काठमाडौँ — उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानको समय बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म तोकेको छ।
उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको थियो ।
उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् भने अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् ।
रामसहाय यादव गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका छन् भने प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी छिन् । गठबन्धनमै रहे पनि जनमत पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने बताएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै नतिजा आउने बताएको छ ।
काठमाडौँ — विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
बिहीबार यूएईविरुद्ध ९ रनको जित हासिल गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली क्रिकेट टिमलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय टिमका सदस्यहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।
यसैगरी उनले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणासमेत गरेका छन् ।
प्रधानमन्त्री दाहालले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’
प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’
‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुखदुःखमा साथमै हुनेछु‚’ प्रधानमन्त्री दाहालले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २ लाख राशीले पुरस्कृत गरिसकिएको छ । आज म तपाईंहरूलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’