उपराष्ट्रपति निर्वाचनको तयारी पूरा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

रासस

काठमाडौँ — उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई  मतदान केन्द्रको व्यवस्था गरिएको छ । 

बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 'निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ', सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले भनिन्, 'मतपत्र पनि केन्द्रमा आइसकेको छ ।' संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार छन् ।

संघीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत संकेत गर्नुपर्नेछ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन् । 'मतदानपश्चात् तत्काल मतगणना हुन्छ', उनले भनिन्, 'साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरेको छौँ ।' उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सदस्य र प्रदेशसभाका सदस्य मतदाताका रुपमा रहेको छन् । उपराष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसदले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।

नेपालको संविधानको धारा ६७ मा नेपालमा एक उपराष्ट्रपति हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संविधानमा उल्लेख छ । निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतःरिक्त हुने संवैधानिक प्रावधान छ । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।

नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो निर्वाचन हुन लागेको हो । मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिको निर्वाचन भएको थियो । पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

प्रकाशित : चैत्र २, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्

सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ५६ अर्ब बढी

पुँजीगत खर्च २२ प्रतिशत मात्रै
रासस

काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले  ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व संकलन भने ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको राजस्व संकलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिन्छ । यो अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत छ भने बजेट खर्च ४३.४४ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । तर, लक्ष्यअनुसार राजस्व नउठेको भन्दै अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकार १४ प्रतिशत अर्थात् २ खर्ब ४४ अर्बले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ ।

सुरुआती विनियोजित बजेटको तुलनामा आठ महिनाको बजेट खर्च ४३.४ प्रतिशत मात्रै छ । अर्थात् फागुन मसान्तसम्म सरकारले कुल ७ खर्ब ७९ अर्ब २३ करोड बजेट खर्च गरेको छ । यस अवधिमा सरकारको चालु खर्च ५१.४, पुँजीगत खर्च २२.१ र वित्तीय व्यवस्थातर्फको खर्च ३७.४ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर वार्षिक विनियोजन रहेकोमा हालसम्म ६ खर्ब ८ अर्ब ८४ करोड ४५ लाख बराबर छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख वार्षिक विनियोजन रहेकोमा २२. १५ प्रतिशत अर्थात् ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट छुट्याइएकोमा फागुन मसान्तसम्म ८६ अर्ब १२ करोड ९६ लाख खर्च भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्क हेर्दा आठ महिना अवधिमा पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फको खर्च बढी छ ।

फागुन मसान्तसम्ममा सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ४२.७ प्रतिशत बराबर मात्रै छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै असुली भएको हो । जसमध्ये आन्तरिक राजस्व सङ्कलन ४१.५३ प्रतिशत अर्थात् ५ खर्ब ८२ अर्ब ७७ लाख १५ हजार रहेको छ । यसवर्ष ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक सहायता लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख बराबर मात्रै वैदेशिक सहायता भित्रिएको छ ।

प्रकाशित : चैत्र १, २०७९ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×