१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोटो काठमाडौंमा १६ देशका ६० भन्दा बढी सहभागीले कृति प्रदर्शन गर्दै

काठमाडौँ — फोटो काठमाडौँ फोटोग्राफी फेस्टिभलको पाचौं संस्करण काठमाडौं‌मा सुरु भइरहेको छ । चैत १७ गतेसम्म आयोजना हुने यो फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै सहभागीले आफ्ना कृति प्रदर्शन गरिरहेका छन् ।

फोटो काठमाडौंमा १६ देशका ६० भन्दा बढी सहभागीले कृति प्रदर्शन गर्दै

प्रवचन र कार्यशाला प्रशिक्षण,परामर्श एवं रेजिडेन्सी कार्यक्रममा उनीहरु सहभागी भइरहेको फोटो काठमाडौंकी मिडिया कोअर्डिनेटर मरिसा टेलरले जानकारी दिइन् । ललितपुरका ६ विभिन्न स्थानमा प्रदर्शनीस्थल राखिएको छ । ती स्थलमा हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनका लागि खुल्ला छन् ।

फेस्टिभलमा विभिन्न सहभागीका दृश्य प्रस्तुति तथा शिक्षण पहलहरू रहेका छन् । यसमा बंगलादेशका कलाकार, कला प्रबन्धक तथा शिक्षक मुनेम वासिफ , स्विट्जरल्यान्ड्सका कलाकार तथा लेखक उरिएल ओर्लफ, उत्तरपश्चिम अस्ट्रेलियाको मिरिवुङ् कन्ट्रीकी कलाकार तथा लेखक अलाना हन्ट, पूर्वी नेपालमा जैविकविविधता संरक्षण तथा वातवरणीय शिक्षाको क्षेत्रमा नयाँ मानक स्थापना गर्न कार्यरत केटिके बेल्ट प्रोजेक्ट, काठमाडौँस्थित डिजिटल अभिलेख नेपाल पिक्चर लाइब्रेरी, भारतीय फिल्ममेकर श्रीराम मुरली, भारतीय पंक्षीका प्वाँखबारे अध्ययन तथा अभिलेखन गर्न इसा मुन्सीद्वारा सुरु गरिएको द फेदर लाइब्रेरी (भारत), दार्जिलिङकी वनस्पति कलाकार हेमलता प्रधान, मेक्सिको/बेलायतकी अन्तरविधात्मक दृश्य कलाकार मोनिका अल्काजार डुअर्टे र प्रख्यात लेखक, कला प्रबन्धक, चलचित्रनिर्माता तथा फोटोग्राफी र दृश्यसंस्कृतिबारे सिद्धान्त प्रतिपादक अरिएला आझुले, नेपाल पिक्चर लाइब्रेरी (नेपाल), म्याड्स निस्सेन (डेनमार्क) आदि छन् ।

फोटो काठमाडौंको प्रत्येक संस्करणमा कलाकार रेजिडेन्सी आयोजना हुने गर्छ । यस वर्षको रेजिडेन्सी कार्यक्रमलाई जटायु गिद्ध रेस्टुरेन्ट तथा नेपाल पन्छी संरक्षण संघसँग सहकार्यमा आयोजना गरिएको टेलरले बताइन् । नेपालका अजयनरसिंह राणा, स्विडेनका हिलसाइड प्रेजेक्ट्स/योनास बट्टर्न तथा भारतकी नीलन्जना नन्दीले नवलपरासीको कावासोतीस्थित जटायु गिद्ध रेस्टुरेन्टमा गिद्धहरू, समुदायद्वारा संरक्षण व्यवस्थापनका पहलबारे सिक्दै समय बिताएका थिए ।

फेस्टिभलले ललितपुरस्थित सृजनालयसँग सहकार्यलाई निरन्तरता दिँदै यस वर्ष पनि एक सशक्त कला तथा शिक्षा कार्यक्रम सञ्चालन गर्दै बालबालिका, युवापुस्ता तथा परिवार र शिक्षकसम्म पुग्ने उद्देश्य राखेको छ ।

सन् २००७ मा कलाकारहरूकै नेतृत्वमा काठमाडौँमा स्थापना भएको फोटोसर्कलले दृश्य कथावाचक, अध्येता, शिक्षक, अभियान्ता तथा सांस्कृतिक सामग्री उत्पादन गर्ने अन्य व्यक्तिहरूका लागि सामाजिक परिवर्तनसँग अन्तरक्रिया गर्न आवश्यक स्रोतसाधन निर्माण गर्ने बताइएको छ । प्रत्येक दुई वर्षमा हुने फोटो काठमाडौँ सार्वजनिक क्षेत्रमा आयोजना हुने गर्दछ र यसमा सहभागिता सबैका लागि नि:शुल्क र निर्बाध हुने गरेको आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र २, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?