१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कांग्रेससँग ०८४ सालमा होइन, अहिल्यै प्रतिपक्षमा भेट भएको छ : ओली

'डेमोक्रेटिक सिस्टममा हारजित हुनु त स्वाभाविक हो । यो डेमोक्रेटिक सिस्टमभन्दा पनि साँठगाँठे सिस्टम भयो'

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनमा गडबडी हुनसक्ने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नमा अध्यक्ष ओलीले कांग्रेसका केही नेताको भनाइका कारण गडबडीको अनुमान गर्न सकिने बताएका हुन् । 

कांग्रेससँग ०८४ सालमा होइन, अहिल्यै प्रतिपक्षमा भेट भएको छ : ओली

कांग्रेस महामन्त्री गगन थापाले एमालेसँग तत्काल सरकारमा सहकार्य नहुने बताएका थिए । राष्ट्रपति निर्वाचनका दिन एमाले अध्यक्ष ओलीले कांग्रेससँग कहिल्यै नमिल्ने कसम नखाएको बताएका थिए । त्यसैको जवाफमा कांग्रेस महामन्त्री थापाले एमालेसँग तत्काल सहकार्य सम्भव नभएको बताएका थिए । उनले २०८४ सालमा प्रतिपक्षी नेताका रूपमा ओलीलाई भेट्ने बताएका थिए । उनले भनेका थिए, '२०८४ मा त्यो सम्भावना हुन सक्छ । हामी बालकोट आउँछौं । प्रमुख प्रतिपक्षी दलको नेतालाई भेटघाट गर्छौं ।'

त्यसैको प्रतिउत्तरमा एमाले अध्यक्ष ओलीले शुक्रबार उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि भने, 'मैले अस्ति सरकारमा कांग्रेससँग सहकार्य कहिल्यै हुँदैन भन्ने कसम खाएको छैन भनेको थिएँ । एकजना चर्का कांग्रेसीले ०८४ सालपछि प्रतिपक्षमा एमालेसँग भेट हुन्छ भन्नु भएको रहेछ । प्रतिपक्षमा भेट्न ०८४ सालमा पर्खुनुपर्दैन अहिल्यै भेट्नु भएको छैन । यो कुराले उहाँहरूभित्र निकै गडबडी देखिन्छ । किन त्यस्तो कुरा बोल्नुपर्‍यो भन्दा त्यहाँ केही गडबडी छ कि !'

सरकार बनाउने तपाईंहरूको कुनै अर्को तयारी छ कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'सबै कुरा तपाईंहरूलाई भनेँ भने तयारी के भयो र ? डेमोक्रेटिक सिस्टममा हारजित हुनु त स्वाभाविक हो । यो डेमोक्रेटिक सिस्टमभन्दा पनि साँठगाँठे सिस्टम भयो । कसले जित्यो हार्‍यो भन्ने कसको शक्ति कति भन्ने नै भएन । जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको छ । यसलाई के भन्ने ।'

प्रकाशित : चैत्र ३, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?