उपराष्ट्रपति निर्वाचनको मतदान सकियो- समाचार - कान्तिपुर समाचार

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

संघीय संसदका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ मत खस्यो
कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए ।

राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहे ।

यसैबीच जसपाका सांसद सहनाज रहमानको मृत्यु भएको छ । संघीय संसद्‍ भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । शुक्रबार साँझ नै मतगणना सम्पन्न गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्

अर्घाखाँचीको पाणिनी क्याम्पसमा तालाबन्दी

चार वर्षदेखि सञ्चालक समिति गठन नहुँदा स्ववियु निर्वाचन अनिश्चित
वीरेन्द्र केसी

अर्घाखाँची — सन्धीखर्कको पाणिनी बहुमुखी क्याम्पसमा सञ्चालक समिति नेतृत्वविहीन हुँदा उत्पन्न विवादका कारण नेविसंघसहितका संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

पाणिनी बहुमुखी क्याम्पस चार वर्षदेखि सञ्चालक समितिविहीन हुँदा स्ववियु निर्वाचन पनि अनिश्चित बनेको छ । यसअघि जिल्लाका दलहरूले सहमतिका आधारमा स्ववियुमा पद भागबण्डा गरिए पनि सञ्चालक समिति नै नहुँदा क्याम्पसमा तालाबन्दी गरिएको नेविसंघका प्रतिनिधि विशाल आचार्यले बताए ।

सञ्चालक समितिको कार्यकाल सकिएको चार वर्षसम्म पनि दलका प्रतिनिधिहरूबीच कुरा नमिल्दा सञ्चालक समिति गठन हुन सकेको छैन ।

नेविसंघका प्रतिनिधि विशाल आचार्य, अनेरास्ववियुका प्रतिनिधि विक्रम नेपाली, अखिल (क्रान्तिकारी)का अध्यक्ष सुदिप खनाल, अनेरास्ववियूका प्रतिनिधि नवीन विक, अखिल (छैठौं)का जिल्ला अध्यक्ष जीवन नेपाली, बहुमत नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष पदम नेपाली, नेत्रविक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरी सी लगायत विद्यार्थी नेताले क्याम्पसमा तालाबन्दी गरेका हुन् । सञ्चालक समिति गठन नहुँदासम्म ताला नखोल्ने उनीहरूको अडान छ ।

प्रकाशित : चैत्र ३, २०७९ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×