसा छोडेर पूर्णकालीन राजनीतिमा आएका उनी पार्टीको महासचिवसम्म भए । यही बीचमा उनी तीन पटक सांसद र एक पटक मन्त्रीसमेत भए ।

मधेशको राजनीतिमा इमान्दार र शालीन नेताको छवि बनाएका यादव अब सक्रिय राजनीतिमा विश्राम लगाउँदै ५२ वर्षको उमेरमै उपराष्ट्रपति बनेका छन् । त्यसो त रामसहायको लागि यही वर्षको यो दोस्रो राजनीतिक छलाङ्ग हो । उनी यही वर्ष यसअघि सर्वसम्मतरुपमा पार्टीको संसदीय दलको नेता बनेका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादव चुनावमा पराजित भएका कारण उनलाई दलको नेता बन्ने बाटो खुलेको थियो । तर अहिले उनी आफैंले उपराष्ट्रपति बनेर अध्यक्ष यादवलाई संसद् छिर्ने जस्केलो तयार गरिदिएका छन् ।

०६४ पछिमात्रै राष्ट्रिय राजनीतिमा देखिएका रामसहाय मधेश आन्दोलन र त्यहाँका नागरिकको अधिकारकालागि भने साढे तीन दशकदेखि संघर्षरत छन् । राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्, ‘रामसहाय यादव मधेश आन्दोलनबाट उदाएका नेता, संघर्षशील व्यक्तित्व हुन् । उहाँ आफ्ना कुरा प्रष्ट राख्नुहुन्छ । तर हिंसा चाहानुहुन्नँ उहाँ शालिन व्यक्तित्व हो ।’ उनले सादा जीवनशैली अपनाउने रामसहायलाई गणतन्त्रको उपराष्ट्रपति पद सुहाउने टिप्पणी गरे ।

बाराको बसबरिया गाउँमा बुवा प्रसादराय यादव र आमा सिहवादेवी यादवको कोखबाट ०२७ सालमा जन्मेका उनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट गणितमा बीएड गरे, भारतबाट गणित र विज्ञानमा बीएस्सी गरे । पढाई पूरा भएपछि गणित र विज्ञान पढाउन थालेका उनले करिब १७ वर्ष शिक्षण गरे । तर, गाउँमा गणित र विज्ञान पढाउने शिक्षक उनले मधेशलाई हेर्ने काठमाडौंको नजर र सामाजिक भेदभावलाई नजिकबाट बुझेकामात्रै थिएनन्, त्यसकाविरुद्ध बलियो संगठन र जनाधार समेत तय गरेका थिए ।

तत्कालिन नेपाल सद्भावना पार्टीको नेपाल शिक्षक मञ्चमा आवद्ध भएका उनी मञ्चको केन्द्रीय कोषाध्यक्षसम्म भए । शिक्षण पेसामा हुँदा नै मधेशका नागरिकको अधिकारका लागि सडक संघर्ष र आन्दोलनको नेतृत्व गरेका उनी ०५७ सालमा आन्दोलनका क्रममै गिरफ्तार समेत भए ।

नेता गजेन्द्रनारायण सिंहको व्यक्तित्वबाट प्रभावित भएका उनी सिंहकै सानिध्यमा मधेश आन्दोलनमा सक्रिय बनेका थिए । यसबीचमा उनी सद्भावनाको राष्ट्रिय महाधिवेशनहरूमा प्रतिनिधिको रुपमा समेत सहभागी भए । एकपटक काठमाडौंको भद्रकालीमा सिंह नेतृत्वमा नागरिकता विधेयकको विषयमा प्रदर्शन भएको थियो, प्रहरीले नेता सिंहसहित प्रदर्शनकारीलाई हिरासतमा लियो । त्यसबेला सिंहसँगै पक्राउ पर्नेमा यादव पनि थिए ।

०५८ सालमा नेता सिंहको मृत्यु भएपछि बद्रीप्रसाद मण्डल सद्‍भावनाको कार्यवाहक अध्यक्ष भए । तत्कालिन सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका मण्डलले सद्‍भावनामा कब्जाको नीति लिएको भन्दै विवाद भयो । पार्टी विभाजनको स्थितिमा पुग्यो । त्यसबेला पार्टी विभाजन रोक्न राजबिराजस्थित सप्तरी सेवा आश्रममा यादव अनसनमा बसे । पछि सिंहकी पत्नी आनन्दीदेवी सिंहको नेतृत्वमा सद्‍भावना एकतासहित अघि बढ्ने भएपछि अनशन तोडियो, नयाँ पार्टीको नाम नै ‘सद्‍भावना पार्टी आनन्दीदेवी’ राखियो ।

त्यसबेला सद्‍भावना विभाजन हुन नदिन अनशनमै उत्रिएका रामसहायले उपेन्द्र यादव भेटेपछि आफैंले पार्टी छोडे । सुरूमा गैरसरकारी संस्थाकोरुपमा खुलेको मधेशी जनअधिकार फोरममार्फत् काम गर्दै आएका यादवले मधेशका नागरिकको अधिकारबारे प्रशिक्षित गरेपछि रामसहाय उपेन्द्रसँगै हिड्न तयार भएका थिए । र, ०५९ सालमा उनी फोरममा आवद्ध भए ।

