२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

रामसहाय बहाना, उपेन्द्र निसाना

मधेशमा वर्चस्व कायम गर्ने यादव र राउतको राजनीतिक लडाइँले उपराष्ट्रपतिमा नौदलीय गठबन्धनबाट साझा उम्मेदवार तय हुन सकेन
बबिता शर्मा

काठमाडौँ — अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतको तराई–मधेशमा वर्चस्व कायम गर्ने राजनीतिक लडाइका कारण उपराष्ट्रपतिमा एकल उम्मेदवार बनाउने नौदलीय गठबन्धनको प्रयास अझै सफल भएको छैन ।

रामसहाय बहाना, उपेन्द्र निसाना

यादव र राउतको टकरावमा दक्षिणी छिमेकीको पनि चासो रहेको नेताहरू बताउँछन् । उपराष्ट्रपतिको निर्वाचन भने शुक्रबार हुँदै छ ।

गठबन्धनको दल जनता समाजवादी पार्टीले संसदीय दल नेतासमेत रहेका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त हुने बारा–२ बाट उपनिर्वाचनमार्फत संसद् प्रवेश गर्ने योजनामा पार्टी अध्यक्ष उपेन्द्र यादव रहेका छन् । उनलाई रोक्ने लक्ष्यका साथ गठबन्धनको अर्को दल जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी दर्ताका बेला समर्थन गरेका लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई नै मत दिने देखिएको छ । एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

जसपा अध्यक्ष यादव गत मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत पार्टी अध्यक्ष राउतसँग सप्तरी–२ मा पराजित भएका थिए । यादव एमालेसँग तालमेल गरेर उठ्दा पनि १८ हजारभन्दा बढी मत अन्तरले पराजित भएका थिए । चार महिनाअघि आफैंले हराएको व्यक्ति संसद्मा नआओस् भन्ने राउतको चाहना छ । यादवले भने आफू संसद् छिर्न गठबन्धनबाट अडान राखेरै उपराष्ट्रपति पद आफ्नो पार्टीको भागमा पारेका हुन् । ‘सीके राउतले ममता अगाडि सार्नुको उद्देश्य उपेन्द्र यादवलाई संसद्को बाटो रोक्ने प्रयास हो । तर, गठबन्धनका ठूला दल कांग्रेस, माओवादी र एकीकृत समाजवादी जसपाका रामसहायप्रसादको पक्षमा रहेकाले राउतको कार्ड सफल हुने सम्भावना कम छ,’ लोसपाका एक शीर्ष नेताले भने ।

राउतको दल यसै वर्षको निर्वाचनबाट मधेशमा उदाएको हो । यादवको दल जसपा भने निर्वाचनमा खुम्चिएको छ । राउतलाई कमजोर नपारेसम्म मधेशमा बलियो शक्ति बन्न नसकिने यादवको विश्लेषण छ । अर्कातिर आफ्नो मिसनमा यादव बाधक हुन सक्ने राउतको बुझाइ छ । ०६४ पछि डेढ दशक लगातार संसद्मा रहेका यादव उपप्रधानमन्त्रीसम्म भइसकेका छन् । राउत यसैपालि सांसद बनेका हुन् । यादव र राउतको प्रतिष्ठाको स्वार्थ अहिले उपराष्ट्रपति निर्वाचनमा ठोक्किएको हो । राउतले यादवलाई रोक्न नसक्ने जसपा प्रवक्ता मनीष सुमन बताउँछन् ।

आमनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री पदलाई लिएर यादव र राउतबीच तनाव देखिएको थियो । एमाले–माओवादीसहितको गठबन्धनमा पहिलो कार्यकाल जसपाले र दोस्रो कार्यकाल जनमतले पाउने गरी मधेशमा सरकार गठनको प्रक्रिया अगाडि बढेको थियो । त्यहीअनुसार गत पुस २७ मा जसपाका सरोज यादव मुख्यमन्त्री बनेका छन् ।

उपराष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन नौदलीय गठबन्धनले बुधबार बैठक गरेको थियो, जहाँ शीर्ष नेताहरूले राउतसँग रामसहायका पक्षमा सहयोग मागेका थिए । जवाफमा जनमत पार्टीका अध्यक्ष राउतले भनेका थिए, ‘हामी गठबन्धन एक हुनुपर्छ भन्ने पक्षमै छौं । बरु, राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुँदा राम्रो सन्देश गएको छैन । संविधानको मर्म, जनचाहना र समावेशिताका लागि महिला उम्मेदवारलाई अघि सारौं ।’ बैठकमा जसपा अध्यक्ष यादवले रामसहायप्रसादको उम्मेदवारी संविधानसम्मत रहेको पुष्टि भएको बताएका थिए ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ राउतको प्रस्तावको पक्षमा थिइन् । तर लोसपासमेत जसपाका उम्मेदवारको पक्षमा देखिएपछि उनी पनि सकारात्मक भइन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले सहमतिमै एक उम्मेदवार सार्न सके राम्रो हुने सुझाव दिए ।

स्रोतका अनुसार राउत पहिलो चरण नतिजाविहीन बनाउन चाहन्छन् । निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्छ । पहिलो चरणमा रोक्न सके थप रणनीतिसहित अगाडि जान सकिने राउतको विश्लेषण छ । तर, जसपा प्रवक्ता सुमनले गठबन्धनका अन्य सबै दल यादवलाई मत दिने निर्णयमा पुगेका कारण पहिलो चरणमा नै उनी निर्वाचित हुने दाबी गरे । जनमतका प्रवक्ता चन्दन सिंहले सत्ता गठबन्धनभित्र रामसहायप्रसादको उम्मेदवारीमा सहमति नभएको दाबी गरे ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?