१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चीन लक्षित 'अकस' सम्झौता : अमेरिकाले अस्ट्रेलियालाई ३ वटा परमाणु पनडुब्बी बेच्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — १८ महिनाअघि अमेरिका, बेलायत र अस्ट्रेलिया (अकस)बीच भएको चीन लक्षित रक्षा सम्झौताअन्तर्गत अमेरिकाले अस्ट्रेलियालाई तीनवटा परमाणु पनडुब्बी बिक्री गर्ने भएको छ । उक्त सम्झौताका थप विवरण सोमबार अमेरिकाको क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो वाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अस्ट्रेलियका प्रधानमन्त्री एन्थोनी अल्बानेसले सार्वजनिक गरेका छन् ।

चीन लक्षित 'अकस' सम्झौता : अमेरिकाले अस्ट्रेलियालाई ३ वटा परमाणु पनडुब्बी बेच्ने

इन्डो प्यासिफिक क्षेत्रलाई 'स्वतन्त्र र खुला' राख्न भन्दै अमेरिका, बेलायत र अस्ट्रेलियालाई १८ महिनाअघि नयाँ सैनिक सम्झौता गरेका थिए ।

तीन देशले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रारम्भिक सम्झौता कार्यान्वयनपछि सन् २०३० सम्ममा अस्ट्रेलियाले थप दुई वटा परमाणु पनडुब्बी पनि किन्न सक्ने बताइएको छ ।

तीन देशले चीनको बढ्दो सैनिक शक्ति र उसको एशिया प्रशान्त क्षेत्रमा बढ्दो बलशाली उपस्थितिमा उसलाई नियन्त्रण गर्न यो सम्झौता गरेका हुन् । यसअन्तर्गत आर्टिफिसिएल इन्टेलिजेन्स क्षमता, हाइपरसोनिक हतियार र अन्य आधुनिक प्रविधि निर्माणमा सहकार्य गर्ने घोषणा यसअघि नै गरिएको थियो ।

सान डियागोस्थित प्वाइन्ट लोमा नौसैनिक शिविरबाट बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यो ऐतिहासिक मोड भएको बताए । उनले दशकौंको शान्तिलाई प्रभावित गर्न निवारक (डिटरेन्ट) तथा स्थायीत्व प्रवर्द्धन सुदृढ गर्न कडा परिश्रम गरिएको बताए ।

६५ वर्षमा पहिलो पटक अमेरिकाले आफ्नो परमाणु प्रविधि अर्कोलाई दिएको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानेसेले धन्यवाद व्यक्त गरे । यसअघि अमेरिकाले अति गोप्य परमाणु प्रविधिमा बेलायतसँग मात्रै सहकार्य गर्ने गरेको थियो । अस्ट्रेलियाले आफ्नो सैन्यशक्ति विस्तारका लागि अमेरिकासँग परमाणु पनडुब्बी किन्न लागेको हो ।

बेलायती प्रधानमन्त्री सुनकले युक्रेनमाथि रुसले गरेको आक्रमण, चीनको बढ्दो आक्रमकता र इरान तथा उत्तर कोरियाका अस्थिर व्यवहार बढ्दो चुनौती भएको बताए ।

'नयाँ यथार्थलाई सामना गर्नका लागि आफ्नो क्षमतालाई अझै बढाउनु महत्वपूर्ण भएको छ,' सुनकले भने, 'हाम्रो मान्यताको सुरक्षाका लागि अन्यहरुसँग गुणस्तरीय सम्बन्ध आवश्यक छ ।' अकस गठन नै शितयुद्धकालीन मानसिकता भन्दै बेइजिङले त्यसले प्रशान्त क्षेत्रमा तनाव अझै बढाउने बताएको छ ।

मंगलबार चीनले तीन देशबीच भएको नौसैनिक सम्झौताको कडा शब्दमा आलोचना गरेको छ । चीनको विदेश मन्त्रालयले मंगलबार अमेरिका, बेलायत र अस्ट्रेलिया गलत र जोखिमपूर्ण बाटोबाट थप अघि बढेको जनाएको छ । राष्ट्रसंघस्थित चिनियाँ नियोगले उनीहरु परमाणु अप्रसारबाट पछि हटेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले भने पनडुब्बी परमाणु शक्तिमात्रै भएको, परिमाणु हतियार नभएको बताए । उनले यसले प्रशान्त क्षेत्रको शान्तिलाई बढावा दिने दाबी गरे ।

सोमबारको घोषणा यसअघि अमेरिका र बेलायतले मात्रै अमेरिकाका अति गोप्य आणविक प्रविधिमा रहेको पूर्ण साझेदारीमा अस्ट्रेलियालाई पनि संलग्न गराउने दीर्घकालीन योजनाअनुसार भएको हो । अमेरिकाले अस्ट्रेलियालाई बेच्नका लागि एउटा पनडुब्बीको मूल्य ३ अर्ब अमेरिकी डलर रहेको छ ।

परमाणु पनडुब्बीलाई आवश्यक पर्ने विद्युत परमाणु भट्टीबाट दिइन्छ । परमाणु भट्टीले पानी तताउँछ र त्यसबाट बाफ निस्कन्छ । त्यसले टर्बाइनलाई घुमाउँछ र जसले विद्युत उत्पादन गर्छ । यसको विपरित डिजेलबाट विद्युत उत्पादन गर्ने हुन्छ । डिजेल इन्जिनले विद्युतीय ब्याट्री चार्ज गर्छ । परमाणुको प्रयोगको विषयमा त्यसको उर्जासँग सम्बन्धी छ र त्यसको अर्थ परमाणु हतियार बोक्नु होइन तर त्यसो पनडुब्बीहरुले बोक्न भने सक्छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?