त्यसबेलासम्म मधेशमा फोरमले भूमिगत गतिविधि गरिरहेको थियो । शिक्षण पेसामा रहेका रामसहायले भूमिगतरुपमै संघर्ष गरिरहेका थिए । ०६० सालमा भूमिगत अवस्थामै उनी मधेशी जनअधिकार फोरम बाराको जिल्ला अध्यक्ष भए, त्यसबेला उनी नेतृत्वमा ७ सदस्यीय कार्यसमिति बनेको थियो ।

बारामा कुशल संगठकको परिचय बनाएका उनले त्यसबीचमा पर्सामा समेत जिल्ला संयोजकको भूमिका पाए । छोटो अवधिमै उनी केन्द्रीय समितिमा पुगे । राजनीतिक दलकारुपमा दर्ता नभई भूमिगत गतिविधिमा रहेको फोरमले ०६३ माघ २ गते मधेशमा अन्तरिक संविधान जलाउने कार्यक्रम राख्यो, त्यसको नेतृत्व रामसहायले नै गरेका थिए । संविधानविरोधी गतिविधि गरेको आरोपमा उनी ३० माघमा पक्राउ परे ।

त्यसबेला पक्राउ परेका ३२ जनामध्ये रामसहायलगायत ९ जनालाई प्रहरीले ९० दिनका लागि जेल चलान गरेको थियो । तर फोरमको निरन्तरको आन्दोलनपछि उनीहरू रिहा भए ।

पछि ७ फागुनमा रौतहटको गौरमा फोरम र माओवादी कार्यकर्ताबीच झडप भयो । घटनापछि फोरममाथि झन् जोखिम बढ्यो । फोरमका नेता रौतहट पुग्ने अवस्था थिएन । तर, त्यसबेला रौतहट निरीक्षणमा पुगेका अध्यक्ष यादवले रामसहायलाई सहजीकरण गर्न लगाएका थिए । बारामा आन्दोलनको नेतृत्वदेखि गौर घटनासम्ममा रामसहायले विश्वास जितेपछि उपेन्द्र र रामसहायको सम्बन्ध कसिएको थियो ।

फोरम र तत्कालिन सरकारबीच सहमति भएपछि रामसहायको राजनीतिक यात्रा झन् सहज बन्यो । अध्यक्ष यादवको विश्वास जितेका उनी ०६४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा सदस्य भए । अर्को वर्ष अध्यक्ष यादवले केन्द्रीय समिति बैठकबाट रामसहायलाई पार्टीको महासचिव मनोनित गरे ।

त्यसयता उनी निरन्तर अध्यक्ष यादवको सहयोगीकारुपमा पार्टीको शक्ति केन्द्रमा छन् । त्यसपछि अशोक राई नेतृत्वको संघीय समाजवादीसँग पार्टी एकता हुँदा होस् वा राष्ट्रिय महाधिवेशन, उनी निरन्तर महासचिवको जिम्मेवारीमा सुरक्षित रहिरहे ।

पछि संघीय समाजवादी र नयाँ शक्ति पार्टीबीच फेरि एकता भयो, र जनता समाजवादी पार्टी बन्यो, त्यसबेला पनि उनी पहिलो वरियताकै महासचिव रहे । अहिले त्यही पार्टी फेरि तीन टुक्रा बनिसकेको छ । तर, यादव नेतृत्वको जसपामा उपेन्द्रका बलियो सहयोगी रहेका रामसहाय पार्टीमा शक्तिशाली भूमिकामै थिए ।

०६४ मा संविधानसभा सदस्य बनेका रामसहायको नाम ०७० मा पनि समानुपातिक बन्दसूचीमा अटाएको थियो । तर, उनी निर्वाचित भने भएनन् । ०७४ मा भने उनी बारा–२ बाट उम्मेदवार बनेर निर्वाचित भए ।

०७८ मा उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भए । यसपटक बारा–२ मै दोहोरिएर निर्वाचित भएका उनले कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई झिनो मतान्तरले पराजित गरेका थिए । उनले १३ हजार ८२२ मत ल्याउँदा कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए ।

जसपाका प्रवक्ता मनिष सुमन मधेश आन्दोलनमा लामो संघर्ष गरेका यादव उपराष्ट्रपतिमा निर्वाचित मधेशका लागि गौरवको विषय हुने बताउँछन् । ‘उहाँ शिक्षण पेसाबाट आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा आउनुभएको हो । सामान्य किसान परिवारमा जन्मिएको नेता अब देशको उपराष्ट्रपति बन्नुभएको छ, यो हाम्रो आन्दोलनको उपलब्धि पनि हो,’ उनले भने, ‘वास्तवमा रामसहाय यादव समाजवादी प्रवृत्ति भएको व्यक्तित्व हो । उहाँ पार्टीमा प्रभावशाली नेता हो, तर उहाँ आफ्नो खाना आफैं बनाउनुहुन्छ, आफैँ कपडा धुनुहुन्छ, गाई दुहुनुहुन्छ । अरूले मधेशमा चुनाव जित्न धेरै खर्च गर्नुपरेको सुनिन्छ, तर उहाँ थोरै खर्चमा चुनाव जित्ने नेता हो ।’

प्रकाशित : चैत्र ३, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?